मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १ शुक्रबार
  • Thursday, 19 December, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८o बैशाख १ शुक्रबार o६:१५:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अर्थतन्त्र सुधारोन्मुख, चुनौती कायमै

Read Time : > 6 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख १ शुक्रबार o६:१५:oo

अर्थतन्त्रको बाह्य क्षेत्र सन्तोषजनक अवस्थामा आइपुगेको छ, बाह्य क्षेत्रको सन्तुलनले आन्तरिक अर्थतन्त्रलाई पनि चलायमान बनाउन सहयोग पुर्‍याउने आकलन छ 

डेढ वर्षयता संकटउन्मुख रहेको देशको अर्थतन्त्रमा केही सुधारका संकेत देखिएका छन् । खासगरी अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित बन्दै गएको छ । यद्यपि, आन्तरिक अर्थतन्त्रमा भने चुनौती कायमै छ ।

पर्यटन आगमन उच्चदरमा बढ्न थालेको छ । बैंकमा लगानीयोग्य तरलता बढेको छ भने ब्याजदर घट्न थालेको छ । धान, मकैलगायत कृषिवस्तुको उत्पादन बढेको छ । मूल्यवृद्धि लक्षित सीमाभन्दा तल नै छ । आर्थिक वृद्धिदर साढे चार प्रतिशत हाराहारी हुने प्रक्षेपण आएका छन् । यस्ता सूचकले अर्थतन्त्रमा सुधारको संकेत गरेको नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए ।

‘कोभिडपछि अर्थतन्त्रमा उतारचढाव आयो, अघिल्लो वर्ष हामी संकटोन्मुख अवस्थामा थियौँ । खासगरी हाम्रो अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब परेको थियो, सञ्चिति खस्किएको थियो,’ उनले भने, ‘तर, केही महिनायता अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिएको छ । विदेशी मुद्राको सञ्चिति सन्तोषजनक अवस्थामा पुगेको छ ।’ बाह्य क्षेत्रमा देखिएको सुधारको सकारात्मक प्रभाव अब क्रमशः आन्तरिक अर्थतन्त्रमा पनि देखिने उनले बताए । अर्थतन्त्र सुधारोन्मुख भए पनि जोखिम तथा चुनौती भने कायमै रहेको पनि उनको विश्लेषण छ । 

स्वयम्भूको पृष्ठभूमिमा देखिएको ०७९ को अन्तिम सूर्यास्त । तस्बिर : संजित परियार/नयाँ पत्रिका

गत आर्थिक वर्ष ०७८/७९ को सुरुदेखि नै नेपालको अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप पर्न थालेको थियो । सो आर्थिक वर्षको पहिलो महिना साउनमै नेपालको शोधनान्तर ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा गएको थियो । त्यसपछि शोधनान्तर घाटा निरन्तर बढ्दै गयो । देशमा विदेशी मुद्राको सञ्चिति क्रमशः घट्दै गयो । ०७८ असारमा १३ खर्ब ९९ अर्ब रुपैयाँबराबर रहेको विदेशी मुद्राको सञ्चिति ०७९ असारमा आइपुग्दा १३.१ प्रतिशतले घटेर १२ खर्ब १५ अर्बमा झर्‍यो । आर्थिक वर्षको अन्त्यमा आइपुग्दा ०७९ असारमा शोधनान्तर घाटा दुई खर्ब ५५ अर्ब रुपैयाँबराबर पुग्यो । गत आर्थिक वर्षको सुरुदेखि अन्त्यसम्ममै अर्थतन्त्रको बाह्य क्षेत्र चापमा रहँदाको प्रभाव समग्र अर्थतन्त्रमै परेको हो । 

चालू आर्थिक वर्षको तेस्रो महिनादेखि भने अर्थतन्त्रको बाह्य क्षेत्रको चाप क्रमशः कम हुँदै गयो । विदेशी मुद्राको सञ्चितिमा भइरहेको क्षयीकरण रोकियो । असोज महिनामा शोधनान्तर १२ अर्ब ३४ करोडले बचत भयो । भदौमा ११ खर्ब ९८ अर्ब रहेको सञ्चिति बढेर असोजमा १२ खर्ब ४६ अर्बबराबर पुग्यो । त्यसयता शोधनान्तर बचत निरन्तर बढ्दै गएको छ । फागुनमा आइपुग्दा शोधनान्तर स्थिति एक खर्ब ४८ अर्बले बचतमा छ । त्यस्तै, विदेशी मुद्राको सञ्चितिसमेत निरन्तर बढ्दै गएको छ । ०७९ असारमा १२ खर्ब १५ अर्ब रहेको विदेशी मुद्राको सञ्चिति फागुनसम्म आइपुग्दा १५.२ प्रतिशतले बढेर १४ खर्ब एक अर्बबराबर पुगेको छ । बाह्य क्षेत्रमा देखिएको यो सुधारले आशा जागृत गर्ने राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख एवं कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । 

