सर्वाेच्च अदालतले पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी विवाद मुद्दामा विपक्षीसँग कारण माग गरेकाे छ। बुधबार न्यायाधीश हरि फुँयालको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसहितका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
राहदानी विवादमा लामिछानेविरुद्ध अधिवक्ता युवराज सफलले सोमबार रिट दर्ता गरेका थिए। रिटमा महान्यायाधिवक्ताको कार्यालय, महान्यायाधिवक्ता दीनमणि पोखरेल, जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय नक्साल, जिल्ला प्रहरी परिसर टेकु र निर्वाचन आयोगका साथै रवि लामिछानेलाई विपक्षी बनाइएको छ।
महान्यायाधिवक्ता पोखरेलले प्रहरी प्रतिवेदनका आधारमा प्रमाण नपुग्ने भन्दै ६ चैतमा लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय गरेका थिए। यही निर्णय खारेज गर्दै मुद्दा दायर हुनुपर्ने माग रिटमा गरिएको छ।