मकवानपुरको विकट गाउँपालिका राक्सिराङले दुर्गम क्षेत्रका सर्वसाधारणका लागि पालिकाले प्रदान गर्दै आएका सेवाहरूमा सहज पहुँच पुर्याउन एकीकृत शिविर सुरु गरेको छ।
पालिकाको विकट क्षेत्रमा बसोबास गर्ने आमनागरिकलाई स्थानीय सरकारका सबै किसिमका सेवामा पहुँच पुर्याउने उद्देश्यले घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रूपमै भुक्तानीसम्मका सेवा सुरु गरेको हो।
पालिकाले यही फागुन २९ गते सोमबारबाट सुरु गरेको शिविर यही चैत्र ६ गते, १४ गते र २२ गते गरी ४ दिनसम्म सञ्चालन गर्ने पालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए। अध्यक्ष मल्लले ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ शिविर थालिएको बताए।
‘ज्येष्ठ नागरिक तथा अशक्त तथा हिँड्न नसक्ने बिरामीहरूको घरघरमै पुगी स्वास्थ्य जाँच र निःशुल्क औषधि वितरण गरेका छौँ। खरको छानोमुक्त अभियानअन्तर्गत खरको छाना भएका परिवारलाई घरमै पुगी जस्तापातासमेत वितरण गरेका छौँ।’ अध्यक्ष मल्लले भने। उनले सोमबार मात्रै ६ वटा परिवारलाई घरघरमै जस्तापाता पुर्याइएको जानकारी दिए।
अध्यक्ष मल्लाका अनुसार एकीकृत शिविरमै व्यवसाय दर्ता, अपांगता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, गरिब घरपरिवार परिचयपत्र वितरणसमेत गरिएको थियो।
८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीहरु घरघरमै पुगी पोसिलो आहार तथा उपयोगी सामग्रीहरूसमेत हस्तान्तरण गरेको उनले बताए।
यसैगरी, पालिकाले सोमबार ४ नम्बर वडा कार्यालयमा एमबिबिएस डाक्टरसहितको स्वास्थ्य सेवा र निःशुल्क औषधि वितरण छ। शिविरबाट पालिकाले स्थानीयलाई उन्नत जानका तरकारीका बिउ, पशुमा लाग्ने विभिन्न रोगविरुद्धको औषधि निःशुल्क उपलब्ध गराएको छ।
शिविरमा २१९ जनाको निःशुल्क स्वास्थ्य जाँच, २०४ जनालाई आयुर्वेद सेवाका साथै निःशुल्क औषधि वितरण गरिएको राक्सिराङ अस्पतालका सिनियर अहेब यमप्रसाद गौतमले जानकारी दिए। डा. गौतमका अनुसार ११ जना गर्भवतीलाई भिडियो एक्सरेको सुविधान प्रदान गर्नुका साथै ५ जना महिलालाई परिवार नियोजनको अस्थायी साधन आयुसिडी र इम्प्लान्ट लगाइएको छ।
गाउँपालिकाले चैत ६ गते ९ नम्बर वडा कार्यालय डन्टार, ६, ७ र ८ नम्बर वडाका लागि वडा नम्बर ७ स्थित जुरेथुममा चैत १४ गते र वडा नम्बर १ र २ का लागि चैत २२ गते राक्सिराङ १ दुंगुमा एकीकृत शिविरको आयोजना गर्ने अध्यक्ष मल्लले जानकारी दिए।