१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
सिड्नी
२o८१ जेठ ३ बिहीबार o७:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

फिफा महिला विश्वकप फुटबल : उपाधिका लागि इंग्ल्यान्ड र स्पेन भिड्ने

Read Time : > 2 मिनेट
सिड्नी
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:१३:oo

आयोजक अस्ट्रेलियालाई ३–१ ले हराएको इंग्ल्यान्डले पहिलोपटक फाइनलमा पुगेको स्पेनविरुद्ध ३ भदौमा प्रतिस्पर्धा गर्ने 

नवौँ फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त इंग्ल्यान्ड र स्पेनले पक्का गरेका छन् । इंग्ल्यान्डले सिड्नीमा बुधबार भएको दोस्रो सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई ३–१ ले हराउँदै स्पेनसँगको फाइनल समीकरण तयार गरेको हो । फाइनल पुगेका दुवै राष्ट्र नयाँ हुन् । यसपटकको विश्वकपले नयाँ विश्वविजेता दिनेछ । यसअघि पूर्वविजेताहरू अमेरिका प्रिक्वार्टरफाइनल, जर्मनी समूह चरण र जापान क्वार्टरफाइनलबाटै बाहिरिएपछि चालू विश्वकपमा नयाँ विश्वविजेता पाउने निश्चित भएको हो । 

स्पेनले पहिलो सेमिफाइनलमा उपाधिकै प्रबल दाबेदार स्विडेनमाथि २–१ को सनसनी जित निकालेको थियो । अस्ट्रेलियाले १९ अगस्टमा तेस्रो स्थानका लागि स्विडेनको सामना गर्नेछ । पहिलोपटक विश्वकपको फाइनल स्थान बनाउने क्रममा इंग्ल्यान्डले अस्ट्रेलियामाथि दबाब राखेको थियो । इंग्ल्यान्डले सन् २०१५ मा तेस्रो र सन् २०१९ मा चौथो स्थान प्राप्त गरेको थियो । महिला विश्वकप इतिहासमा इंग्ल्यान्डको अहिलेसम्मको उत्कृष्ट नतिजा यही नै हो । सन् १९६६ मा पुरुषतर्फको इंग्लिस टोलीले फाइनल स्थान बनाउँदै उपाधि जितेको थियो । त्यसयता पुरुष तथा महिलातर्फ इंग्लिस टोली विश्वकपको फाइनल पुगेको यही नै हो । 

इंग्ल्यान्डलाई अन्तिम दुई स्थान सुरक्षित गराउन एला टुन, लौरेन हेम्प र एलेसिया रुसोले एक–एक गोल गरेका थिए । घरेलु टोलीबाट कप्तान सामन्था खेरले एक गोल फर्काइन् । युरोपियन च्याम्पियनसमेत रहेको इंग्ल्यान्डले खेलमा पूर्ण नियन्त्रण राखेको थियो । इंग्ल्यान्डले ५८ र अस्ट्रेलियाले ४२ प्रतिशत बल पोसेसन बनाएका थिए । दोस्रो सेमिफाइनलमा दुवै टोली आक्रामक देखिएका थिए । अस्ट्रेलियाले १२ र इंग्ल्यान्डले १५ पटक गोल प्रयास गरेका थिए । 

इंग्ल्यान्डले पाँच सट अन टार्गेट र अस्ट्रेलियाको चार रह्यो । पहिलो १५ मिनेटमा इंग्ल्यान्डले ७० प्रतिशत बलमाथि पकड बनायो । यद्यपि, इंग्ल्यान्ड पूर्ण रूपमा हावी भए पनि गोल गर्न सकेको थिएन । अस्ट्रेलियाका प्रशिक्षक गुस्ताभसनले ९० मिनेटको प्रतिस्पर्धा रोमाञ्चक भएको प्रतिक्रिया दिएका छन् । ‘इंग्ल्यान्डविरुद्धको सेमिफाइनल पूरै रोमाञ्चक भयो, हामीले विश्वस्तरीय गोल हेर्ने अवसर पायौँ,’ उनले भने, ‘यद्यपि, सेमिफाइनलबाट बाहिरिए पनि टोलीको प्रदर्शनमा गर्व छ ।’ 

