नसर्ने रोगको मुख्य कारण बन्दै सुर्तीजन्य पदार्थको प्रयोग
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसार सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउनुपर्ने मान्यता छ, तर नेपालले सुर्तीजन्य वस्तुमा ४१ प्रतिशत मात्रै कर उठाउँदै आएको छ । बजारमा सुर्तीजन्य पदार्थ सर्वसुलभ हुँदा यसबाट निम्तिने स्वास्थ्य जटिलता नियन्त्रणभन्दा बाहिर हुँदै गएको चिकित्सकहरूको भनाइ छ ।
सुर्तीजन्य वस्तुमा करको दर एकैचोटि बढाउन नमिल्ने भएकाले डब्लुएचओको मापदण्ड नपुगेको स्वास्थ्य कर कोषको सचिवालयका अध्यक्ष रेशराज शर्माले बताए । ‘अर्थ मन्त्रालयको करको ट्रेन्डअनुसार प्रत्येक वर्ष बढिरहेको छ । यो वर्ष पनि सुर्तीजन्य पदार्थमा करको दायरा बढाउने भनेर पहल गरिरहेका छौँ । तर, अर्थ मन्त्रालयले आफ्नै मापदण्डअनुसार वस्तुमा करको दायरा बढाउँछ । एकैपटक धेरै कर बढाउन मिल्दैन, तर हामीले सुर्तीजन्य पदार्थमा कर सकेसम्म धेरै बढाउने कोसिस गरिरहेका छौँ,’ उनले भने । हाल सुर्तीजन्य पदार्थमा भारतले ५३ प्रतिशत, पाकिस्तानले ५६ प्रतिशत, बंगलादेश र श्रीलंकाले ७०–७० प्रतिशत कर उठाउँछन् ।
सुर्तीजन्य पदार्थको प्रयोगका कारण नसर्ने रोगको जोखिम बर्सेनि बढिरहेको विभिन्न तथ्यांकले देखाउने गरेको छ । हाल देशभर ३२ प्रतिशतभन्दा बढी जनसंख्याले सुर्तीजन्य पदार्थ सेवन गरिरहेको अनुमान गरिएको छ । नेपालमा वयष्कको २९ प्रतिशत जनसंख्याले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । नेपालमा बर्सेनि हुने कुल मृत्युको करिब २० प्रतिशत मृत्युको कारण सुर्तीजन्य पदार्थको सेवनलाई मानिन्छ ।
नेपाल विकास अनुसन्धान परिषद्को तथ्यांकअनुसार हाल कुल मृत्युको ७० प्रतिशतभन्दा बढी नसर्ने रोगले ओगटेको छ । जसमध्ये पनि बर्सेनि सुर्तीजन्य पदार्थको सेवनबाट हुने रोगका कारण ३७ हजारभन्दा बढीले मृत्युवरण गर्छन् ।
सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगका कारण स्वास्थ्य समस्या बढ्दै गएको र सोही दरमा मृत्युदर पनि बढिरहेको तथ्यांकले देखाउँछ । पछिल्लो ३० वर्षको अन्तरालमा मात्रै नसर्ने रोगका कारण हुने मृत्यु ६० प्रतिशतले बढेको देखिन्छ । यदि सुर्तीजन्य पदार्थको प्रयोग यही दरमा बढ्दै जाने हो भने आगामी ३० वर्षमा बर्सेनि १३ लाख ४० हजारको मृत्यु हुने अनुमान गरिन्छ ।
