१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शान्ति तामाङ नयाँ पत्रिका
२०८० असार ७ बिहीबार ०७:०७:००
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौंले पाँच हजार रोजगारी सिर्जना गर्ने, दुई वर्षसम्म ललितपुरले कुनै पनि निकायलाई सडक खन्न नदिने

Read Time : > 3 मिनेट
२०८० असार ७ बिहीबार ०७:०७:००

उपत्यकाका दुई महानगरको नीति तथा कार्यक्रम

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा पाँच हजारलाई रोजगारी दिनेदेखि पूर्वसम्झौताविना संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्नेसम्मका योजना अघि सारेको छ । आर्थिक वर्ष ०८०/८१ का लागि बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साहले यस्तो बताएका हुन् ।

उनले पाँच हजार नयाँ रोजगारी सिर्जना, अर्गानिक खाद्य तथा तरकारीमा आत्मनिर्भर बनाउन कम्तीमा एक वडामा एग्रोपुलिङ सुरुवात गर्ने उद्देश्य रहेको बताए । ‘सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदीनाला, डुबानरहित, प्रविधिमैत्री, हराभरा पर्यावरण तथा पर्यटनमैत्री महानगर निर्माण उद्देश्य बोकेका छौँ,’ कार्यक्रममा उनले भने । 

यस्तै, सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी क्षमता विकास गर्न आधारभूत प्राविधिक ज्ञान र सीपका साथै तन्दुरुस्त जीवनका लागि खेलकुद र त्यसलाई आवश्यक पर्ने पूर्वाधारसहितको गरिखाने शिक्षा, महानगरको इच्छा भन्ने नाराका साथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने, सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र मनोसामाजिक परामर्शका लागि सामाजिक सहजकर्ता परिचालन गर्ने, परम्परागत कला र साहित्यको प्रवर्द्धन गर्दै ललितकला विकासका लागि छुट्टै विश्वविद्यालय स्थापनाबारे अध्ययन गरिने, निजीस्तरमा सञ्चालित शैक्षिक परामर्श सेवा केन्द्र, कोचिङ सेन्टर, तालिम केन्द्र, छात्रावास आदिको प्रभावकारी नियमन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

बस स्टपमा शौचालय र फ्री वाइफाई
नीति तथा कार्यक्रममा संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरसँग पूर्वसहमति एवं समन्वयविना छनोट भए कार्यान्वयन नगरिने उल्लेख छ । यसैगरी, महानगरपालिकाभित्र नगर अस्पताल सञ्चालन, निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णिम योजना सञ्चालन, औषधि खरिदमा सहुलियत, स्थानीय विपन्न र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने महानगरवासीका लागि निःशुल्क स्वास्थ्य सेवा दिने उल्लेख छ । पूर्वाधारसम्बन्धी नीतिअन्तर्गत स्वच्छ खानेपानी तथा सफा सार्वजनिक शौचालय नागरिकको पहुँच वृद्धि गर्न स्वर्णिम योजनाको रूपमा सार्वजनिक शौचालयको सुविधा उपलब्ध गराइने, प्रत्येक बस स्टपलाई फल्चामा रूपान्तरण, बस स्टपमा जग्गा भएसम्म सार्वजनिक शौचालय, खानेपानी तथा फ्री वाइफाई जडान गरिने महानगरको योजना छ । 

विमानस्थलमा नेपाल भाषामा सूचना प्रवाह
नीति तथा कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने यात्रुका लागि अब नेपाल भाषामा समेत सूचना प्रवाह गर्ने उल्लेख छ । यसैगरी, वडा ३२ स्थित तीनकुनेको जग्गाको मुआब्जासम्बन्धी विवाद समाधानका लागि संघीय सरकारसँग ठोस पहल गरी अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने योजनालाई निरन्तरता दिइने भएको छ । तत्कालीन मेयर विद्यासुन्दर शाक्यको पालादेखि प्रत्येक वर्ष बजेट विनियोजन भएको यो योजनाको प्रगति भने शून्य छ ।

ललितपुर महानगरपालिका : नीति तथा कार्यक्रममा सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले सार्वजनिक गरेको आव ०८०/८१ को नीति तथा कार्यक्रममा सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । महानगरले बुधबार पेस गरेको नीति तथा कार्यक्रममा नगर अस्पताल निर्माणका लागि अध्ययन, घरघरमा एम्बुलेन्स सेवा, तीन कक्षासम्म नेपाल भाषामा पढाइ, एक वडा एक हरियाली उद्यान निर्माण, महानगरभित्रका सडक कम्तीमा दुई वर्षसम्म कुनै पनि निकायलाई खन्न नदिने, बेरोजगारलाई रोजगारी दिइनेलगायत कार्यक्रमलाई जोड दिएको छ । 