इंग्ल्यान्डकी प्रशिक्षक वेगम्यानले प्रतिस्पर्धात्मक खेलमा नतिजा निकाल्न गाह्रो भएको जनाइन् । ‘हामीले खेलमा पूर्ण नियन्त्रण राखे पनि अस्ट्रेलियाको डिफेन्स पहिलो हाफमा खासै तोड्न सकेनौँ,’ उनले भनिन्, ‘खेलमा ट्याकल, ब्लक र पेस सबै देख्न पायौँ ।’ 

इंग्ल्यान्डको सुरुवाती अग्रता 
खेलको १०औँ मिनेटमा इंग्ल्यान्डकी जर्जिया स्टानवेले प्रहार गरेको बललाई अस्ट्रेलियाकी गोलरक्षक म्याकेन्जी अर्नाेल्डले उत्कृष्ट बचाउ गरेकी थिइन् । खेलको ३६औँ मिनेटमा इंग्ल्यान्डले आफ्नो गोल प्रयास सफल बनायो । एलाले इंग्ल्यान्डलाई १–० को अग्रता दिलाइन् । इंग्ल्यान्डको अग्रता गोलमा आपसी तालमेल उत्कृष्ट रह्यो । एलेसिया रुसोले फ्लिक गरेको बललाई एलाले डिबक्सभित्र पोस्टको माथिल्लो कर्नरमा उत्कृष्ट गोल गरिन् । पहिलो हाफको तुलनामा मध्यान्तरपछि अस्ट्रेलिया हावी देखिन्थ्यो । इंग्ल्यान्डले आफ्नो काउन्टर एट्याकलाई जारी नै राखेको थियो । एकपछि अर्को मुभ सिर्जना गरेको अस्ट्रेलियाले एउटा राम्रो बराबरी अवसर गुमाएको थियो । खेलको ५७औँ मिनेटमा इंग्ल्यान्डकी लौरेन हेम्पले २५ यार्ड टाढाबाट गरेको प्रहारलाई अस्ट्रेलियाकी गोलरक्षक म्याकेन्जी अर्नाेल्डले बचाइन् । 

दोस्रो हाफमा तीन गोल
पहिलो हाफमा केवल एक गोल भयो । तर, दोस्रो हाफमा तीन गोल सम्भव भएपछि फाइनलको टोली छिनोफानो भयो । खेलको ६३औँ मिनेटमा अस्ट्रेलियाकी साम केररले १–१ को बराबरी गोल गरिन् । उनले मैदानको मध्यभागबाट उत्कृष्ट ड्रिब्लिङ गर्दै इंग्ल्यान्डका दुईजना डिफेन्डरलाई कटाएर उत्कृष्ट गोल गर्दै अस्ट्रेलियालाई बराबरीमा पु¥याइन् । बराबरी गोलसँगै अस्ट्रेलिया खेलमा फर्कियो । खेलको ६६औँ मिनेटमा सामन्थाले राम्रो अवसर खेर फालिन् । खेलको ६९औँ मिनेटमा इंग्ल्यान्डकी लुसी ब्रन्जको क्रसलाई अस्ट्रेलियन अर्नाेल्डले क्लियर गरिन् । 

खेलको ७१औँ मिनेटमा हेम्पले इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाइन् । अस्ट्रेलियन डिफेन्डर एलीको गल्तीमा उनले सहजै इंग्ल्यान्डलाई अग्रता दिलाइन् । खेलको ८६औँ मिनेटमा रुसोले इंग्ल्यान्डलाई ३–१ को अग्रता दिलाइन् । अस्ट्रेलियाले अन्तिम समयसम्म पनि बराबरी गोल फर्काउने प्रयास गरेको थियो । तर, स्पष्ट दुई गोलको अग्रता लिएको इंग्ल्यान्डले अन्तिमतिर संयमित रणनीति अपनाएको थियो । रुसोले डिबक्समा अफसाइड ट्याप बिट गरी दोस्रो बारमा गोल गरेकी थिइन् । यसअघि खेलको ८४औँ मिनेटमा कर्टनी भिनको प्रहारलाई मारी अर्पसले छेकेकी थिइन् । इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्ध ३–४–१–२ को रणनीति अपनाएको थियो । यो रणनीतिअनुसार इंग्ल्यान्डले रक्षापंक्ति र मिडफिल्ड बलियो बनाएको थियो । 

ad
ad