सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले कमिसन खाएर योजना बाँडेको भेटे तत्काल पदबाट राजीनामा दिने बताएका छन्। प्रदेश सरकारले योजना बेच्ने गरेको भन्दै अछामका जनप्रतिनिधिले आरोप लगाएपछि उनले यस्तो बताएका हुन्।
अछाम जिल्ला सभामा सहभागी जनप्रतिनिधिहरूले प्रदेश सरकारले आफूनिकट व्यक्तिहरूमार्फत कमिसन खाएर योजना बाँड्ने गरेको र आफूहरूले प्रस्ताव गरेका योजनामा बेवास्ता गरेको आरोप लगाएपछि मुख्यमन्त्री शाहले त्यस्तो भन्ने व्यक्तिको रेकर्ड तत्काल उपलब्ध गराउन आग्रह गरे। उनले भने, ‘आरोप प्रमाणित गर्नुस्, म एक मिनेट पनि पदमा बस्दिनँ।’
उनले नीति निर्माण, बजेट विनियोजनबारे अस्वस्थ चलखेल गरे, त्यो क्षम्य नहुने पनि बताए। यस्ता विषयमा कुनै सहमति हुन नसक्ने साथै भ्रष्टाचार नियन्त्रणमा मुख्यमन्त्री एक्लैले केही गर्न नसक्ने भएकाले सिंगो सदनको सहमति आवश्यक रहेको बताए। मुख्यमन्त्री शाहले यस क्षेत्रका मुख्य विकास योजना ढिलाइ हुनुमा संघीय सरकार दोषी रहेको आरोप पनि लगाए।
उनले बेतन कर्णाली जलविद्युत् आयोजना संघ सरकारकै कारण अन्योलमा परेको बताए। यस क्षेत्रका नागरिकलाई गुमराहमा राखेर बेतन कर्णालीको लगानीबारे चलखेल भइरहेको उनको भनाइ थियो। ‘सञ्चय कोषले हात झिक्ने सुन्दै छु,’ उनले भने, ‘अब अर्कैको जिम्मा लगाइँदै छ। हामी यसमा सचेत हुनुपर्छ।’ मुख्यमन्त्री शाहले संघ सरकारले बेतन कर्णाली निर्माण गर्न नसक्ने भए प्रदेश सरकारलाई दिए लगानी जुटाउने बताए। सेती लोकमार्ग, बुढीगंगा जलविद्युत् आयोजना र यस क्षेत्रको पर्यटन विकासबारे पनि प्रदेश सरकारले पहल गरिरहेको उनले बताए।
सभामा समन्वय समिति प्रमुख ललितबहादुर कुँवर, पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने, मंगलसेन नगरपालिकाका मेयर पदमबहादुर बोहरा, कमलबजार नगरपालिकाका मेयर यज्ञप्रसाद ढकाल, उपमेयर शारदा विष्ट र मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउदलगायतका जनप्रतिनिधिले कमिसनमा योजना बाँडेको, बेतन कर्णाली जलविद्युत् आयोजना, मंगलसेन-चिसापानी सडक निर्माण र मंगलसेन दरबार व्यवस्थापनजस्ता ठुला योजनामा प्रदेश सरकारले चासो नदेखाएको आरोप लगाएका थिए।
उनीहरूले जिल्लाका गौरवका योजनाबारे पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवर, प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काको पनि ध्यानाकर्षण गराएका थिए।