गत २८ फेब्रुअरीमा अन्तर्राष्ट्रिय मुद्राकोषले गरेको ऋण सहायता समीक्षा बैठकले नेपालको अर्थतन्त्र स्थायित्वतर्फ उन्मुख भएको, वित्तीय जोखिम घटाउँदै लगेको, बाह्य जोखिमको न्यूनीकरण र ऋण व्यवस्थापनको बाटोमा रहेको देखाएको थियो । विश्व बैंक र एडिबीले चालू आर्थिक वर्षमा नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेका छन् । 

तर, बाह्य क्षेत्रमा देखिएको सुधारलाई मात्रै हेरेर अर्थतन्त्रको समस्या समाधान भयो भन्न नमिल्ने पूर्वअर्थसचिव रामेश्वर खनालले बताए । यद्यपि, अर्थतन्त्रको अहिलेको अवस्थालाई ज्यादै नराम्रो पनि भन्न नमिल्ने उनको बुझाइ छ । स्थिति खस्किए पनि छिटो सुधार सम्भव रहेको उनले बताए । ‘अर्थतन्त्रको बाह्य क्षेत्रमा गत पुसदेखि नै सुधार देखिएको थियो, राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले अर्थतन्त्रको बाह्य क्षेत्रको चित्र अझ राम्रो देखाएको छ,’ उनले भने, ‘तर, बाह्य क्षेत्र सुधार हुँदैमा अर्थतन्त्र राम्रो भयो भन्न मिल्दैन, समस्या समाधान भइसक्यो भन्न मिल्दैन ।’ अब सरकारी वित्तमा देखिएको असन्तुलन र बैंकिङ क्षेत्रमा देखिएको ‘खराब कर्जा’को समस्या समाधानतर्फ ध्यान दिनुपर्ने उनले बताए । 

अहिले मुख्यगरी सरकारी वित्त र बैंकिङ क्षेत्रमा समस्या देखिएको खनालले बताए । ‘अघिल्ला अर्थमन्त्रीको गलत नीति र नियतका कारण सरकारले राजस्व गुमायो भने चालू खर्च बढ्न पुग्यो । त्यस्तै, कोभिडपछि बैंक तथा वित्तीय संस्थाले जथाभावी गरेको लगानी असुलीमा समस्या देखिएको छ,’ उनले भने, ‘यी दुवै समस्या ज्यादै गम्भीर होइनन्, डुबी नै हाल्छौँ कि भन्ने होइन, समस्या तत्कालै सुधार गर्न सकिन्छ, बढीमा चार–पाँच महिनामै, तर सुधारचाहिँ थालिहाल्नुपर्छ ।’

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले पनि अर्थतन्त्र आत्तिनुपर्ने अवस्थामा नरहेको बताए । तर, अर्थतन्त्र समस्यारहित भने नरहेको उनको भनाई छ । ‘शोधान्तरमा सुधार आएकोलाई मात्रै राम्रो भन्नुहुँदैन, आन्तरिक अर्थतन्त्र बलियो हुनुपर्छ,’ उनले भने, ‘सरकारले आशा जगाउने काम गर्नुपर्छ, आमधारणालाई पनि सकारात्मक बनाउनुपर्छ ।’

वैदेशिक सहायता प्रतिबद्धता बढ्दै
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुल वैदेशिक सहयोग प्रतिबद्धता एक खर्ब ५१ अर्ब ५२ करोड पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २६ अर्बले बढी हो । फागुनसम्म प्राप्त सहायतामा अनुदानतर्फ ३७ अर्ब ५२ करोड र ऋणतर्फ एक खर्ब १४ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको फागुनसम्ममा कुल वैदेशिक सहयोग प्रतिबद्धता एक खर्ब २६ अर्ब सात करोड थियो । जसमा अनुदानतर्फ नौ अर्ब ४६ करोड र ऋण सहायता प्रतिबद्धता एक खर्ब १६ अर्ब रुपैयाँ थियो ।

