नेपाल पत्रकार महासंघले झापाका पत्रकारमाथि प्रहरीले गरेको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ। समाचार संकलनका क्रममा झापाका तीनजना पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको थियो।
बुधबार दमकस्थित ओम मेची अस्पतालमा एक सुत्केरीको मृत्युपछि उत्पन्न परिस्थितिका बारेमा समाचार संकलनका लागि अस्पताल पुगेका महासंघ झापा शाखाका कार्यसमिति सदस्य तथा नयाँ पत्रिका दैनिकका संवाददाता चिरञ्जीवी घिमिरे, सदस्यद्वय गोरखापत्र संवाददाता विष्णुप्रसाद पोखरेल तथा हिमशिखर टेलिभिजनका समाचार प्रमुख सुदीप अधिकारीलाई इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले समाचार संकलनमा रोक लगाउँदै दुर्व्यवहार गरेका थिए।
'सुत्केरीको मृत्युजस्तो संवेदनशील विषयमा समाचार संकलनका लागि जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो। संविधानले सुनिश्चित गरेको पत्रकार अधिकार र नागरिकको सुसूचित हुने अधिकारमाथि आघात पुर्याउने यस्ता कार्यमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याएर पत्रकारलाई निर्वाध र सुरक्षित रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ,' महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सरकारी दमक अस्पतालका अध्यक्ष तथा मेयर थापाले उनको निजी अस्पतालमा सुत्केरीको मृत्यु भएपछि भएको छलफलमा समेत पत्रकारलाई निषेध गरेका थिए। यसको विरोधमा पत्रकार महासंघ केन्द्रीय समितिसँगै झापा शाखाले पनि विज्ञप्ति जारी गरेर निन्दा गरेको छ।
यस्तै, पत्रकार मञ्च दमक, प्रेस चौतारी झापा, प्रेस युनियन, समाजवादी प्रेस संगठन र प्रेस मञ्च झापाले पनि विज्ञप्ति जारी गर्दै दुर्व्यवहारमा संलग्नलाई कारबाहीको माग गरेका छन्।