मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३ बुधबार
  • Thursday, 19 December, 2024
रोबिनसन मेयेर
२o८o श्रावण ३ बुधबार o७:५५:oo
Read Time : > 4 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिका एक्लैले सक्दैन हरित अर्थतन्त्र बनाउन

Read Time : > 4 मिनेट
रोबिनसन मेयेर
नयाँ पत्रिका
२o८o श्रावण ३ बुधबार o७:५५:oo

झन्डै एक शताब्दीअघि हेनरी फोर्डले आधुनिक कार उत्पादनमा क्रान्ति ल्याइरहँदा, फ्रान्स, जापान, जर्मनी र सोभियत संघका इन्जिनियरहरू हुलका हुल उनको डेट्रोइटस्थित उद्योगमा नयाँ चामत्कारिक विधि सिक्न पुगेका थिए । फोर्डको रिभर–रग संयन्त्र त्यो वेला संसारको सबैभन्दा ठूलो उद्योग थियो । त्यसले रेनो, भोल्सबागन, टोयोटा र रुसी वाहन निर्माता ग्याजका संयन्त्रलाई प्रभावित बनायो ।

त्यस्तै, फोर्डकै एसेम्बली लाइन विधि दोस्रो विश्वयुद्धमा तोप, जहाज र विषाक्त रसायन निर्माणका लागि अनुशरण गरिएका थिए । विदेशी इन्जिनियरहरू कुतूहल मेटाउन मात्र डेट्रोइट पुगेका थिए । ती इन्जिनियरलाई तिनको देशमा पनि अमेरिकी विधि अनुशरण गरिनुपर्छ भन्ने थाहा थियो । एकजना जर्मन कन्जर्भेटिभ नेताले त्यसवेला भनेका पनि थिए, ‘जर्मनीले अमेरिकीहरूको माध्यम, संयन्त्र अध्ययन गर्नुपर्छ अन्यथा हामी अमेरिकाको सिकार हुनेछौँ ।’ 

अहिले अमेरिका आफैँ स्वच्छ ऊर्जाको उदाउँदो क्षेत्रको सिको गर्नुपर्ने अवस्थामा पुगेको छ । यो वर्ष चीन विश्वको सबैभन्दा ठूलो कार निर्यातक मुलुक बनेको छ । यसमा तीव्र विकास भइरहेको त्यहाँको विद्युतीय वाहन उद्योगको मुख्य योगदान छ । त्यस्तै सौर्य पाताको आपूर्ति शृंखलाका हरेक चरणमा चीनको कम्तीमा ७४ प्रशित बजार हिस्सामाथि नियन्त्रण छ ।

चीनले सन् २०१० को दशकदेखि सौर्य, ब्याट्री र विद्युतीय वाहन उद्योगमा अग्रता हासिल गर्न सुरु गरेको हो । अमेरिकाले भने यो अवधि स्वच्छ–ऊर्जा नीति पारित गर्ने–नगर्ने बहसमै खर्च गर्‍यो, अझ केही तप्का जलवायु परिवर्तन यथार्थ हो–होइन भन्ने प्रश्न गरिरहे । बाइडेन सरकारले पछिल्लो समय ल्याएको ‘द इन्फ्लेइसन रिडक्सन एक्ट’ले अमेरिकासामु स्वच्छ ऊर्जामा प्रतिस्पर्धी हुने अवसर सिर्जना गरेको छ । कुनै पनि क्षेत्रमा चीनलाई उछिन्ने कुरामा अमेरिकाका सांसदमा एक्येबद्धता देखिन्छ । 

तर अमेरिकाले प्रतिस्पर्धी नवीकरणीय अथवा विद्युतीय उद्योग शून्यबाट निर्माण गर्न सक्दैन । नवप्रवर्तनको इतिहास अझ आधुनिक विश्वकै इतिहास हेर्ने हो भने अमेरिकी इन्जिनियरले तिनका चिनियाँ समकक्षीसँग सहकार्य गरे भने मात्र प्रगति हासिल हुनेछ । यसका लागि फोर्डकै एक प्रसंगको चर्चा गरौँ । यस कम्पनीले सन् २०२६ बाट विद्युतीय वाहन बेच्ने लक्ष्य लिएको छ । फोर्डका वाहनमा लाग्ने ब्याट्री लिथियम, आइरन(फलाम) र फोस्फेट(एलएफपी) युक्त रासायनिक सम्मिश्रणबाट बन्नेछन् । एफएफपी. ब्याट्री आज फोर्डले बनाउँदै आएको कोबाल्ट र निकेलका ब्याट्रीभन्दा चाँडो चार्ज हुन्छन् । सस्तो र टिकाउ पनि हुन्छन् । तिनमा प्रयोग हुने खनिज पदार्थ कोबालट र निकेलजस्तो पाउन कठिन छैन । तर, यस योजनामा एउटा समस्या छ : फोर्डसँग एलएफपी. ब्याट्रीहरू ठूलो परिमाणमा बनाउने प्रविधि छैन । फोर्डसँग मात्र होइन, कुनै अमेरिकी कम्पनीसँग त्यो ज्ञान छैन । 

