मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २९ सोमबार
  • Wednesday, 18 December, 2024
ब्रह्मा चेलानी
२o७८ कार्तिक २९ सोमबार o८:२५:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

लागुऔषधको बेचबिखनबाट टिकिरहेछ तालिबान 

Read Time : > 3 मिनेट
ब्रह्मा चेलानी
नयाँ पत्रिका
२o७८ कार्तिक २९ सोमबार o८:२५:oo

विश्वमा हुने कुल अफिम उत्पादनमध्ये ८५ प्रतिशत अफगानिस्तानमा मात्र हुन्छ । अफिम बिक्रीको मुनाफाको सहायताले तालिबान देशभित्र कायम चरम आर्थिक संकटमाझ टिकिरहेको छ ।


अफगानिस्तानमा अमेरिकी राष्ट्रपति जो बाइडेनको अर्को रणनीतिक असफलता सारा विश्वले देखिसकेको छ । पहिले, अमेरिकाको इच्छाविपरीत अफगानिस्तान पुनः तालिबानको हातमा फर्कियो । सन् २००१ मा अमेरिका र उसका मित्रशक्तिद्वारा निष्कासित हुनुअघिको तालिबान सरकारभन्दा यसपटक फरक र समावेशी हुने पश्चिमको आशा थियो । तर, त्यो आशामा चिसो पानी हालिएझैँ भएको छ । अफगान समाजको विविधतालाई समेट्ने त परको कुरा, वर्तमान अफगान क्याबिनेटमा अन्तर्राष्ट्रिय आतंकवादमा नाम चलेका हस्ती, ड्रग्स सरदारहरू सामेल छन् । विश्वमा हुने कुल अफिम उत्पादनमध्ये ८५ प्रतिशत अफगानिस्तानमा हुन्छ । यसले तालिबानलाई विश्वको सबैभन्दा ठूलो ड्रग्स कार्टेल बन्न सघाएको छ ।

अफगानिस्तानमा हुने अफिम उत्पादनमा उसकै नियन्त्रण छ । साथै, उत्पादनमाथि उसले कर पनि उठाउने गरेको छ । त्यसबाहेक अफिमको निर्यात र तस्करी सञ्जालको पनि निगरानी तालिबानले नै गर्छ । अफिम बिक्रीबाट हुने मुनाफाले नै तालिबान टिकिरहेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अनुगमन समूहले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार अफिममा आधारित ड्रग्सको उत्पादन र बेचबिखन ‘तालिबानको आयको सबैभन्दा ठूलो स्रोत’ रहेको छ । तालिबान ड्रग्सको बेचबिखनमा यति निर्भर छ कि समय–समयमा समूहका नेताबीच आय बाँडफाँटको विषयमा संघर्ष हुन्छ ।

पछिल्लो समय तालिबानले उसको ड्रग्सबाट हुने आयलाई सकेसम्म विस्तार गर्ने प्रयास गरिरहेको छ । काबुल कब्जा गरेयता अफगानिस्तानमा अफिमको मूल्य तीन गुणाभन्दा बढीले बढिसकेको छ । विश्वमा अफिम उत्पादनका दुई प्रमुख केन्द्र छन्– पाकिस्तान–अफगानिस्तान–इरानस्थित ‘गोल्डेन क्रेसन्ट’ र म्यानमार–थाइल्यान्ड–लाओसबीचको ‘गोल्डेन ट्रेंगल’ । भारत यी दुई केन्द्रको बीचमा अवस्थित छ । र, यहाँ अफगानिस्तानमा उत्पादन भएका हिरोइन कब्जा पर्ने क्रम बढेको छ । ड्रग्स तथा अपराध हेर्ने संयुक्त राष्ट्रसंघीय कार्यालयले आफगानिस्तानले सामना गरिरहेको आर्थिक संकटका कारण स्थानीय कृषकहरू अफिम खेतीतर्फ आकर्षित हुने चेतावनी दिएको छ । 

समस्या अफिम उत्पादनसँग मात्र सीमित छैन । हालैका वर्षहरूमा अफगानिस्तानले मेथमफेटामाइन (मेथ)को उत्पादनमा उल्लेख्य वृद्धि गरेको छ । मेथमा हिरोइनमा भन्दा बढी नाफाको मार्जिन हुने भएकाले उत्पादक यसतर्फ आकर्षित हुँदै गएका हुन् । साथै, यसको कच्चा पदार्थ पनि त्यति धेरै महँगो छैन । अघिल्लो वर्ष ड्रग्स तथा ड्रग्स कुलत निगरानी गर्ने युरोपेली केन्द्रले अफगानिस्तानको मेथ बजार उसको हिरोइन बजारकै स्तरमा बढ्ने चेतावनी दिएको थियो । चेतावनी दिँदा तालिबानले काबुल कब्जासमेत गरिसकेको थिएन, तथापि अफगानिस्तानका गाउँ–गाउँमा रहेका अधिकांश भूमिगत मेथ प्रयोगशाला उसको नियन्त्रणमा थियो । 

