नेपालमा चिनियाँ अपराधीहरूको चलखेल बढ्दै जानुलाई कसरी हेर्नुभएको छ ?
यसलाई विभिन्न एंगलबाट हेर्न सकिन्छ । सुरुसुरुमा चिनियाँ आपराधिक गतिविधि विदेशी मुद्राको अवैध कारोबारमा सीमित देखिन्थ्यो । त्यसपछि बाघको छाला, हड्डी, रक्तचन्दन, जडिबुटीलगायतको अवैध कारोबारसम्म त्यो फैलियो । त्यससँगै साइबर क्राइममा पनि उनीहरूको संलग्नता बढेको देखियो । अहिले सुनमा उनीहरूको संलग्नता पुष्टि भइरहेको छ । उनीहरूको आपराधिक ग्राफ घट्नुको साटो बढ्दै गइरहेको देखिन्छ ।
यसमा हाम्रो सुरक्षा संयन्त्र, प्रविधि या अन्य कुन कुन पक्षमा कमजोरी देखिन्छ ?
भारतसँग जस्तो चिनियाँ प्रहरीसित हाम्रो प्रहरीको कुनै पनि कोअर्डिनेसन छैन । चिनियाँ नागरिकबारे कुनै पनि सूचना हामीसँग भन्दा चिनियाँ प्रहरीसँगै धेरै हुन्छ । तर, उनीहरूसित हाम्रो कुनै औपचारिक या अनौपचारिक कोअर्डिनेसन नभएकाले यहाँ अपराध कर्ममा संलग्न चिनियाँ नागरिकको सूचना लिन सहज छैन । हामी प्रविधिमा पनि हुनुपर्ने जति सुसज्जित छैनौँ । हामीकहाँ सूचना सित्तैँमा लिनुपर्छ भन्ने मानसिकता छ । तर, अहिलेको जमानामा कसैले पनि सित्तैँमा सूचना दिँदैन । गुलेलीले ठुलो सिकार गर्न सकिन्न । यसमा राज्यले लगानी बढाउनुपर्छ ।
यस्ता अपराध र अपराधीबाट जोगिने कसरी त ?
सबैभन्दा पहिले हाम्रा अपराध अनुसन्धानमा दक्ष प्राविधिक प्रहरी कर्मचारीको वृत्ति विकासमा कुनै बाधा नहुने गरी उनीहरूलाई लामो समयसम्म सम्बन्धित ब्युरोमै टिकाउन सक्नुपर्छ । म्युजिकल चेयर जस्तो सरुवा प्रणाली रोकिनुपर्छ । ब्युरोलाई प्राविधिक रूपमा चुस्त दुरुस्त राख्नुपर्छ । सूचना संकलनमा लगानी बढाउनुपर्छ । चिनियाँ प्रहरीसित प्रत्यक्ष कोअर्डिनेसन गर्न सक्ने वातावरण तयार गर्नुपर्छ ।