प्रविधि प्रसारमा खुलापन र सहकार्यले महत्वपूर्ण भूमिका खेल्छ । केही अपवादबाहेक, प्रतिस्पर्धीबाट नसिक्नेहरू प्रतिस्पर्धामा पछाडि पर्छन् । विदेशी ज्ञान नसिके अमेरिकाको परनिर्भरता झन् बढ्दै जानेछ । किनकि अमेरिका आफैँले बनाउन नजानेका सामग्री आखिरमा उसले बाहिरबाट आयात गर्नुपर्छ ।

एलएफपी प्रविधिमा पहिलो लगानी गर्ने र यस प्रविधिको विकास गर्ने देश अमेरिका थियो । सन् १९९० को दशकमै उक्त सफलता हासिल भए पनि पछि अमेरिकाले यसको उत्पादनमा ध्यान दिएन । र, बीचमा चिनियाँ कम्पनीले त्यस प्रविधिमा ध्यान केन्द्रित गरे अनि महत्वपूर्ण सफलता हासिल गरे । आज, यस प्रविधिमा चिनियाँ कम्पनीको एकाधिकारजस्तै छ । यस अवस्थाका लागि फोर्डले एक उपाय निकालेको छ ।

फेब्रुअरीमा कम्पनीले ३.५ अर्ब डलरको एक नयाँ एलएफपी ब्याट्री उद्योग खोल्ने योजना घोषणा गर्‍यो । मिचिगनमा बन्ने उक्त उद्योगमा बन्ने ब्याट्रीका लागि फोर्डले एक चिनियाँ ब्याट्री निर्माताको प्रविधिसँग साझेदारी गर्दै छ । अर्थात् चिनियाँ कम्पनीले ब्याट्रीको लाइसेन्स प्रदान गर्नेछ र चिनियाँ इन्जिनियरले फोर्डलाई ब्याट्री निर्माणमा सघाउनेछ । यसले दुवै पक्षलाई फाइदा पुर्‍याउनेछ– चिनियाँ ब्याट्री निर्माता कम्पनी ‘सिएटिएल’ले धन र प्रतिष्ठा कमाउनेछ भने फोर्डले यी ब्याट्री निर्माण गर्ने प्रविधि सिक्नेछ । यस सहकार्यबाट अमेरिकामा २५०० नयाँ उत्पादन क्षेत्रका रोजगारी सिर्जना हुनेछ ।

बाइडेनको ‘द इन्फ्लेइसन रिडक्सन ल’को जलवायुसम्बन्धी कुराहरू खासमा यस्तै परिस्थितिलाई सम्बोधन गर्न गठन गरिएको थियो । तर फोर्डको घोषणापछि वेस्ट भर्जिनियाका डेमोक्रेट सिनेटर जो म्यान्चिन आक्रोशित भए । ‘म तिनलाई सात हजार ५०० डलरमध्ये ९०० डलर चिनियाँलाई दिने कुरामा कदापि मञ्जुरी जनाउँदिनँ, त्यो पनि हामीले नै सुरु गरेको उत्पादनका लागि,’ हुस्टनमा आयोजित एक ऊर्जा सम्मेलनमा म्यान्चिनले भने । (रकमको कुरामा उनको संकेत ‘द इन्फ्लेइसन रिडक्सन ल’को त्यो बुँदामा छ, जसअनुसार नयाँ कार खरिदकर्ताले अनुदान पाउनेछन् । तर, फोर्डले भने संघीय अनुदान रकम चिनियाँ कम्पनीले नपाउने दाबी गरेको छ ।) के हामीसँग क्षमतावान् मानिस वा प्रविधि छैन ? र हामी शीघ्रतासाथ प्रविधि हासिल गर्न सक्दैनौँ ?’ म्यान्चिनले फोर्डप्रति लक्ष्यित गर्दै प्रश्न गरे ।

रिपब्लिकनहरू पनि यस साझेदारीप्रति सन्तुष्ट छैनन् । फ्लोरिडाका रिपब्लिकन सिनेटर मार्को रुबियोले अर्थ मन्त्रालयलाई यस सम्झौताले दशेको राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउने–नपुर्‍याउनेबारे छानबिन गर्न माग गरेका छन् । तर, यी राजनीतिक विवादमा सत्यको एउटा पाटो छुटिरहेको छ । प्रविधि प्रसारमा खुलापन र सहकार्यले महत्वपूर्ण भूमिका खेल्छ । केही अपवादबाहेक, प्रतिस्पर्धीबाट नसिक्नेहरू प्रतिस्पर्धामा पछाडि पर्छन् । अरू देशले यो बुझेका छन् । अमेरिकाले पनि यो पाठ पटक–पटक सिक्नुपरेको छ । 