अफिमजन्य सामग्री ओसारपसारका लागि तालिबानले कैयौँ तस्करी मार्ग प्रयोगमा ल्याएको छ । ककेसियन र बाल्कन क्षेत्रबाट अफगान अफिम पश्चिम युरोप पुग्छ । युरोप पुगेपछि ती सामग्री उत्तर अमेरिकासम्म पुग्छ । ताजिकिस्तानस्थित आतंकवादी समूह ‘जमात अनसरुल्ला’को सहयोगमा तालिबानले अफिमलाई रुसमा पनि पुर्‍याउँछ । पाकिस्तानतर्फको दक्षिणपूर्वी मार्गमार्फत उसले ड्रग्स भारत पुर्‍याउँछ । यस मार्गमा पाकिस्तानी सुरक्षा अधिकारीले घुस लिएर तालिबानलाई सघाउने गरेको आरोप लाग्ने गर्छ । 

२० वर्षे अफगान युद्धमा तालिबानलाई ड्रग्सको मुनाफा हासिल गर्ने छुट दिएकाले अमेरिकाले ड्रग्स–आतंकवादीबाट अपमानजनक हार व्यहोर्नुपर्‍यो । अझै पनि अमेरिकाको संघीय अदालतले तालिबानलाई ड्रग्स कार्टेलको रूपमा निसाना बनाउन ढिलो भएको छैन ।

तालिबानले ड्रग्स बिक्रीमार्फत आर्जन गरेको मुनाफा समूहको आतंक संयन्त्रमा जाने हुँदा तिनले गर्ने हिंसा र ड्रग्स बेचबिखनमा सीधा सम्बन्ध छ । तर, अफगानिस्तानभित्रका सबै विद्रोही समूहले यो शैली अपनाएका छैनन् । सन् २०२० को संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को एक रिपोर्टले औँल्याएअनुसार इस्लामिक स्टेट–खोरासान (आइएसआइएसको अफगान एकाइ)ले ड्रग्स व्यापारलाई विरोध गर्छ । तालिबान र इस्लामिक स्टेट–खोरासानबीचको शत्रुताको कारण यो पनि हो । खासमा सन् २००१ मा अफगानिस्तान कब्जा गरेपछि अमेरिकाले तालिबान नेतालाई ड्रग्स बेचबिखनको मुद्दामा पक्राउ गरेर अमेरिकी अदालतमा मुद्दा चलाएको भए कट्टर मुसलमानमाझ समूहको आकर्षण उल्लेख्य क्षति पुग्ने थियो । सन् २०१२ मा यस्तो योजनाको प्रस्ताव पनि गरिएको थियो । 

‘युएस ड्रग्स इनफोर्समेन्ट एड्मिनिस्ट्रेसन’ले जारी गरेको २४० पृष्ठको स्मरण–पत्र र कैयौँ न्यायिक विभागका अधिकारीले २६ वरिष्ठ तालिबान नेता र तिनका सहयोगी ड्रग्स सरदारविरुद्ध मुद्दा चलाउने प्रस्ताव गरेको थियो । यो शैली कोलम्बियामा सफल भइसकेको छ । कोलम्बियामा ड्रग्स बिक्रीको मुनाफा विद्रोह सञ्चालनमा प्रयोग गरिरहेको वामपन्थी विद्रोही संगठन ‘रिभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क)’ वार्तामा आयो । वार्ताबाट सन् २०१६ मा कोलम्बिया सरकार र फार्कबीच शान्तिसम्झौता भएर देशमा ५२ वर्षदेखि चलिरहेको गुरिल्ला युद्ध अन्त्य भएको छ । तर, एकपछि अर्को अमेरिकी राष्ट्रपतिले तालिबानविरुद्ध यो रणनीति प्रयोग गर्न अस्वीकार गरे । तिनको रणनीतिक गल्तीको मूल्य अहिले देखिन सुरु भएको छ । 

विगत २० वर्षको अफगान युद्धमा तालिबानलाई ड्रग्सको मुनाफा हासिल गर्ने छुट दिएकाले अमेरिकाले ड्रग्स–आतंकवादीबाट अपमानजनक हार व्यहोर्नुपर्‍यो । अझै पनि अमेरिकाको संघीय अदालतले तालिबानलाई ड्रग्स कार्टेलको रूपमा निसाना बनाउन ढिलो भएको छैन । आखिरमा अफगानमा उत्पादन भएको अफिमले विश्वभर उच्च ड्रग्स कुलत सिर्जना गरेको छ । तालिबानको आगमनपछि अफगानिस्तानले चरम आर्थिक पीडा महसुस गर्न थालेको अवस्थामा निश्चय नै अफिमको उत्पादन र बेचबिखन बढ्नेछ । इस्लामिक आतंकवाद र विश्वभर हुने ड्रग्स व्यापारबीचको सम्बन्धमा प्रकाश पारेर अमेरिकाले तालिबानको प्रमुख आयस्रोतमाथि आक्रमण गर्न सकिन्छ । यसका लागि ढुवानी बन्द गर्ने, तिनको बिक्रीबाट भएको मुनाफा विदेशी बैंकमा राखेको थाहा पाए रोक्का गर्ने जस्ता कदम उठाउन सकिन्छ । 

यदि अमेरिका अफगानिस्तानभित्रको अफिम तथा मेथ उत्पादनलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय प्रयोगको नेतृत्व गरेन भने तालिबानको शक्ति र आतंक बढ्नेछ । र, अफगानिस्तान अल–कायदा र अन्य हिंसात्मक जिहादी समूहका लागि सुरक्षित वासस्थान हुनेछ । वर्तमान स्थितिमा कुनै हस्तक्षेप भएन भने विश्वमा आतंकवादी आक्रमण र ड्रग्स प्रयोग आगामी महिना र वर्ष बढ्दै जानेछ ।