१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ९ शनिबार
  • Sunday, 29 September, 2024
२o८o असार ९ शनिबार o५:५२:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ओखलढुंगा पहिरोमा एकै घरका चारको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ९ शनिबार o५:५२:oo

ओखलढुंगा चम्पादेवी– ८ का बलबहादुर गुरुङ बिहीबार राति भर्खर सुतेका थिए । ठूलो आवाजले उनको निद्रा बिथोल्यो । पहाड नै खसेझैँ गर्‍यो । उनको तीनजनाको परिवार हत्तपत्त ढोका खोलेर बाहिर निस्कियो । किचन कोठा पहिरोले पुरिसकेको थियो । हेर्दाहेर्दै उनको सुत्ने कोठा पनि पहिरोले पुर्‍यो । ‘धन्न पहिला किचनमा पहिरो पसेछ र निस्कन पाए । माथिल्लो घर पहिरोले पुरेकाले उनीहरूले कम्तीमा संकेतचाहिँ पाएर निस्कन सके,’ चम्पादेवी– ८ का वडाध्यक्ष खड्कबहादुर बरालले भने, ‘तर, माथिल्लो घरका एउटा परिवारका चारजनाको मृत्यु भयो ।’ 

बिहीबार मध्यरातमा वर्षासँगै आएको पहिरोले चम्पादेवी गाउँपालिका– ८ बिलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर परिवार नै बगायो । पहिरोमा परी गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया गुरुङ, १० वर्षीय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले जानकारी दिए । ‘राति ११ देखि १२ बजेको बीचमा एउटा डाँडाको केही भाग पल्टिएछ । मध्यरातको निद्रामा भएका एकै परिवारको चारजनाको मृत्यु भयो,’ उनले भने, ‘साना ननीहरूसँग भएर होला भाग्न पाएनन् । घर पूर्ण रूपमा क्षति भयो ।’ 

पहिरोका कारण बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि बगेको छ । उनीहरू पूर्ण रूपमा विस्थापित भएका छन् । ‘ठूलो आवाज आएकै कारण दुई परिवारका व्यक्तिहरूले भागेको बताउनुभएको छ । उहाँहरूले पहिरो आउँदा–आउँदै थाहा पाएका कारण थप मानवीय क्षति भएन ।’

प्रहरी नायब उपरीक्षक केसीका अनुसार क्षति भएको घरको ८०/९० मिटरमाथि यो डाँडा छ । अहिले पनि निरन्तर पानी परिरहेका कारण त्यो डाँडा खस्ने सम्भावना उत्तिकै रहेको केसीले बताए । ‘स्थानीयका अनुसार ०७२ कै भूकम्पले यो डाँडा चर्किएको रहेछ । वर्षाका कारण डाँडा नै खस्यो,’ उनले भने, ‘वर्षा भइरहेका कारण अभलै डाँडा खस्ने जोखिम छ । जसका कारण सिंगो गाउँ नै जोखिममा छ ।’ पहिरोका कारण पूर्ण रूपमा दुई घरमा क्षति पुगेको छ । उनीहरूसँगै उच्च जोखिममा रहेका दश परिवारका ३५ सदस्यलाई गाउँपालिका र वडाको सहयोगमा सुरक्षित स्थान कल्पेश्वर माविमा लगेर राखिएको डिएसपी केसीले बताए ।

त्यस्तै, देशका विभिन्न स्थानमा शुक्रबार भएका छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका– ७ गल्छीमोडमा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा एकजनाको मृत्यु र १९ जना घाइते भएका छन् । त्यसैगरी, खोलाले बगाउँदा दैलेखमा ठाटीकाँध गाउँपालिका– ४ माझचौरकी १७ वर्षीया उर्मिला कठायतको ज्यान गएको छ ।