Skip This
अस्ट्रेलियामा ‘नेपाल फेस्टिभल सिड्नी’ हुँदै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २ शुक्रबार
  • Monday, 08 July, 2024
२o७९ मङ्सिर २ शुक्रबार १३:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
प्रवास डिजिटल संस्करण

अस्ट्रेलियामा ‘नेपाल फेस्टिभल सिड्नी’ हुँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २ शुक्रबार १३:५२:oo

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपालको प्रवर्द्धनात्मक नेपाल फेस्टिभल शनिबार हुने भएको छ । शनिबार १९ नोभेम्बरका दिन नेपालीहरूको घना बसोवास रहेको क्षेत्र बरउडको केन्द्र बरउडपार्कमा नेपाल फेस्टिभल हुन लागेको हो । 

नेपाल फेस्टिभलमा नेपाली कला, संस्कृति, पहिरन, वाद्यवादनका साथै खाना, संगीत र पर्यटकीय स्थलहरूको प्रचार गरिनेछ । अस्ट्रेलियाको सिड्नीमै नेपालको झल्को दिनका लागि नेपाल हाउस निर्माण गरिने महोत्सवका संयोजक एवं गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले जानकारी दिए । शनिबार दिनभर मनोरञ्जनात्मक कार्यक्रमका साथै खानाका स्टलहरू, नेपाली व्यवसायीहरूले पाएको सफलताका कथाहरू नेपाल फेस्टिभलमा हेर्न पाइने उनले बताए । 

औपचारिक उद्घाटन कार्यक्रममा अस्ट्रेलियाका राजनीतिक दलका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुनका लागि नै अस्ट्रेलियाका विभिन्न राज्यबाटसमेत नागरिक समाजका अगुवाहरू सिड्नी आइपुगेका छन् ।
  
अस्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूको संस्था अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसाेसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटाले यस किसिमको कार्यक्रम हरेक सहरमा आयोजना गरेर यहाँको समुदायमा आफ्नो उपस्थिति जनाउने कार्य उदाहरणीय भएको बताए । 

उनले भने, ‘सन् २००६ बाट एनआरएनहरूले सिड्नीबाटै नेपाल फेस्टिभल सुरु गरेका थिए । अहिले यो सबै राज्यमा फैलिसकेको छ । अस्ट्रेलियाको बहुसांस्कृतिक समाजले यस्ता मेला महोत्सवलाई सम्बन्धित देशको खानाको स्वाद, पहिरन र सांस्कृतिक विविधता बुझ्ने अवसरको रूपमा लिने हुनाले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्छ । नेपाल गइसकेका अस्ट्रेलियनहरूले नेपालको झल्को यहाँ पाउँछन् भने नेपाल नगएकाहरूले जाने प्रोत्साहन महोत्सवमा पाउँछन् जस्तो लाग्छ ।’

यसपटकको नेपाल फेस्टिभलमा ५५ वटा स्टल राखिएको छ । तीमध्ये नौवटा स्टल नेपाली खानाका परिकारका छन् । रेमिट्यान्सका अन्तर्राष्ट्रिय कम्पनी, अस्ट्रेलियाको सरकारी बैंकसहितका व्यापारिक घरानाहरूले नेपाल फेसटिभलमा आफ्नो उपस्थिति जनाएका छन् । नेपाल फेस्टिभलका उपसंयोजक एवं एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल पछिल्लो समयमा अस्ट्रेलियन समुदायमा नेपालप्रतिको चासो बढेको पाइएको बताउँछन् । 

उनी भन्छन्, ‘नेपालीलाई मिहिनेती भनेर धेरैले चिनेका छन् । काम गर्ने ठाउँमा हाम्रो फेस्टिभल हुँदै छ, त्यहाँ नेपाली स्वाद पस्कन्छौँ भन्दा उनीहरू मम चाख्न जानुपर्छ भन्दै आउने गर्दछन् । यस्तै नेपाली गीत संगीतले पनि उनीहरूलाई आकर्षित गर्ने गरेको छ ।’

यसपटकको नेपाल फेस्टिभलमा अस्ट्रेलियाका नेपाली मूलका कलाकारहरूका साथै नेपालका चर्चित गायक दीपक बज्राचार्य र रिदम ब्यान्ड, गायक प्रकाश सपुत, स्ट्यान्डअप कमेडियन कलाकार सन्दीप क्षेत्रीलगायतको प्रस्तुति समेटिएको छ । मञ्च र सांस्कृतिक कार्यक्रमको संयोजन गरिरहेकी एनआरएन अस्ट्रेलियाको ओसेनिया क्षेत्रीय महिला संयोजक उषा बारिया नेपाल फेस्टिभलमा सहभागी हुने दर्शकहरूले सम्पूर्ण मनोरञ्जन प्राप्त गर्ने बताउँछिन् । 

उनी भन्छिन्, अस्ट्रेलियामा अधिकांश नेपाली विद्यार्थीको रूपमा आउनुभयो । उहाँहरू जति नै व्यस्त भए पनि नेपाली गीत–संगीतलाई मन पराउनुहुन्छ र त्यसमै रमाउनुहुन्छ । यसपटक हामीले सबै उमेर समूहका नेपालीलाई समेट्नका लागि त्यहीअनुरूप कलाकार छनोट गरेका छौँ । शनिबार दिनभरि नेपाली गीत–संगीतले बरउडको पार्क घन्किनेछ । तपाईंहरूलाई निम्तो छ । सकेसम्म एकजना विदेशी साथी पनि साथैमा लिएर आउनुभयो भने अझ रमाइलो हुनेछ ।’

महोत्सवको सुरुवातमा भने नेपाली पोसाकमा सजिएर विभिन्न झाँकीसहितको नेपाल फेस्टिभल परेड आयोजना गरिनेछ । परेड संयोजक सन्ध्या शाहले कुमारी, शिव पार्वतीसहित नेपाली पोसाकमा सयौँ नेपालीले परेडमा सहभागिता जनाउने निश्चित भइसकेको जानकारी दिएकी छिन् 

ad
ad
ad
ad