१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रमेश सुवेदी काठमाडाैं
२०८० बैशाख ९ शनिबार ०६:२०:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

५०औँ एकदिवसीयमा ऐतिहासिक प्रदर्शन

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०८० बैशाख ९ शनिबार ०६:२०:००

एसिसी प्रिमियर लिगमा ओमानमाथि ८४ रनको जित निकाल्दा नेपाली खेलाडीका नाममा व्यक्तिगत तथा अन्तर्राष्ट्रिय कीर्तिमान, नेपालको ५०औँ एकदिवसीय खेलमा सन्दीपको सर्वाधिक छिटो सय विकेट लिने विश्वकीर्तिमान, सर्वाधिक योगफलसँगै कुशल मल्लको छिटो शतक

नेपाली क्रिकेट टोलीले शुक्रबार आफ्नो ५०औँ अन्तर्राष्ट्रिय एकदिवसीय खेल पूरा गरेर मात्रै होइन, खेलाडीहरूले व्यक्तिगत तथा अन्तर्राष्ट्रिय रेकर्ड राखेर खेललाई कीर्तिमानीपूर्ण बनाएका छन् । एसिसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको ओमानविरुद्धको खेलमा नेपाली खेलाडी चार महत्वपूर्ण रेकर्ड राख्न सफल भएका छन् । कीर्तिमानले भरिएको प्रतिस्पर्धामा नेपालले ओमानमाथि ८४ रनको सानदार जित निकाल्यो ।

नेपालले पहिलोपटक ५० ओभरको खेलमा तीन सय रनको योगफल कटाएको छ । पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने थोरै खेलमा एकदिवसीय सय विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । अलराउन्डर कुशल मल्ल नेपाली खेलाडीमध्ये सबैभन्दा छिटो शतक बनाउने खेलाडी भए । व्यक्तिगततर्फ उनले सर्वाधिक १० छक्का प्रहार गरे । 

नेपालको ५०औँ एकदिवसीय खेल
नेपालले आफ्नो ५०औँ एकदिवसीय खेल घरेलु मैदानमा ओमानविरुद्ध खेल्यो । सन् २०१८ मा आइसिसीले नेपाललाई एकदिवसीय मान्यता प्रदान गरेको थियो । एकदिवसीय राष्ट्र भएकै वर्ष नेपालले नेदरल्यान्ड्ससँग सिरिज खेल्यो । १ अगस्ट २०१८ मा भएको आफ्नो पहिलो एकदिवसीय खेलमै नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो । पारस खड्काको कप्तानीमा रहेको नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ले ५१ रन बनाएका थिए । नेपालको ऐतिहासिक पहिलो एकदिवसीय खेलमा वसन्त रेग्मी, शरद भेसवाकर र शक्ति गौचनले राष्ट्रिय टोलीबाट सन्न्यास लिइसकेका छन् । अनिल शाह टोलीबाहिर छन् । विनोद भण्डारी, सुवास खकुरेल, सुशान भारी, अभिनाश बोहरा पनि राष्ट्रिय टोलीबाट बाहिर छन् । ज्ञानेन्द्रसँगै, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आरिफ शेख, करण केसी र सन्दीप लामिछाने नेपालको ५०औँ खेलमा उपलब्ध छन् । 

कम उमेर र कम बलमा कुशलको शतक 
१९ वर्षीय ब्याट्सम्यान कुशल मल्लले ओमानविरुद्ध करिअरकै पहिलो शतक प्रहार गरेका छन् । कुशलले केवल ५९ बलमा शतकीय इनिङ्स खेले । समग्रमा उनले १० छक्का र नौ चौका प्रहार गरे । ओमानविरुद्ध एक सय आठ रन जोडेका उनी इनिङ्सको ४०.४ ओभरमा आउट भए । खेलको म्यान अफ दी म्याच कुशल नेपालका लागि थोरै बलमा शतक बनाउने पहिलो खेलाडी हुन् । नेपाली खेलाडीमध्ये धेरै छक्का प्रहार गर्ने खेलाडी पनि उनी बनेका छन् । यसअघि नेपालका लागि एकदिवसीय खेलमा छिटो शतक कप्तान रोहितकुमार पौडेलले बनाएका थिए ।

पौडेलले सन् २०२२ मा पिएनजीविरुद्ध ९१ बलमा शतक पूरा गरेका थिए । कुशल मल्ल शतक बनाउने छैटौँ नेपाली खेलाडी हुन् । उनीअघि कप्तान रोहित, पारस खड्का, कुशल भुर्तेल, आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले शतक बनाएका थिए । कुशलले सन् २०२० फेब्रुअरीमा अमेरिकाविरुद्ध डेब्यु गरेका थिए । नेपाल ३५ रनले विजयी हुँदा कुशलले डेब्यु खेलमै ५१ बलमा ६० रन र एक विकेटसमेत लिएका थिए । कुशलले २१ एकदिवसीय खेलमा चार अर्धशतक बनाएका छन् । 

नेपाल ७२/४ को कमजोर अवस्थामा रहँदा क्रिजमा उत्रिएका कुशलले केवल २९ बलमा ६ छक्का र चार चौकाको सहयोगमा ५० रन पूरा गरे । कुशलले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ७५, दीपेन्द्रसिंह ऐरीसँग छैटौँ विकेटका लागि २५ तथा सोमपाल कामीसँग सातौँ विकेटका लागि ४९ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याए ।

