१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ११ सोमबार
  • Sunday, 11 May, 2025
२o८o भदौ ११ सोमबार ११:४८:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बागलुङमा लम्पी स्किन संक्रमणबाट ६१७ गाईभैँसी मरे

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ११ सोमबार ११:४८:oo

गाई, गोरु र भैँसीमा फैलिएको लम्पी स्किन रोग संक्रमणका कारण बागलुङमा ६ सय १७ पशु चौपाया मरेका छन्। भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका अनुसार जिल्लाका १० वटै स्थानीय तहका कुल संक्रमणको ११.४५ प्रतिशत गाई, गोरु र भैँसीको मरेका छन्।

हालसम्म जिल्लामा कुल पाँच हजार तीन सय ८७ गाई, भैँसी र गोरुमा संक्रमण देखिएको छ। जसमा दुई हजार सात सय २८ को रोग निको भइसकेको छ भने बाँकी निको हुने क्रममा छन्। 

रोग संक्रमणमा ४८ प्रतिशत गोरु रहेका छन् भने २.६३ प्रतिशत भैँसी रहेका छन् अन्य सबै गाई बाच्छाहरू रहेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिए। 

जिल्लामा सबैभन्दा बढी संक्रमणका कारण निसीखोला गाउँपालिकामा एक सय २७ पशुको मरेका छन् भने सबैभन्दा कम ताराखोला गाउँपालिकामा दुईवटा पशु मरेका छन्। संक्रमणदर हेर्दा ढोरपाटन नगरपालिकमा कुल एक हजार नाै सय ३२ रहेको र यसमा १०३ पशु चौपाया मरेको विज्ञ केन्द्रले जनाएको छ।
 
भैँसीभन्दा गाईगोरुमा बढी संक्रमण 

‘लम्पी स्किन’ रोगका कारण बागलुङ नगरपालिकामा ३४, तमानखोला गाउँपालिकामा १८, बडिगाड गाउँपालिकामा ३८, गलकोट नगरपालिकामा  २०, बरेङ गाउँपालिकामा  १४ काठेखोला गाउँपालिकामा चार र जैमिनी नगरपालिकामा ८३ वटा गाई–भैँसी मरेका छन्। 

भैँसी र पाडापाडीभन्दा गाई, गोरु र बाच्छामा नै संक्रमण बढी रहेको डा. सापकोटाले जानकारी दिए। ‘यो रोगको संक्रमण गाईगोरुमा बढी छ, भैँसीमा भने कम नै भेटिएको छ,’ डा. सापकोटाले भने, ‘महामारीको रूपमा रहेको यो रोग न्यूनीकरणका लागि केन्द्रले खोप सञ्चालन गरेको छ, संक्रमण दर घट्दो क्रममा छ।’ 

चार हजार ६६९  पशुलाई खोप लगाइयो

गत वैशाख १२ गतेदेखि जिल्लाको बाडिगाड गाउँपालिकाबाट संक्रमण सुरु भएको थियो।  संक्रमण दर बढ्दै गएपश्चात् स्थानीय तह र कृषकको सहकार्यमा यसविरुद्धको खोप लगाएसँगै पछिल्लो समयमा संक्रमण हुनेको संख्या र मर्नेको संख्या घट्दै गएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अधिकृत केशवराज शर्मा पौडेलले बताए। 

जिल्लामा हालसम्म चार हजार ६ सय ६९  पशुलाई यसविरुद्धको खोप प्रदान गरिसकिएको छ। झन्डै ६०  प्रतिशतमा खोपको पहुँच पुगिसकेको पौडेलले बताए। 

तीन करोडबराबरको क्षति

संक्रमणबाट बागलुङमा झन्डै तीन करोड रुपैयाँबराबरको  पशुधनमा क्षति पुगेको विज्ञ केन्द्रले जनाएको छ।

केन्द्रले संकलन गरेको तथ्यांकअनुसार स्थानीय गाईगोरु र भैँसीको करिब ३० देखि ५० हजार र उन्नत जातको गाई–भैँसीको झन्डै एक लाख रुपैयाँसम्म मूल्य पर्ने हुँदा हालसम्मको तथ्यांकले झन्डै तीन करोडबराबरको क्षति पुगेको कार्यालय प्रमुख डा. सापकोटाले बताए। 

लम्पी स्किन रोगको संक्रमण हुँदा गाई–भैँसीमा अत्यधिक ज्वरो आउने, पशु झोक्राउने, दानापानी नखाने, दुहुना गाई–भैँसीको दूध घट्ने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पछि गिर्खाहरू फुटी अल्सर हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको संक्रमणले निमोनिया र थुनेलो हुनेजस्ता समस्या पैदा भई पशुको मृत्यु हुने गरेको छ। 

अमेरिकन स्वाइन फिबरबाट चार सय बंगुर मरे

बागलुङ जिल्लामा अमेरिकन स्वाइन फिबरबाट बंगुर मर्ने समस्याले पनि किसानलाई चिन्तित बनाएको छ। बंगुर मरेका कारण किसानले लाखौँको क्षति व्यहोर्नुपरेको छ। विज्ञ केन्द्रका अनुसार जिल्लामा हालसम्म एक सय २२ बंगुर मरेको तथ्यांक ल्याब परीक्षणबाट पुष्टि भए पनि किसानले झन्डै चार सय मरेको बताउँछन।

किसानले पालेका बंगुर धमाधम मर्न थालेपछि यसको रोकथाम र  किसानलाई पुनर्स्थापनका लागि चालू आर्थिक वर्षमा १६ लाख रुपैयाँ  बजेट विनियोजन गरेको कार्यालय प्रमुख सापकोटाले बताए। 

बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जंगली बँदेल प्रजातिमा देखापर्ने भाइरस हो। यो संक्रमण भएमा सुँगुर, बंगुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखापर्ने गरेको छ।