१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २३ बिहीबार
  • Sunday, 29 September, 2024
२o७९ चैत २३ बिहीबार १२:१६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बजार खोज्दै अचार उद्यमी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २३ बिहीबार १२:१६:oo

गुल्मीदरबार गाउँपालिका– १ जुभुङकी ४० वर्षीया सरस्वती गौतम मंगलबार अचार बोकेर गाउँपालिका आइन्। 

सभाहलमा उपस्थित गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले गौतमको अचार किनेर लगे। उनी गाउँपालिकाको अचार बनाउने उद्यमी हुन्। पालिकाकै तालिमबाट उनी उद्यमी बनिन्।

उनले अचारभन्दा पहिले मुढा बुन्ने र अगरबत्ती बनाउने तालिम पनि सिकेकी थिइन्। सीपलाई उपयोग भने गरिनन्। तर, अचार बनाउने तालिमले गौतम उत्साहित बनिन्। एक हप्ताको तालिमले मेथी, लसुन, मिक्स, आँप, तामा, कागती र अमलालगायतका अचार बनाउन सिकेपछि आफैँ व्यावसायिक बन्ने सोँच आयो। 

गाउँमा अचार बनाएपछि अवलोकनका लागि पुगेको गाउँपालिकाले टोलीले गौतमको जोसमा उत्साह थप्यो। जसका कारण सरस्वती र निशा पौडेल गौतम मिलेर गाउँपालिकामा दिदी–बहिनी अर्गानिक अचार उद्योग दर्ता गरे। सरस्वती र निशा देउरानी र जेठानी हुन्। उनीहरूले अचारको लेबलिङ गरेका छन्। 

उत्पादित अचार बोकेर रुरु मेलादेखि स्थानीय बजारमा पुगे। तर, सोचेअनुसारको बिक्री नभए पनि निराश बने। बजारमा कलरले चिटिक्क पारिएको अचारसँग स्थानीय अचारले बजार पाउन मुस्किल छ। थुप्रैपटक अचार नबिकेर फाल्नुपरेको दुःखेसो गौतमले गरिन्। 

बट्टा, मसला र मिक्चर, कराईलगायत अचारको कच्चा पदार्थ खरिदमा थुप्रै रकम लागे पनि सोचेअनुसारको अचार बिक्री नभएपछि गाउँपालिकासँग समन्वय गरेर व्यवसायको आगामी रणनीति बनाउने गौतमले बताइन्। उनले पछिल्लोपटक पनि थुप्रै अचार बनाएकी छिन्। उनी रहर पालिकामा आएकी होइनन्। उत्पादनको बजारीकरणको ध्यानाकर्षण गराउन गाउँपालिकामा आएको गौतमले बताइन्।

‘पालिकाले सीपसँगै बजारीकरणमा सहयोग नगरे उद्यमी विस्थापित बन्छन् । मैले पनि आगामी दिनमा व्यवसायबारे सोच्नपर्ने स्थिति रह्यो,’ उनले भनिन्, ‘खरिद गर्नेभन्दा गाउँमा चाख्ने धेरै छन्।’

उनका श्रीमान् दीपक गौतम मलेसियाबाट फर्किएर घरमै छन्।  सानो पसल र किसानी कर्मबीच देउरानीसँग मिलेर अचार बनाउन अगाडि बढेकी सरस्वतीले गाउँपालिकाले सहयोग गरे निरन्तर व्यवसाय अगाडि बढाउने बताइन्। 

गाउँपालिकाले अचार बनाउने तालिमसँगै लघु उद्यम कार्यक्रममार्फत उद्यमी सिर्जना गर्ने काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए। लघु उद्यमअन्तर्गत तरकारी खेती उत्पादन, पशुपालन, सिलाइकटाइ, डलकुसनलगायत साना उद्यम व्यवसायमा गाउँपालिकाले काम गरिरहेको पाण्डेयले बताए। 

उनले गत वर्ष ९३ जना उद्यमी सिर्जना गरेको र यो वर्ष ४० जनालाई स्तराेन्नति तथा ८० जना नयाँ उद्यमी तयार गरिने बताए। पालिकाको तर्फबाट तालिम तथा उत्पादनको बजारीकरणको काम भएकाले नजिकका बजार, सहकारी र कोसेली घरहरूमा बिक्रीको सहजीकरण भइरहेको छ। पाण्डेका अनुसार केही समयमा उत्पादनको बजार ग्यारेन्टीसहित पोस्करबाट झोला र टोपी बनाउने तालिम सञ्चालन गर्ने योजना पालिकाको छ।