
आउँदो नयाँ वर्ष ०८० सालको अवसर पारेर भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–०७९/८०’ आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा महोत्सव हुन लागेको हो ।
महोत्सव चैत २३ गतेदेखि ०८० साल वैशाख ३ गतेसम्म गरी ११ दिन चल्ने महोत्सवका संयोजक दीपक थापाले बताए । उनले भने, ‘हामीले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेका हौँ ।’ भक्तपुरको सल्लाघारीमा रहेको नेपाल ट्रस्टको जग्गामा महोत्सव हुने जनाइएको छ ।
महोत्सवमा दुई सयभन्दा बढी स्टल रहने उल्लेख छ । यहाँ दैनिक प्रयोगमा आउने उपभोग्य सामग्री, खाद्यान्न, विभिन्न्न प्रकारका लत्ताकपडाका स्टलहरू रहने संयोजक थापाले बताए । त्यस्तै, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।
त्यस्तै, अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानहरूको स्टल रहने तथा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको महतको भनाइ छ । त्यस्तै, बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दर्जनौँ राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक र हास्यव्यंग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने जनाइएको छ ।
महोत्सवमा करिब पाँच लाख उपभोक्ताले अवलोकन गर्ने तथा १० देखि १२ करोड रुपैयाँको कारोबार हुने आयोजकले अनुमान गरेका छन् । प्रवेश शुल्क ५० र ७० रुपैयाँ तोकिएको तथा विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताए ।