रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा सोमबार श्राद्ध गर्ने भक्तजनको घुइँचो लागेको थियो। पुसे औँसीका दिन त्रिशूली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा पितृहरूको चीरशान्तिको कामना गर्दै देशभरबाट तीर्थालुहरू श्राद्ध गर्न आउने गर्छन्। उत्तरगयाधाममा यस दिन सबै देवता र मृतात्माको जमघट हुने जनविश्वासअनुसार पितृको मोक्षको कामना गर्दै श्रद्धालुहरू आउँछन्।
यस्तै, बौद्ध धर्मालम्बीले मृत्यु भएका आफन्तको सम्झनामा बत्ती बाल्ने र लामाहरूले मन्त्र पढ्ने गरेका छन्। उत्तरगया क्षेत्रमा त्रिशूली र देवी गंगा नदी रहेकाले उक्त पवित्र ठाउँलाई बेत्रगंगा भनेर स्कन्द पुराणको हिमवत् खण्डमा वर्णन गरिएको छ। श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चारगयामध्ये एक गयाका रूपमा यसलाई चिनिन्छ।
तस्बिर साैजन्य : आभास रिजाल