पहिलोपटक नेपालले कटायो तीन सयको योगफल
ओमानविरुद्ध खेल्नुअघि नेपालले एकदिवसीय खेलमा तीन सय रनको योगफल कटाएको थिएन । यसअघिका ४९ एकदिवसीय खेलसम्म नेपालको सर्वाधिक योगफल नै पपुवा न्युगिनीविरुद्ध दुई सय ९७ रन थियो । तर, आफ्नो ५०औँ एकदिवसीय खेल खेलेको नेपालले स्कोर बोर्डमा समेत रेकर्ड बनायो । नेपालले ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय १० रनको योगफल बनायो । यो नै नेपालले एकदिवसीय क्रिकेटमा बनाएको सर्वाधिक ठूलो योगफल हो । नेपालले गत मार्चमा त्रिवि मैदानमै पपुवा न्युगिनी (पिएनजी)विरुद्ध सर्वाधिक दुई सय ९७ रन बनाएको थियो । यसैगरी नेपालले आफ्नो पाँच वर्षको एकदिवसीय यात्रामा नामिबियाविरुद्ध दुई सय ८७, पिएनजीविरुद्ध दुई सय ८६ र नामिबियाविरुद्ध दुई सय ७८ रन बनाएको थियो । 

प्रतिस्पर्धामा नेपालले इनिङ्सको २२औँ बलमा एक रन बटुलेको थियो । भीम सार्कीले नेपालको स्कोर बोर्डमा रन चढाएका थिए । ओपनर कुशल भुर्तेल आठ बल र १० बल खेलेका आसिफ शेख शून्यमा आउट भए । दुवै ओपनर गुमाउँदासम्म पनि नेपालको स्कोर बोर्डमा शून्य रन नै थियो । भीम र कप्तान रोहितकुमारले ५४ रनको साझेदारी गर्दै नेपाललाई लयमा फर्काएका थिए । भीमले ५६ बलमा ३३ रन बनाए । रोहितले ३४ रनको योगदान गरे । सोमपाल कामीले ४८ बलमा ९ चौकासहित ६३ रनको योगदान गरे । 

सोमपालले एकदिवसीय खेलमा दोस्रो अर्धशतक बनाएपछि नेपालले तीन सय रनको योगफल कटाएको हो । आरिफ र कुशलले ७५ रनको साझेदारी गरे । कुशलले सोमपालसँग ४९ रनको साझेदारी गरे । यसैगरी सोमपाल र करणले नवौँ विकेटका लागि ६१ रनको अविजित साझेदारी गरे । आरिफ र करणले समान २९ तथा रोहितले २३ रन जोडे । लक्ष्य पछ्याएको इनिङ्समा ओमान ४६.३ ओभरमा २२६ रनमा अलआउट भयो । ओमानका मोहम्मद नदिम र सन्दीप गोउडले ९६ रनको साझेदारी गरेका थिए । नदिमले सर्वाधिक ६५ रन बनाए । 

जित निस्कनेमा आत्मविश्वास थियो : करण केसी 
ओमानविरुद्ध सबैले राम्रो खेले । सुरुमै दुई विकेट जाँदा अलि दबाब थियो । तर, पुनरागमन गर्छाैँ भन्ने विश्वास थियो । हाम्रो लक्ष्य एसिया कप हो । यस्तो खेल जित्न साझेदारी नै महत्वपूर्ण हुन्छ । त्यसैले तीन सय बनाउन सफल भयौँ । विकेट राम्रो हुँदा लक्ष्य निकै माथि रहन्छ भन्ने थियो । सुरुमा हामीहरूको लक्ष्य दुई सय ६० रन दिने थियो । तर, साझेदारी राम्रो हुँदा धेरै रन बन्यो । पाकिस्तान र भारतसँग खेल्ने योजना बनाएपछि सेमिफाइनलमा जुनसुकै टोली प्रतिस्पर्धी भए पनि हामी खेल्न तयार छौँ । 

सन्दीपको विश्वकीर्तिमान

लेग स्पिनर सन्दीपले एकदिवसीय इतिहासमै थोरै खेलमा सय विकेट लिने विश्वकीर्तिमान बनाएका छन् । सन्दीपले ओमानसँगको खेलमा १२.३ ओभरमा आदिल सफिकलाई एलबिडब्लू धरापमा पार्दै एकदिवसीय खेलमा सय विकेट पूरा गरेका हुन् ।

सन्दीपले ४२ खेलमा एक सय दुई विकेट लिएका छन् । समग्रमा उनले ओमानविरुद्ध तीन विकेट लिए । यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर रसिद खानको नाममा थियो । रसिदले २५ मार्च २०१८ मा सो सफलता हासिल गरेका थिए ।

रसिदले ४४ खेलमा सय विकेट लिएका थिए । रसिदको विश्वकीर्तिमान पाँच वर्षपछि सन्दीपले तोडे । एकदिवसीय खेलमा अस्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेल खेल्दै सय विकेट लिएका थिए । २०१८ अगस्टमा सन्दीपले नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए ।

१० ओभर बलिङ गरेका सन्दीपले नेदरल्यान्ड्सका ओपनर स्टेफनको विकेट लिए । सन्दीपले एकै इनिङ््समा सर्वाधिक ६ विकेट लिएका छन् । १० सेप्टेम्बर २०२१ मा पपुवा न्युगिनीवरुद्ध ५.१ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ६ विकेट लिँदै दुर्लभ प्रदर्शन गरेका हुन् ।