अमेरिकाले सन् १९१० को दशकमा यो ज्ञान पहिलोपटक सिकेको थियो । त्यो वेला जर्मनीसँग विश्वको सबैभन्दा ठूलो रसायन उद्योग थियो । अमेरिकन रसायन कम्पनीले पहिलो विश्वयुद्धसम्म यसलाई बेवास्ता गरे । त्यसपछि अमेरिकाले जर्मन वैज्ञानिकलाई देशमा ल्याएर यो ज्ञान सिक्यो र ‘डुपोन्ट’ र ‘ड’जस्ता जर्मन प्रतिस्पर्धीजस्तै रसायन बनाउने अमेरिकी कम्पनी खुले । अमेरिकाले फेरि सन् १९८० को दशकमा अर्को पाठ सिक्यो । रेगन सरकारले जापानिज वाहन–निर्माताले अमेरिकामा बेच्ने कार अमेरिकाभित्र अमेरिकी साझेदारसँग मिलेर खोलिने शाखामा बनाउनुपर्ने कानुन बनायो । त्यसपछि नै अमेरिकी इन्जिनियरले जापानीहरूले विकास गरेको उन्नत उत्पादन मोडलबारे राम्ररी बुझ्ने अवसर पाए । जापानीहरूले आफैँले काम गरिरहेको हेरेपछि तिनमा त्यो ज्ञान आएको थियो । 

एकपछि अर्को उद्योगमा उस्तै कथा दोहोरिने गरेको छ । प्रविधि र तीबारे लेखिएको कुरा पढेर वा सिकाएर मात्र तिनलाई व्यवहारमा उतार्न सकिदैन । ती प्रविधिलाई अभ्यास गरिरहेकाहरूले ती काम गरेको हेरेर आफूले दोहोर्‍याएपछि मात्र जानिन्छ । चाहे त्यो शल्यक्रियाको कुरामा होस्, वा खतरनाक रसायनको प्रशोधन होस् वा लिथियम–आयन ब्याट्रीको निर्माण नै किन नहोस्, यही कुरा लागू हुन्छ ।

विश्वबजारमा मेसिन जो कसैले पनि किन्न सक्छन्, तर तिनलाई एसेम्ब्ली लाइनमा तयार गर्न त्यसको सञ्चालनको राम्रो ज्ञान हुनुपर्छ । त्यही प्रयोजनले फोर्डले चिनियाँ कम्पनीसँग सहकार्य गरेको थियो । निश्चित रूपमा फोर्डका इन्जिनियरले बजारमा पाइने उन्नत ब्याट्रीको रसायनको अध्ययन गर्न सक्छन्, तर त्यति गरेरै तिनले ब्याट्रीलाई सस्तोमा विशाल परिमाणमा उत्पादन गर्न सक्दैनन् । चीन अहिलेको समयमा विद्युतीय वाहनका ब्याट्रीको निर्माणमा विश्वमै शीर्ष स्थानमा छ । त्यहाँका इन्जिनियरले मात्र अमेरिकी(फोर्ड)का इन्जिनियरलाई छिटो र विश्वसनीय तरिकाले किफायती मूल्यमा ब्याट्री उत्पादन गरेर सिकाउन सक्छन् । यही कुरा अन्य हरित उद्योगमा पनि लागू हुन्छ ।

म्यान्चिन र रुबियोले यस्तो साझेदारीलाई निरुत्साहित गर्ने उपाय ठम्याउलान् । हाल लागू ‘द इन्फ्लेइसन रिडक्सन एक्ट’अनुसार ‘शंकास्पद विदेशी निकाय’ले निर्माण गरेका ब्याट्री प्रयोग गरेका विद्युतीय वाहनले सात हजार ५०० डलरको कर छुट पाउनेछैनन् । तर, चिनियाँ ज्ञान नसिके अमेरिकाको चीनमाथि निर्भरता झन् बढ्दै जानेछ । किनकि अमेरिका आफैँले बनाउन नजानेका सामग्री आखिरमा उसले आयात गर्नुपर्छ । 

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले उनको पछिल्लो चीन भ्रमणमा यही अन्योल सामना गरेको हुनुपर्छ । अमेरिकी फर्मले देशमा चिनियाँ फर्मसँग मिलेर उद्योग खोल्न सकेनन् भने देशका श्रमिक रोजगारीको अवसरबाट वञ्चित हुनेछन्, उपभोक्ताहरू देशमै बनेको नयाँ प्रविधिको पहुँचबाट वञ्चित हुनेछन् र अमेरिकी इन्जिनियर विश्वको उत्कृष्ट प्रविधिबाट वञ्चित हुनेछन् । चीनसँगको प्रतिस्पर्धा राम्रो कुरा हो । तर, ऊसँग सशंकित भएर अलग रहनु आफ्नो खुट्टामा आफैँ बन्चरो हान्नुसरह हुनेछ । 
– द न्युयोर्क टाइम्सबाट