रोगको भार थोपरिरहेको सुर्तीजन्य पदार्थ बजारमा सहजै बिक्री–वितरण भइरहे पनि नियन्त्रण चासोको विषय नबनेको स्वास्थ्यविज्ञहरूको भनाइ छ । सुर्तीजन्य पदार्थसम्बन्धी समस्या निवारणमा सरकारको ध्यान पुग्न नसक्दा यसको प्रयोग स्वास्थ्यमा मुख्य चुनौतीको रूपमा बढ्न थालेको नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष महेश श्रेष्ठले बताए । ‘विश्वकै तुलनामा हामी सुर्तीजन्य पदार्थमा कर कम गर्ने र सबैभन्दा धेरै सुर्तीजन्य पदार्थको प्रयोगबाट मृत्यु हुने देशमा गन्निन्छौँ । तर, सरकारी तवरबाट होस् वा अन्य सरोकार निकायवालाहरूले यसबारे चासो दिएको पाइँदैन,’ उनले भने । हाल २४ वर्षमुनिका करिब आठ लाख जनसंख्याले चुरोटलगायतको सुर्तीजन्य वस्तुको प्रयोग गरिरहेको एनएचआरसीको तथ्यांकले देखाएको छ । तर, चुरोट र सुर्तीजन्य पदार्थहरू बजारमा सजिलै उपलब्ध हुँदा प्रयोगकर्तासमेत अत्यधिक रहने र यसको स्वास्थ्यमा पार्ने प्रभावसमेत उच्च रहने भए पनि राज्यले यो विषयलाई बेवास्ता गर्दै आएको विज्ञहरूले बताउँदै आएका छन् ।
सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर रोग बढाउँदै
फोक्सो, श्वासप्रश्वास, मुख, घाँटीलगायतका क्यान्सर प्रभावितको संख्या बढ्नुमा चुरोटलगायतका सुर्तीजन्य वस्तुको प्रयोग मुख्य कारण रहेको चिकित्सकहरूको भनाइ छ । क्यान्सर प्रभावितको संख्या बढेसँगै उपचारमा आर्थिक भारसमेत बढिरहेको अध्ययनले देखाएका छन् ।
एक्सन नेपालको पछिल्लो अध्ययनअनुसार सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगको पहिचान र उपचारमा एक व्यक्तिको खर्च सरदर नौ लाख ८१ हजार तीन सय ७० रुपैयाँ लाग्ने पाइएको छ । सुर्तीजन्य पदार्थको सेवनले गर्दा क्यान्सर भएको पुष्टि भएका केसहरूमा गरिएको अध्ययनले १८ वर्षदेखि ६५ वर्षसम्म उमेर समूह प्रभावित भएको पाइएको छ । यसबाहेक क्यान्सर भएको तेस्रो र चौथो चरणमा मात्रै उपचारका लागि अस्पताल पुग्ने बिरामीको दर अत्यधिक रहेको र जसमध्ये उपचारका लागि घरजग्गा बेच्नुपर्ने अवस्था रहेको अध्ययनले देखाएको थियो ।
एक्सन नेपालले देशभरका विभिन्न क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गरिरहेका एक सय तीनजनामा गरेको सर्वेक्षणमा करिब १६ प्रतिशतले उपचारका लागि घरजग्गा बेचेको पाइएको थियो । क्यान्सर रोग विशेषज्ञ डा. रश्मी पुनले नेपालमा मात्रै नभई विश्वभर सुर्तीजन्य पदार्थको प्रयोगका कारण क्यान्सर प्रभावितहरू बढिरहेको बताइन् । उनका अनुसार सुर्तीजन्य पदार्थ, मद्यपान र धूम्रपानको अत्यधिक सेवन हुने स्थानमा मुख, फोक्सोलगायतका क्यान्सर बढी देखिएका छन् । ‘चुरोट र गुट्खाजन्य वस्तुको प्रयोगका कारण विशेष गरी युवाहरू मुखको क्यान्सरबाट प्रभावित भइरहेका छन् । ग्लोबल क्यानको २०२० को तथ्यांकले नेपालमा २० हजार पाँच सय आठजना क्यान्सर प्रभावितमध्ये दुई हजार तीन सय २७ जनामा मुखको क्यान्सर देखिएको थियो । जब कि त्यो वर्ष मुखको क्यान्सरबाट मृत्यु हुनेको संख्या नै एक हजार ७० थियो,’ उनले भनिन् ।