१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उद्घाटनको १६ महिना बित्दा पनि सर्वसाधारणका लागि खुलेन काष्ठमण्डप

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४२:oo

महानगर भन्छ– पहिला जसरी खुल्थ्यो अब खुल्दैन

तत्कालीन काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप (मरु सत्तल) पुनर्निर्माण सकिएको भन्दै १६ महिनाअघि (२१ चैत ०७८) तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई उद्घाटन गर्न लगाएका थिए । राष्ट्रपतिबाट उद्घाटन भएसँगै स्थानीय एवं सर्वसाधारणले पुनर्निर्मित काष्ठमण्डपमा प्रवेश पाउने आस गरेका थिए । तर, डेढ वर्षसम्म पनि सर्वसाधारणको यो चाहना पूरा हुन सकेको छैन ।  

स्थानीय लक्ष्मी महर्जनका अनुसार भूकम्पले भत्काउनुअघिसम्म काष्ठमण्डपमा हरेक दिन पूजाआज गर्ने, घुम्न आउनेको भिड लाग्थ्यो । काष्ठमण्डपको सत्तल (पार्टी) र मन्दिरपरिसरमा दिनभर चहलपहल हुन्थ्यो । चाडपर्वका वेला त यहाँको रौनक नै अर्कै हुने गरेको उनी बताउँछिन् । ‘पुनर्निर्माण अवधिभर बन्द रहे पनि उद्घाटन भएपछि खुला भन्ने लागेको थियो । तर, १६ महिना बितिसक्दा पनि कहिले खुल्ने हो, ठेगान नै छैन,’ उनले भनिन् । काष्ठमण्डप खोल्ने–नखोल्नेबारे कुरा नमिलेको सुनेको उनको भनाइ छ । महर्जनले भनिन्, ‘चाडपर्वका लागि त खुल्ने गरेको देखेकी छु । तर, मन्दिर भएको ठाउँ बन्द नगरेको भए राम्रो हुन्थ्यो । सबैजना दर्शन गर्न, हेर्नका लागि आउँथे नि ।’ 

उनी मात्र होइन, सांस्कृतिक अभियन्ता तथा स्थानीय गणपतिलाल श्रेष्ठ पनि काष्ठमण्डपलाई बन्धक बनाएर राख्न नहुने तर्क गर्छन् । ‘काष्ठमण्डपको पक्षमा सम्माननीय सर्वोच्व अदालतबाट भएको आदेश पनि पालना भएन । मन्दिर खुला भएन । काष्ठमण्डप खुला नगरेर बन्धक बनाएर राख्ने काम भयो,’ उनले भने, ‘काष्ठमण्डप उपभोक्ता समितिले हतारिएर उद्घाटन मात्र गरायो । मन्दिरमा अहिले राखेको मूर्तिको स्वरूप पनि मिलेको छैन । जमिन पनि छोएको छैन । नयाँ मूर्ति नभई पुरानै राख्नुपर्ने नाथ गुरुहरूको पनि एकमत छ । तर, समितिले सबै कुरालाई बेवास्ता गर्दै मन्दिर बन्धक बनाएर राखेको छ ।’ 

१८ वैशाख ०७५ मा काष्ठमण्डप पुनर्निर्माणका लागि समिति बनेको थियो । सोही वर्षको २९ जेठमा महानगर र समितिबीच समझदारीमा हस्ताक्षर भएको थियो । सहमति भएकै दिन महानगरले समितिलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । महानगरको करिब १३ करोड आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको काष्ठमण्डप तत्कालीन मेयर शाक्यको कार्यकालमा सम्पन्न भएको थियो । 

पुनर्निर्माण अभियन्ता भन्छन्– मन्दिर किन बन्द ? जवाफ चाहियो
काष्ठमण्डप खुला नहुँदा स्थानीय, अभियन्ता र युवाहरूमा चासो जागेको छ । सर्वसाधारणका लागि खुला नहुँदै काष्ठमण्डप हल्लिन थालेको स्थानीयको आरोप छ । काष्ठमण्डप पुनर्निर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठ यतिका समयसम्म काष्ठमण्डप बन्द हुनुको कारण समितिले खुलाउनुपर्ने र सर्वसाधारणलाई सहज प्रवेशको वातावरण बनाउनुपर्ने बताउँछन् । ‘काष्ठमण्डप पुनर्निर्माणको विस्तृत श्वेतपत्र तयार हुनुपर्‍यो । काष्ठमण्डपमा दर्शन गर्न पाउने अवस्था हुनुपर्‍यो । उद्घाटन भएको १६ महिनासम्म किन बन्द भयो ? सरोकारवालाले यसको जवाफ दिनुपर्‍यो,’ श्रेष्ठले भने, ‘अदालतमा मुद्दा छ भनेर काष्ठमण्डप बन्द गरेर राख्न पाइँदैन । अहिलेको महानगर कुनै पार्टीको जनप्रतिनिधिबाट सञ्चालित होइन । उसले ‘टेकओभर’ गर्नुपर्‍यो । त्यहाँबाट चुनिएको सांसदले चासो लिँदालिँदै पनि काष्ठमण्डपको ढोका बन्द हुन्छ भने यो त अनौठो भयो नि ।’ 

अदालतको फैसलासमेत समितिले नटेरेको आरोप 
काष्ठमण्डप पुनर्निर्माण समितिले यसभित्रका मूर्तिहरू जथाभावी राखेको भन्दै समितिविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेको थियो । अधिवक्ता सञ्जय अधिकारीसहित जनहित संरक्षण मञ्चका सदस्य श्रद्धासुमन आचार्य, अर्वण चौधरीलगायत काष्ठमण्डपमा राखिएको गोरखनाथ मूर्ति परिवर्तन गरिएको र चार गणेश बेवारिसे अवस्थामा राखिएको भन्दै सर्वोच्च पुगेका थिए । गत ३ माघमा सर्वोच्चले मूर्ति फर्काउन अन्तरिम आदेश दिए पनि समितिले अहिलेसम्म पनि उक्त आदेशको कार्यान्वयन नगरेको स्थानीयले आरोप लगाएका छन् । 

ad
ad