१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : लगानीकर्ता सहभागिता वृद्धिमा जोड, नियमनमा कडाइ गर्ने संकेत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:३८:oo

नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा लगानीकर्ताको सहभागिता वृद्धिलाई जोड दिँदै चालू आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम ल्याएको छ । बोर्डको नीति तथा कार्यक्रमले नियमनमा कडाइ गर्ने संकेतसमेत गरेको छ । बोर्डले चालू आर्थिक वर्ष ०८०/८१ का लागि विकासात्मकतर्फ ३० र नियमिततर्फ ४४ कार्यक्रम सार्वजनिक गर्दै साधारण एवं संस्थागत लगानीकर्ताको सहभागितामा जोड दिने तथा नियमन बढाउने संकेत गरेको हो ।

‘धितोपत्र बजार नियमन निकायहरूको अन्तर्राष्ट्रिय संस्थाको मापदण्डअनुसार बजार तथा नियमनलाई स्वच्छ, पारदर्शी तथा लगानीकर्तामैत्री बनाई लगानीकर्ताको हक–हित संरक्षण सुनिश्चित गरी बजारमा साधारण तथा संस्थागत लगानीकर्ताको सहभागिता अभिवृद्धि गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ । 

बोर्डले बजारमा लगानीकर्ता सहभागीता वृद्धि गर्ने उद्देश्यसहित गैरआवासीय नेपालीलाई आकर्षित गर्न कानुन संशोधन गर्ने भएको छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘गैरआवासीय नेपालीको लगानी खुला गर्न धितोपत्रसम्बन्धी कानुनमा आवश्यक संशोधन तथा परिमार्जन गरेर लगानी खुला गर्ने ।’ यस सम्बन्धमा बोर्डले हालै मात्र अध्ययन सकेर प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । 

वस्तु विनिमय बजारलाई कार्यान्वयनमा ल्याउने पुरानै प्रतिबद्धता बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ । वस्तु विनियम बजारमा अनुमतिपत्र प्रदान गर्न मापदण्ड पूरा गरेर संस्थाहरूलाई निश्चित समय दिइने बोर्डले उल्लेख गरेको छ । यसका लागि वस्तु विनिमय बजारसम्बन्धी वस्तु कारोबार व्यवसाय राफसाफ तथा फस्र्योट व्यवसाय, वेयर हाउसलगायतका सम्बन्धमा आवश्यक नीति–नियम तथा निर्देशिकाहरूको तर्जुमा गरिने कार्यक्रममा उल्लेख छ । त्यस्तै, अनधिकृत कारोबारलाई रोक्ने र लगानीकर्तालाई बजारप्रति आकर्षित गर्न संरचनालाई चुस्त बनाउने नीतिमा उल्लेख छ । केही कार्यक्रमहरू पुरानै भए पनि यसपटक कार्यान्वयन गरिछाड्ने नीति ल्याइएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए ।  

बोर्डले बजारलाई प्रतिस्पर्धात्मक वातावरणको विकास गर्न र गैरआवासीय नेपालीको ज्ञान, सीप, पुँजी, प्रविधि र सञ्जाललाई मुलुकको विकास समृद्धिसँग जोड्न पूर्वाधार तयार गर्ने उल्लेख छ । साथै, बोर्डले चालू आवभित्रै साना तथा मझौला कम्पनीको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली तयार गरी कार्यान्वयनमा ल्याउने बताएको छ । साना कम्पनीहरूलाई धितोपत्र निष्कासनका लागि आवश्यक मस्यौदासमेत तयार भइसकेको छ । यसलाई पूर्ण कार्यान्वयनमा ल्याउने तयारी बोर्डको छ ।

नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरीले समग्रमा नीति तथा कार्यक्रम सकारात्मक नै भए पनि कार्यान्वयनमा चुनौती रहेको बताए । उनले भने, ‘अधिकांश कार्यक्रम पुरानै छन्, भाषाशैली मात्र फरक छ, तर नीति र बजार अनुगमनको बाटोलाई गरिएको फोकस स्वागतयोग्य छ ।’ अहिलेको नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने हो भने पुँजी बजारमा नयाँ इँटा थपिने उनको भनाइ छ । त्यस्तै, बोर्डले हरित बन्डलगायतका नवीन वित्तीय औजार निष्कासन गर्न निर्देशिका संशोधन गरिने भएको छ । समग्रमा अहिलेको नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनमा चुनौती देखिएको लगानीकर्ता तथा न्यु ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए ।

बजार अनुगमन एआईमा आधारित गरिने
बोर्डले बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय रूपमा प्रयोग भइरहेको कृत्रिम बौद्धिकता (एआई)मा आधारित सुपरिवेक्षण प्रणालीको प्रयोग गर्न अध्ययन गर्ने भएको छ । त्यस्तै, बोर्डले बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट अनिवार्य मिलान गर्ने व्यवस्था गर्न निर्देशन गरिने बोर्डले जनाएको छ । बोर्डले संघीय संरचनाअन्तर्गत दुईवटा प्रदेशबाट नियमन प्रादेशिक संरचना स्थापना गर्ने भएको छ ।

धितोपत्र बजारसँग सम्बन्धित निकायहरूको कुल संख्याको २० प्रतिशतमा स्थलगत सुपरिवेक्षण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, धितोपत्रलाई विकास र विस्तार गर्न सर्ट सेलिङ, इन्ट्रा डे कारोबार, अक्सन मार्केटलाई कार्यान्वयनमा ल्याउन अध्ययन गर्ने भएको छ । जलविद्युत् कम्पनीहरूका संस्थापक सेयरधनीको लकिङ पिरियड र संथापक सेयरधनीमा भएको परिवर्तन सम्बन्धमा आवधिक जानकारी गराउनुपर्ने व्यवस्था गरिने भएको छ । 

ad
ad