महानगरले विगतका वर्षमा भन्दा आगामी वर्ष बजेट खुम्चिएको भन्दै केही नयाँ कार्यक्रमसहित पुरानै कार्यक्रमलाई नीति तथा कार्यक्रमार्फत निरन्तरता दिएको छ । महानगरले १० असारमा ६ अर्ब ५० करोडको बजेट पेस गर्ने तयारी गरेको छ । मेयर चिरिबाबु महर्जनले बजेट पेस गर्नुअघि नगरसभामा नीति तथा कार्यक्रमबारे छलफल चलाएका हुन् । 

बजेट कम भएकाले यो वर्ष थप नयाँ कार्यक्रम राख्न कठिन भएको मेयर महर्जनले जानकारी दिए । उनका अनुसार आगामी वर्ष महानगरले कालोपत्रे भएका सडक कम्तीमा दुई वर्षसम्म खन्न नदिने, भर्टिकल पाकिङ निर्माण गर्ने, चक्रपथ खण्डमा थप पुल निर्माण गर्ने, महानगरभित्र छिर्ने सवारीसाधनलाई धुने व्यवस्था मिलाउने, साइकल लेन निर्माण बढाउने, सबै वडामा सार्वजनिक शौचालय निर्माण गर्ने, सैँबु, भैँसेपाटी, बुङमती, खोकना, धापाखेल, हरिसिद्धिलगायत खोलामा पुल निर्माण, पैदल यात्रुलाई खानेपानीको व्यवस्थाका लागि वाटर एटिएम निर्माण गर्नेलगायत योजना अघि सारिएको छ । त्यस्तै, परम्परागत राजकुलोलाई ब्युँताउँदै टीकाभैरव क्षेत्रबाट लगनखेलसम्म ल्याइने र रातो मत्स्येन्द्रनाथको रुटको संरचना व्यवस्थित गरिने महानगरको योजना छ । 

सम्पदा क्षेत्रमा दोब्बर बजेट 
महानगरले आगामी बजेटमा सम्पदा क्षेत्रमा विगतका वर्षहरूमा भन्दा दोब्बर रकम छुट्याउने तयारी गरेको छ । चालू आवमा १० करोड बजेट छुट्याएकोमा आगामी वर्ष बढाएर २० करोड छुट्याउने सम्झौता भएको छ । तर, प्राथमिकतामा राख्नुपर्ने शिक्षा र स्वास्थ्यमा भने पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

सम्पदातर्फ १९९० सालको भूकम्पमा लडेको भाइदेग मन्दिर निर्माण, विश्व सम्पदा क्षेत्रमा रहेका घर तथा भवन पुरातात्विक मापदण्डअनुसार बनाउने, खोकना र बुङमतीलाई सांस्कृतिक एवं पर्यटकीय क्षेत्रका रूपमा घोषणा गर्ने, पाटन दरबार क्षेत्रमा सवारीसाधन निषेध गर्ने, हस्तकला संरक्षणका लागि कला संरक्षण तथा अध्ययन केन्द्र स्थापना गर्ने, मापदण्डबाहिरका भवनलाई मापदण्डमा ल्याउनेलगायत महानगरको तयारी छ । 

एक वडा एक हरियाली उद्यान
ललितपुर महानगरमा पार्क तथा बगैँचाको अभाव छ । यही कारण आगामी वर्ष महानगरले एक वडा एक हरियाली उद्यान निर्माण कार्यक्रम सञ्चालन गर्ने योजना तय गरेको छ । महानगरले हरेक वर्ष पार्क निर्माण, मुख्य सडकका फुटपाथमा बिरुवा रोप्ने, पार्क, उद्यान तथा योगशाला निर्माण गर्ने, परम्परागत चौतारा संरक्षण र निर्माण गर्ने, डिप बोरिङमा लगाइने, विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने, ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोगमा रोक लगाउने, वातावरण प्रहरी कार्यक्रम सञ्चालन गर्ने, बालकुमारी क्षेत्रमा रहेको अस्थायी ट्रान्सफर्मर स्टेसनलाई आधुनिकीकरण गरी क्षमता विस्तार गर्नेलगायत कार्यक्रम अघि सारेको हो । 

ललितपुर महानगरले ०८०/८१ मा घरघरमा एम्बुलेन्स सेवा दिने तयारी गरेको छ । अस्पतालसम्म जान नसक्ने बिरामीको उपचार घरमै गर्ने गरी स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिनेछ ।