१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
दीपक भट्ट रामेछाप
२०८० श्रावण २२ सोमबार १७:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लम्पी स्किन रोगले शैलुङमा ४२ चौँरी मरे

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०८० श्रावण २२ सोमबार १७:३३:००

लम्पी स्किन रोगले दोरम्बा शैलुङ गाउँपालिका– १ डडुवाका किसानले पालेका चौँरी भटाभट मर्न थालेपछि किसानहरू मारमा परेका छन्।

जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकाको तल्लो तटीय क्षेत्रमा फैलिएको लम्पी स्किन रोग अहिले उच्च हिमाली क्षेत्रमा समेत फैलिएको छ। लम्पी स्किन रोगबाट शैलुङ क्षेत्रमा पालेका ४२ वटा चौँरी मरिसकेकाे गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक राजेन्द्र ढुंगेलले जानकारी दिए।

डडुवाको गौश्वाराको जंगलमा रहेका अधिका‌ंश गोठका चौँरीमा लम्पी स्किन रोग देखापरेको छ। चौँरीको दूध उत्पादनको मुख्य समयमा अकस्मात लम्पी स्किन रोग देखापरेपछि दूध उत्पादनमा समेत गिरावट आएको छ। रोगका कारण भटाभट चौँरी मर्न थाले पनि गाउँपालिकाबाट सहयोग पाएका छैनन्।

गाउँपालिकासँग औषधि र प्राविधिकको माग गर्दा औषधि नभएको भन्दै पन्छिएको किसानहरूले गुनासो गरेका छन्। अहिले डडुवाको शैलुङ क्षेत्रमा १५ वटा गोठमा ५ सयभन्दा बढी चौँरी छन्।

गाउँपालिकाले गत आर्थिक वर्षमा १ हजार डोज औषधि खरिद गरी पशुहरूमा लगाएको पशु स्वास्थ्य प्राविधिक ढुंगेलले बताए। अहिले भने औषधि नहुँदा समस्या रहेको उनको भनाइ छ। ‘साउन २५ गतेदेखि ३१ गतेसम्म बागमती प्रदेश सरकारको लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप लगाउने अभियानका लागि गाउँपालिकाभित्रका पशुवस्तुको तथ्यांक संकलन गर्ने काम भइरहेको छ,’ उनले भने।

रामेछापका ८ स्थानीय तहमा गरी लम्पी स्किन रोगबाट २४ हजार पशु बिरामी परेका छन्। पशु संक्रमित हुने संख्या बढ्दै जाँदा जिल्लामा औषधिको अभाव हुन थालेको छ।