१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २२ शुक्रबार
  • Saturday, 28 September, 2024
मृगस्थलीका मृगलाई आहारा दिँदै कोषका कर्मचारी । तस्बिर : संजित परियार/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२o८o भदौ २२ शुक्रबार १o:४७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मृगस्थलीमा मृग हेर्नेको चहलपहल

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २२ शुक्रबार १o:४७:oo

दैनिक सयौँ पुग्छन् मृग हेर्न, मृगवाटिका थप व्यवस्थित गर्ने पशुपति विकास कोषको तयारी

पशुपति भन्नेबित्तिकै विश्वभर धार्मिक एवं पर्यटकीय स्थलका रूपमा परिचित छ । यहाँका मठ–मन्दिर, हरेक साँझ हुने सन्ध्याकालीन आरतीसहितका धार्मिक गतिविधिले यो क्षेत्रमा २४सै घन्टा चहलपहल हुन्छ । 

यही क्षेत्रमा श्लेषमान्तक वन (मृगस्थली)ले पशुपतिको परिचय थप विस्तार गरिरहेको छ । मृगस्थलीमा १९ वर्षअघि सुरु भएको मृगवाटिकाले पशुपति क्षेत्रको परिचयमा विविधता ल्याएको छ । मृगस्थलीमा अचेल मृग हेर्नकै लागि भनेर सयौं मानिस आउन थालेका छन् । यहाँ १९ वर्षअघि छाडिएका १८ वटा कृष्णसार, १० वटा चित्तल र २ रतुवाको संख्या बढेर अहिले करिब एक सय ५० पुगेका छन् । मृगस्थलीको करिब ९५ रोपनी क्षेत्रफलमा मृग हेर्न दिनभरजस्तो जमघट हुन थालेको छ । 

पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक रेवतीरमण अधिकारीका अनुसार पौराणिक नामको स्वरूपमा ल्याउन मृग पालिएको हो । ‘मृगस्थली नाम कसरी रह्यो भनेर इतिहास खोतल्दै जाँदा धार्मिक ग्रन्थहरूमा त्यहाँ मृग थियो भन्ने भेटिन्छ । त्यसैले नामअनुसार नै मृग किन नराख्ने भनेर ल्याइएको थियो,’ उपनिर्देशक अधिकारीले भने, ‘सुरुवातमा मृगका तीन प्रजातिका ३० मृग ल्याएर सुरु गरिए पनि हाल बढेर एक सय ५० भन्दा धेरै भएको छ ।’ मृगको संख्या बढे पनि तारबार लगाएकाले मृग बस्ने क्षेत्र भने रुखो जमिनमा परिणत भएको छ । मृग पालिएको क्षेत्रमा कुनै पनि रूखबिरुवा उम्रिएका छैनन् । कोषले नै केही बिरुवा ल्याएर रोपे पनि त्यो बिरुवा पनि अन्य ठाउँमा जसरी फस्टाउन सकेको छैन । मृगस्थलीमा करिब एक सय ३५ चित्तल मात्र छन् । 

बिहान चार बजेदेखि नै मृगलाई खाना
मृगस्थलीमा भएका मृगका लागि बिहान चार बजे एकपटक आहारा दिइन्छ भने अर्कोपटक दिउँसो एकदेखि चार बजेभित्र खुवाइन्छ । मृग रेखदेख र दाना खुवाउने देहीबहादुर अधिकारीका अनुसार मकै, भटमास, चना र गहुँको चोकर मिसाएर खुवाउने गरिन्छ । कोषभित्रका बगैँचामा रहेका घाँस पनि मृगलाई खुवाउने गरिन्छ । आहारा खुवाउने समय भने बाँदर नआउने समय मिलाइएको उनले बताए । ‘चित्तललाई बिहान चारदेखि साढे चारभित्र आहारा खुवाइसक्छौँ । दिउँसो एकदेखि चार बजेको समय हेर्छाैँ । किनभने, त्यसवेला बाँदर आएर यिनीहरूको आहारा खान सक्दैनन्,’ अधिकारीले भने । तीन प्रजातिका मृग चिडियाखानाबाट ल्याइए पनि हाल चित्तल प्रजातिका मृग मात्र संख्यात्मक हिसाबले धेरै छन् । मृगस्थलीमा रहेका जनावरका लागि दाना र तीन कर्मचारीसहित वार्षिक करिब ६० लाख खर्च हुने गरेको छ । 

कोषका उपनिर्देशक रेवतीरमण अधिकारी भन्छन्–
मृगस्थली नामअनुसार नै त्यहाँ मृग किन नराख्ने भनेर योजना ल्याइएको थियो । सुरुवातमा तीन प्रजातिका ३० मृग ल्याएर योजना अघि बढाए पनि अहिले एक सय ५० भदा बढी भइसकेका छन् । मृग हेर्न आउनेका लागि कसरी सहज गर्ने भनेर योजना बनाउने तयारीमा छौँ । टिकेटिङ, इन्ट्री फीको व्यवस्था नहुँदा अहिले कति मानिस मृग हेर्न आउँछन् भन्ने तथ्यांक छैन ।

सकिए कृष्णसार 
सुरुवातमा सदर चिडियाखानाबाट यहाँ १८ वटा कृष्णसार ल्याइए पनि हाल एउटै पनि छैन । मृगस्थलीमा भएका सबै कृष्णसार मरेर सकिएका हुन् । चार वर्षअघिसम्म रहेको कृष्णसार हाल एउटै पनि छैन । संख्यात्मक हिसाबले चित्तलबाहेक अन्य जनावर मृगस्थलीमा फैलिन सकेनन् । एक सय ३५ वटा चित्तलबाहेक मृगस्थलीमा तीन रतुवा, १२ बोका, तीन भेडा र एक खसीसमेत छन् । चित्तल र रतुवा चिडियाखानबाटै ल्याइए पनि खसी, बोका र भेडा भने पशुपतिमा भक्तजनले चढाउन ल्याएका जनावर व्यवस्थापन गरिएको हो । ‘कृष्णसारका लागि यो ठाउँ ठीक नभएको हुन सक्छ । एकपटक राम्रैसँग फैलिएको थियो । पछि के भयो, बिस्तारै सकिँदै गए । प्रजननका लागि भाले–पोथीबीच कम्बिनेसन हुनुपर्‍यो । तर, भाले एउटा मात्र बाँकी रह्यो । त्यो पनि बिरामी भएर मर्‍यो । त्यसपछि प्रजननको काम भएन । र, कृष्णसार सकियो,’ उपनिर्देशक अधिकारीले भने । मृगस्थलीमा रतुवा पनि फस्टाउन सकेको छैन । 

उनका अनुसार मृगस्थलीमा मृग हेर्न पर्यटक आऊन् भनेर कुनै योजना बनाइएको छैन । ‘मृग हेर्न आउने पर्यटकका लागि भौतिक संरचनामा सुधार गर्नुपर्ने हो । ठ्याक्कै यो योजना भनेर त बनाएका छैनौँ । बनाउनुपर्छ भन्नेमा चाहिँ छौँ,’ उनले भने, ‘पशुपतिमा केही संरचना बनाउन, केही सुविधा दिनका लागि केही सिस्टम राख्नुपर्ने हुन्छ । त्यसका लागि टिकेटिङ, इन्ट्री फी राख्नुपर्ने हुन्छ । तर, पशुपतिले यहाँ पनि पैसा लियो भन्ने हुन्छ ।’ कोषका अनुसार हालका लागि मृगस्थलीको मृग व्यवस्थापनका लागि कुनै समस्या छैन । तर, पर्यटकका लागि पशुपतिको अर्को महत्वपूर्ण स्थान बनाउन भने धेरै काम हुन बाँकी छ ।