चक्रीय अन्नपूर्ण पदमार्गको मनाङमा पर्यटकको आगमन वृद्धि हुन थालेको छ । पदमार्गमा सन् २०२३ को जनवरीदेखि मे ७ सम्म आठ हजार दुई सय २० जना पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङमा सन् २०२३ को चार महिनामा पाँच हजार ५६ पुरुष र तीन हजार एक सय ६३ महिलाले अन्नपूर्ण पदमार्ग यात्रा गरेका छन् ।
सन् २०२३ को सुरुवातमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका थिए । सन् २०२३ को जनवरीमा ४२ देशका ११८ नागरिकले मनाङ भ्रमणका लागि प्रवेश पाएको तथ्यांक छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गर्छन् ।
लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।
पदयात्राका सौखिनले जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म पदयात्राको राम्रो समयका रूपमा लिइन्छ ।