मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ७ बिहीबार
  • Tuesday, 11 March, 2025
२o८o भदौ ७ बिहीबार १३:o४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सांकोष–तिप्लिङ सडक प्रदेश सरकारले नै बनाउने मुख्यमन्त्री जम्कट्टेलको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ७ बिहीबार १३:o४:oo

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङको सांकोष–तिप्लिङ सडक प्रदेश सरकारले नै बनाउने बताएका छन्। संघीय सरकारले निर्माण सुरु गरेको सडकको जिम्मा अब प्रदेश सरकारले लिने मुख्यमन्त्रीले घोषणा गरेका हुन्।

‘संघीय सरकारले जति बनायो, अब बनाउँदैन। बागमती प्रदेश सरकारले नै बनाउने हो। यसैपालिबाट बहुवर्षे आयोजना स्वीकृत गरेर प्रदेश सरकारले सांकोष–तिप्लिङ सडक बनाउँछ,’ जिल्ला खेलकुद विकास समिति धादिङको नवनिर्मित भवन उद्घाटन गर्दै उनले भने। 

सांकोष र तिप्लिङ जोड्ने दामन–पाख्रिन मार्गले चिनिएको यो सडक उत्तरी धादिङलाई जोड्ने मुख्य मार्ग हो। मुख्यमन्त्री जम्कट्टेलले भने, ‘पूर्वाधार कार्यालयलाई भनेको छु। कात्तिकसम्म सबै बहुवर्षे आयोजनाहरू स्वीकृत गरेर टेन्डरमा लगिसक्नुपर्छ।’ अब बहुवर्षीय आयोजनाहरू समयमै सुरु हुने दाबी गर्दै उनले यसका लागि निर्णय नै गरेर सबै कार्यालयलाई पत्राचार गरिसकेको स्पष्ट पारे।

टुक्रे योजनामा अब प्रदेश सरकारले बजेट नहाल्नेसमेत मुख्यमन्त्रीको भनाइ थियो। ‘टुक्रे योजनामा बजेट हाल्ने यो नै अन्तिम वर्ष हो। अहिले पनि हामीले २० लाखभन्दा कमका योजनामा बजेट हालेका छैनौँ,’ उनले भने, ‘प्रदेश सरकार प्रादेशिक सडक गुरुयोजना बनाउँदै छ। बागमती सरकार ३५ वटा सडक बनाउने तयारीमा छ। सडक सञ्जाल सहज नभएकै कारण उत्तरी धादिङमा पालिका र वडा तहका बजेट सदुपयोग हुन सकेको छैन।’

धादिङबेँसीदेखि चीनतर्फको सीमा तिप्लिङसम्म जोड्ने सडक छिटो सुधार गर्न आवश्यक भएकाले नै पहिलो प्राथमिकता सांकोष–तिप्लिङ सडकलाई दिइएको उनको भनाइ छ।