लम्पी स्किन खोप लगाउने पशुको संख्या ६ लाख ८६ हजार नाघेको छ । पशु सेवा विभागले दिएको जानकारीअनुसार पछिल्लो समय खोप लगाउने पशुको संख्या बढ्दा संक्रमणदर पनि बिस्तारै घट्दै गएको छ । अहिलेसम्ममा १० लाख ८२ हजार एक सय ५९ पशु निको भएको विभागले जनाएको छ । हालसम्म देशभर १३ लाख पाँच हजार तीन सय ६१ पशुमा लम्पी स्किन संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये हाल सक्रिय संक्रमित पशुको संख्या एक लाख ७५ हजार रहेको छ ।
बागमती प्रदेशमा बढी संक्रमण
विभागका अनुसार अन्य प्रदेशमा लम्पी स्किन संक्रमणमा केही कमी आएको भए पनि बागमती प्रदेशमा यो रोगले भयावह रूप लिएको छ । बागमतीमा मात्र ६२ हजार आठ सय ९३ पशुहरू सक्रिय संक्रमित रहेका छन् । उक्त प्रदेशमा हालसम्म ६ सय १३ पशु संक्रमणका कारण मरेका छन् । अवस्था भयावह देखिएपछि उक्त क्षेत्रमा खोप अभियानका रूपमा चलाइएको प्रवक्ता ढकालले बताए । उनले भने, ‘अहिले यो अवस्था पशु क्षेत्रका लागि ‘हट स्पट’जस्तो देखिएको छ । त्यसैले खोपको दायरा बढाएका छौँ ।’ बागमतीमा हालसम्म एक लाख ५० हजार नौ सय ९५ पशुमा खोप लगाइएको उनको दाबी छ ।
बागमती प्रदेशमा मात्र हालसम्म एक लाख ९६ हजार आठ सय ७४ पशुमा लम्पी स्किन रोग पुष्टि भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा सबैभन्दा धेरै बढी खोप लगाइएको विभागले जनाएको छ । उक्त प्रदेशमा एक लाख ७० हजारभन्दा बढी पशुमा खोप लगाइएको विभागको दाबी छ । उक्त क्षेत्रमा हालसम्म ६९ हजार आठ सय ४१ पशुमा संक्रमण पुष्टि भएको छ भने हाल सक्रिय संक्रमित पशुको संख्या १० हजार सात सय २१ रहेका छन् ।
लम्पी स्किन रोगको नियन्त्रणका लागि सबै प्रदेश र स्थानीय तहहरूमा बजेट विनियोजन भइसकेको र केही स्थानहरूमा अभियानमुखी खोप कार्यक्रम चलिरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहप्रवक्ता तपेन्द्रप्रसाद बोहोराले बताए । उनले भने, ‘अहिले निजी क्षेत्रबाट खरिद गरेर भए पनि खोप लगाउने अभियान नै चलाएका छौँ । दीर्घकालीन समाधानका लागि सबै पशुमा लगाउनुपर्ने भएको हुँदा देशभित्र नै लम्पी स्किन रोगको खोप उत्पादन गरी किसानलाई निःशुल्क रूपमा उपलब्ध गराउने गरी मित्र राष्ट्रहरूमा पहल गरेका छौँ ।’
लम्पी स्किन रोग नियन्त्रणका लागि छिमेकी मुलुकहरूको अनुभव र अभ्यास, विश्व पशु स्वास्थ्य संगठनको सिफारिस र नेपालका पशु चिकित्साविज्ञसमेतको रायका आधारमा ‘गोट पक्स’ खोप आयात र प्रयोग गर्न सहमति भएको उनको भनाइ छ ।
पशुधन क्षति भएका किसानलाई राहत उपलब्ध गराइने
किसानले लम्पी स्किन रोगले मरेका पशुहरूको क्षतिपूर्ति पाउनुपर्ने चौतर्फी माग बढेपछि सरकारले यसबारे पहल थालेको छ । मन्त्रालयका अनुसार क्षति भएको यथार्थपरक तथ्यांक निकालेर क्षतिपूर्ति दिने गरी आवश्यक मापदण्ड तयार भएको बोहोराले बताए । उनले भने, ‘हामीले मापदण्ड बनाएर मन्त्रिपरिषद्मा पेस गरेका छौँ । अब स्वीकृतिको प्रक्रियामा छ, निर्णय भएपछि स्थानीय तहमा बजेट विनियोजन गरी क्षतिपूर्ति भराउने मापदण्ड बनेको छ ।’
मन्त्रालयले आगामी दिनमा लम्पी स्किन रोग नियन्त्रण कार्य प्रभावकारी बनाउन रोग नियन्त्रणको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिमा पेस गरेको छ ।
हचुवाका भरमा तथ्यांक
पशु सेवा विभागले लम्पी स्किनबाट मरेका पशुको तथ्यांक हचुवाका भरमा सार्वजनिक गरेको पाइएको छ । विभागले गत ३ साउनमा सार्वजनिक गरेको तथ्यांकमा लम्पी स्किनको संक्रमणबाट मरेका पशुको संख्या ४८ हजार एक सय ३३ रहेको थियो । तर, भदौको पहिलो साता सार्वजनिक गरेको तथ्यांकमा संक्रमणबाट मरेका पशुको संख्या ४७ हजार ६ सय ४९ मात्र सार्वजनिक गरेको छ ।
पशु सेवा विभागका प्रवक्ता चन्द्रप्रसाद ढकालले तथ्यांक संकलन गर्ने संयन्त्र नभएको हुँदा यस्तो समस्या देखिएको बताए । उनले भने, ‘हामीलाई तथ्यांक संकलनमा सबैभन्दा ठूलो समस्या देखिएको छ, यथार्थपरक तथ्यांक आउन छाड्यो । धेरैपटक सम्बन्धित निकायमा समेत यो कुरा राखेका छौँ, तर कार्यान्वयन हुन सकेको छैन ।’
पछिल्लो समय भइरहेको तथ्यांक पनि स्थानीय तहसँग समन्वय गरेर अनुमानका भरमा आउने गरेको उनले बताए । संघीयताअघि तथ्यांक संकलन गर्ने ४८ भन्दा बढी निकाय थिए, अहिले त्यो अवस्था पनि नभएको उनको भनाइ छ ।
उनले भने, ‘तथ्यांक नै नहुनुभन्दा स्थानीय तहसँग सम्पर्क गरेर, लौ न यसो बुझेर तथ्यांक पठाउनुप¥यो भनेर गुहार्नुपर्ने अवस्था छ, उताबाट अनुमानका भरमा तथ्यांक आयो ।’ अहिले आएको तथ्यांक भने सही भएको उनको भनाइ छ । रोगको तथ्यांक नै उल्टो भएपछि योजना आयोग र ज्ञानकेन्द्रसँगको सहकार्यमा तथ्यांक संकलन गरेको हुँदा यो तथ्यांक आधिकारिक मान्न सकिने उनको जिकिर छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका पूर्वसचिव योगेन्द्र कार्कीले कृषि तथा पशुपक्षीको तथ्यांक अनुमान र हचुवाका भरमा हुने गरेको बताए । उनले भने, ‘कृषिको तथ्यांक गम्भीर विषय हो, तर यहाँ कर्मचारीलाई लागेको भरमा अन्दाजका भरमा तथ्यांक संकलन गर्ने र त्यसलाई आधिकारिक मान्ने जुन परम्परा बसेको छ, जसले गर्दा कृषि र पशुको तथ्यांक अहिलेको अवस्थामा कर्मकाण्डी मात्र बन्न पुगेको छ ।’
कृषिविज्ञ कृष्णप्रसाद पौडेल कृषिको तथ्यांकमा राज्य प्रणाली नै गम्भीर हुन नसकेको बताउँछन् । उनले भने, ‘अहिले जति पनि तथ्यांकहरू संकलन भएका छन्, ती एउटा आधार मात्र हुन्, वास्ताविक तथ्यांक निकाल्न सकेको छैन ।’