लयमा फर्कंदै पर्यटन, भ्रमण आय बढ्यो
कोभिडअघि २०१९ को मार्च महिनासँग तुलना गर्दा पर्यटक आगमन ७८ प्रतिशत ‘रिकभर’ भएको पर्यटन बोर्डले जनाएको छ । २०२३ मार्चमा ९९ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका छन् । जब कि २०२२ मार्चमा ४२ हजार ६ पर्यटक मात्रै भित्रिएका थिए । त्यसअघि २०२१ मार्चमा १५ हजार दुई सय ५४, २०२० मार्चमा ४२ हजार सात सय ७६ र २०१९ मार्चमा एक लाख २७ हजार तीन सय ५१ पर्यटक नेपाल भित्रिएका थिए । कोभिडपछिको तथ्यांक केलाउँदा पर्यटक आगमन लयमा फर्किने स्पष्ट संकेत देखिइसकेको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए । 

सन् २०२३ को पहिलो तीन महिनामा कुल दुई लाख २७ हजार सात सय ५५ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ । जब कि सन् २०२२ मा वर्षभरि ६ लाख १४ हजार पर्यटक आएका थिए । पर्यटन बोर्डका अनुसार यस वर्ष जनवरीमा ५५ हजार ७४ र फेबु्रअरीमा ७३ हजार दुई सय ५५ पर्यटक भित्रिएका छन् । 

यस्तै, समीक्षा अवधिमा भ्रमण आय ९८.६ प्रतिशतले बढेर ३७ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १८ अर्ब ७० करोडबराबर थियो । पछिल्लो समय होटेल अकुपेन्सी बढ्न थालेको व्यवसायीहरूले बताएका छन् ।

चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको गन्तव्य सूचीमा नेपाललाई समेत समावेश गरेको छ । १ फागुनदेखि पर्यटकका रूपमा जान पाइने सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटक बढ्ने सम्भावना छ । भारतपछि धेरै चिनियाँ पर्यटक नै नेपाल आउँछन् । चीनले प्रतिबन्धसमेत खुला गरेपछि अब नेपाली पर्यटन क्षेत्र थप चलायमान हुने व्यवसायीको अपेक्षा छ । कोरोना महामारीपछि चीनबाट पहिलो पटक चार्टर उडानबाट एक सय ८० चिनियाँ नेपाल भ्रमणमा आएका छन् । हिमालयन एयरलाइन्सको चार्टर उडानबाट आएका पर्यटकलाई पर्यटनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेनसोङ र पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । यसले पनि पर्यटन क्षेत्र लयमा आउने संकेत गरेको छ ।

घट्न थाल्यो ब्याजदर
नेपाल राष्ट्र बैंकको तथ्यांकले ब्याजदर घट्न थालेको देखाएको छ । गत माघमा निक्षेपको औसत ब्याजदर ८.४१ प्रतिशत थियो । फागुनमा आइपुग्दा निक्षेपको औसत ब्याजदर ८.३७ प्रतिशतमा झरेको छ । त्यस्तै, माघसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत आधारदर १०.७२ प्रतिशत थियो । फागुनमा आधारदर १०.६४ प्रतिशतमा झरेको छ । कर्जाको औसत ब्याजदर भने माघमा १३.०५ प्रतिशत रहेकोमा फागुनमा पनि कुनै परिवर्तन छैन । यद्यपि, वैशाखदेखि कर्जाको ब्याजदर घट्ने सरोकारावाला बताउँछन् ।

नेपाल बैंकर्स संघले वैशाखदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १.०१ प्रतिशत बिन्दुका दरले घटाउने सहमति गरिसकेको छ । संघको बैठकले व्यक्तिगत मुद्दतीको हकमा ९.९९ प्रतिशत र संस्थागत मुद्दतीमा ७.९९ प्रतिशत ब्याजदर कायम गर्ने निर्णय गरेको हो । हालसम्म मुद्दतीतर्फ ११ प्रतिशत ब्याजदर कायम छ । जसमा १.०१ प्रतिशत बिन्दुका दरले घटाउने निर्णय भएको हो ।

त्यस्तै, बचतको ब्याजदरसमेत घटाइएको छ । बचतमा न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । अहिले बचतमा बैंकहरूले ६ देखि ८ प्रतिशत ब्याजदर दिँदै आएका छन् । राष्ट्र बैंकका अनुसार मंगलबारसम्ममा निक्षेप ४८ खर्ब र कर्जा ४२ खर्ब ८१ अर्ब पुगेको छ । अब कर्जाको ब्याजदर पनि केही सस्तिने बैंकरहरूले बताएका छन् । माघदेखि चैतसम्म घटेको निक्षेपको ब्याजदरका आधारमा बेसरेट जति घट्छ सोही अनुपातमा १ वैशाखदेखि कर्जाको ब्याजदर घट्नेछ । तर, आगामी १ वैशाखदेखि निक्षेपको ब्याजदर घटे पनि यसको प्रभावअनुसार कर्जाको ब्याजदर घट्न भने साउनसम्म कुर्नुपर्नेछ । ब्याजदर घटेर अर्थतन्त्र चलायमान हुने र त्यसले राजस्वसमेत बढाउने राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठको विश्लेषण छ ।

साढे चार प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय संस्थाहरूले चालू आर्थिक वर्षमा नेपालले ४.१ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्ने जनाएका छन् । बहुपक्षीय दातृ संस्था विश्व बैंक र एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने अनुमान गरेका छन् । सरकारले चालू आवमा ४.५ प्रतिशतको आर्थिक वृद्धि हुने संशोधित अनुमान सार्वजनिक गरिसकेको छ । एडिबीले एसियन डेभलपमेन्ट आउटलुकमार्फत र विश्व बैंकले नेपाल डेभलपमेन्ट अपडेटमार्फत यस्तो अनुमान सार्वजनिक गरेका हुन् । 

तर, सरकारी वित्तमा असन्तुलन
अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलनमा आएको भए पनि सरकारी वित्तमा भने असन्तुलन देखिएको छ । राजस्वले चालू खर्चसमेत नधान्ने अवस्था सिर्जना भएको छ । अघिल्लो वर्षको तुनलामा राजस्व घटेको साढे पाँच दशकयतकै पहिलो भएको पूर्वसचिव खनाल बताउँछन् । 

चालू आवको नौ महिना बितिसक्दासमेत सरकारले लक्ष्यको ६६ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चैत मसान्तसम्ममा सात खर्ब एक अर्ब चालू खर्च भएको छ । तर, राजस्व भने ६ खर्ब ६७ अर्ब मात्रै संकलन भएको छ । चालू आवमा उठेको राजस्व गत आवको सोही अवधिको तुलनामा एक खर्ब २२ अर्ब कम हो । 

आर्थिक वृद्धि साढे चार प्रतिशत हाराहारी हुने र मूल्यवृद्धि सात प्रतिशतभन्दा माथि रहँदा पनि राजस्व घट्नु असामान्य भएको उनको विश्लेषण छ । तथ्यांकले राजस्व घट्नुपर्ने देखिँदैन । ‘प्रचलित मूल्यमा १२–१३ प्रतिशत हाराहारीको आर्थिक वृद्धि भएको छ, तर राजस्व गत वर्षभन्दा १६–१७ प्रतिशतले घटेको देखिन्छ । हाम्रो क्षमताभन्दा २१–२२ प्रतिशत कम राजस्व उठेको छ,’ पूर्वसचिव खनालले भने, ‘गत वर्षमा अर्थ मन्त्रालयको सारा संरचना नै ध्वस्त बनाइँदा यस्तो भएको हो । अहिलेको सरकारले यो सुधार्नुपर्छ । डेढ–दुई महिनामै राजस्वमा सुधार ल्याउन सकिन्छ ।’ 

विद्युत् र सिमेन्ट निर्यातको आस
चालू आर्थिक वर्ष ०७९/८० को पुस मसान्तसम्म भारतमा आठ अर्ब ४३ करोड ७७ लाख ८५ हजार रुपैयाँबराबरको विद्युत् निर्यात भएको छ । यद्यपि, हिउँदमा यहाँको उत्पादन कम भएका कारण भारतबाट नै विद्युत् आयात गरिएको छ । तर, आगामी जेठ र असारमा पुनः विद्युत् निर्यात गर्न सकिन्छ । त्यसवेलाको निर्यातलाई समेत जोड्दा चालू आवमा १२ अर्बभन्दा बढी अर्थात् २० अर्ब रुपैयाँको विद्युत् भारतमा निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । 

‘अब भारतसँगको घाटामा रहेको विद्युत् व्यापार पनि नाफामा जानेछ,’ उनले भने, ‘देशको समग्र व्यापार घाटा न्यूनीकरणमा विद्युत् निर्यातले योगदान गर्नेछ ।’ यसले भुक्तानी सन्तुलनमै योगदान गर्ने उनले बताए । 

यसै वर्षदेखि नेपालले सिमेन्ट निर्यात पनि सुरु गरेको छ । वर्षौँदेखि नेपालले सिमेन्ट तथा क्लिंकर आयात गर्दै आएको थियो । तर, आत्मनिर्भर भएपछि निर्यात थालेको हो । चालू आवको आठ महिनामा नेपालले ३१ करोड १७ लाखबराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ । वर्षको अन्त्यसम्म निर्यात अझ बढ्ने व्यवसायीले बताएका छन् । यसले भारतसँगको व्यापार घाटा न्यूनीकरण तथा भुक्तानी सन्तुलनमा समेत सहयोग पुर्‍याउने उनीहरूको दाबी छ ।