Skip This
ललितपुर महानगरको नीति तथा कार्यक्रम : कक्षा तीनसम्म नेपाल भाषामा पढाइ, पिच सडक दुई वर्षसम्म खन्न नदिइने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ७ बिहीबार
  • Friday, 26 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o असार ७ बिहीबार o८:३१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ललितपुर महानगरको नीति तथा कार्यक्रम : कक्षा तीनसम्म नेपाल भाषामा पढाइ, पिच सडक दुई वर्षसम्म खन्न नदिइने

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार ७ बिहीबार o८:३१:oo

ललितपुर महानगरपालिकाले सार्वजनिक गरेको आव ०८०/८१ को नीति तथा कार्यक्रममा सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । महानगरले बुधबार पेस गरेको नीति तथा कार्यक्रममा नगर अस्पताल निर्माणका लागि अध्ययन, घरघरमा एम्बुलेन्स सेवा, तीन कक्षासम्म नेपाल भाषामा पढाइ, एक वडा एक हरियाली उद्यान निर्माण, महानगरभित्रका सडक कम्तीमा दुई वर्षसम्म कुनै पनि निकायलाई खन्न नदिने, बेरोजगारलाई रोजगारी दिइनेलगायत कार्यक्रमलाई जोड दिएको छ । 

महानगरले विगतका वर्षमा भन्दा आगामी वर्ष बजेट खुम्चिएको भन्दै केही नयाँ कार्यक्रमसहित पुरानै कार्यक्रमलाई नीति तथा कार्यक्रमार्फत निरन्तरता दिएको छ । महानगरले १० असारमा ६ अर्ब ५० करोडको बजेट पेस गर्ने तयारी गरेको छ । मेयर चिरिबाबु महर्जनले बजेट पेस गर्नुअघि नगरसभामा नीति तथा कार्यक्रमबारे छलफल चलाएका हुन् । 

बजेट कम भएकाले यो वर्ष थप नयाँ कार्यक्रम राख्न कठिन भएको मेयर महर्जनले जानकारी दिए । उनका अनुसार आगामी वर्ष महानगरले कालोपत्रे भएका सडक कम्तीमा दुई वर्षसम्म खन्न नदिने, भर्टिकल पाकिङ निर्माण गर्ने, चक्रपथ खण्डमा थप पुल निर्माण गर्ने, महानगरभित्र छिर्ने सवारीसाधनलाई धुने व्यवस्था मिलाउने, साइकल लेन निर्माण बढाउने, सबै वडामा सार्वजनिक शौचालय निर्माण गर्ने, सैँबु, भैँसेपाटी, बुङमती, खोकना, धापाखेल, हरिसिद्धिलगायत खोलामा पुल निर्माण, पैदल यात्रुलाई खानेपानीको व्यवस्थाका लागि वाटर एटिएम निर्माण गर्नेलगायत योजना अघि सारिएको छ ।

त्यस्तै, परम्परागत राजकुलोलाई ब्युँताउँदै टीकाभैरव क्षेत्रबाट लगनखेलसम्म ल्याइने र रातो मत्स्येन्द्रनाथको रुटको संरचना व्यवस्थित गरिने, सत्यमोहन जोसी एकेडेमी स्थापना गर्ने, विद्युतीय सवारी किन्ने कर दातालाई पाँच प्रतिशत छुट दिने महानगरकाे नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ।

सम्पदातर्फ १९९० सालको भूकम्पमा लडेको भाइदेग मन्दिर निर्माण, विश्व सम्पदा क्षेत्रमा रहेका घर तथा भवन पुरातात्विक मापदण्डअनुसार बनाउने, खोकना र बुङमतीलाई सांस्कृतिक एवं पर्यटकीय क्षेत्रका रूपमा घोषणा गर्ने, पाटन दरबार क्षेत्रमा सवारीसाधन निषेध गर्ने, हस्तकला संरक्षणका लागि कला संरक्षण तथा अध्ययन केन्द्र स्थापना गर्ने, मापदण्डबाहिरका भवनलाई मापदण्डमा ल्याउनेलगायत महानगरको तयारी छ । 

एक वडा एक हरियाली उद्यान
ललितपुर महानगरमा पार्क तथा बगैँचाको अभाव छ । यही कारण आगामी वर्ष महानगरले एक वडा एक हरियाली उद्यान निर्माण कार्यक्रम सञ्चालन गर्ने योजना तय गरेको छ । महानगरले हरेक वर्ष पार्क निर्माण, मुख्य सडकका फुटपाथमा बिरुवा रोप्ने, पार्क, उद्यान तथा योगशाला निर्माण गर्ने, परम्परागत चौतारा संरक्षण र निर्माण गर्ने, डिप बोरिङमा लगाइने, विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने, ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोगमा रोक लगाउने, वातावरण प्रहरी कार्यक्रम सञ्चालन गर्ने, बालकुमारी क्षेत्रमा रहेको अस्थायी ट्रान्सफर्मर स्टेसनलाई आधुनिकीकरण गरी क्षमता विस्तार गर्नेलगायत कार्यक्रम अघि सारेको हो । 

ललितपुर महानगरले ०८०/८१ मा घरघरमा एम्बुलेन्स सेवा दिने तयारी गरेको छ । अस्पतालसम्म जान नसक्ने बिरामीको उपचार घरमै गर्ने गरी स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिनेछ ।