
राजनीतिक रूपमा वर्ष ०७९ कस्तो रह्यो ?
चुनावी वर्ष भएकाले संवैधानिक प्रणालीले सुदृढ र स्थिर हुने मौका पायो । निर्वाचनसँगै संविधानको स्वीकार्यता बढ्यो । निर्वाचनमा मतदाताको रुचि कायमै देखियो । अनेकौँ असन्तोषका बाबजुद प्रणालीप्रति विश्वास कायमै रह्यो । तर, राजनीतिक गन्जागोल भने यथावत् छ । सत्ताको चलखेल जारी छ । निर्वाचनपछिका ३–४ महिनासम्म पनि संसद्ले खासै गति लिन सकेको छैन ।
वर्ष ०७९ सँगै यस दशकको पनि अन्त्य भएको छ । यसको कसरी मूल्यांकन गर्नुहुन्छ ?
यही दशकमा संविधानसभामार्फत देशले नयाँ संविधान पायो । देशमा नयाँ संवैधानिक अभ्यास सुरु भयो । दुईवटा आमनिर्वाचन र स्थानीय निर्वाचन सम्पन्न भए । अनेकौँ असन्तुष्टिका बाबजुद निर्वाचनमा मतदाताको उत्साहप्रद सहभागिता कायमै रह्यो । सत्तासीनहरूले ज्यादती गर्दा संवैधानिक प्रक्रियाबाट त्यसलाई रोकियो, सच्याइयो । राजनीतिमा पर्दापछाडिका खेल र आर्थिक लेनदेनका घटना बढे । यसले आमजनतामा निराशा बढायो ।
नयाँ वर्ष (वि.सं ०८०) मा के कस्ता अपेक्षा गर्न सकिएला ?
नयाँ वर्ष या नयाँ दशकमा कुनै ठुलो राजनीतिक छलाङ या परिवर्तनको सम्भावना देखिन्न । जनताले शान्तिपूर्ण रूपमै प्रणालीगत तथा नीतिगत परिवर्तनको खोजी जारी राख्नेछन् । तर, यस क्रममा विद्यमान राजनीतिक व्यवस्थाकै भने विरोध हुने अवस्था देखिन्न । जनताले गरिबी, महँगी, बेरोजगारी, अविकास तथा शोषणविरुद्ध राज्यका संयन्त्र र सरकारको नीतिगत हस्तक्षेपको खोजी गरेका छन् । दल र नेताहरू सच्चियून् भन्ने जनताको अपेक्षा छ ।