मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २२ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २२ सोमबार १३:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सभ्य र भव्य बन्दै होली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २२ सोमबार १३:५३:oo

केही वर्षअघिसम्म फागुपूर्णिमा (होली)मा मानिसको इच्छाविपरीत रङ दल्ने, पानीका लोला हान्ने गरिन्थ्यो। केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ। 

सडकमा फागु खेल्ने प्रायः बालबालिकादेखि युवाले विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन्। समूहमा मर्यादित रूपमा हाेली खेल्ने संस्कृतिकाे विकास हुँदै गएकाे छ।   

यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले विशेष रूपमा होली अर्थात् फागुपूर्णिमा पर्व मनाइरहेका छन्। वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई बेलुकी विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। 

उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ। 
   
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रंगीचंगी ध्वजापताकाका साथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु भएको थियो। 

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ। 
  
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी, तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। 

त्यसै वेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ। 
  
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताए। 

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ। बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मुल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ। 
 
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँडरक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ । प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराईका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ ।

 २७ हजार सुरक्षाकर्मी परिचालन    

फागुपूर्णिमाका अवसरमा देशभर सामान्य सुरक्षाका लागि बाहेक २७ हजार सुरक्षाकर्मी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले रासससलाई जानकारी दिए।  

होलीका अवसरमा अहिलेसम्म देशभर कुनै अप्रिय घटना भएको छैन। राजधानीलगायत मुख्य सहरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । राजधानीमा नियमितबाहेक पनि ६६ भन्दा बढी स्थानमा जाँच गरिरहेको प्रहरीले जनाएको छ।
 
यस वर्ष विगतमा भन्दा फागु पर्व सभ्य देखिएको प्रहरी प्रवक्ता पोखरेलले बताए। अहिलेसम्म उच्छृंखल गतिविधि गर्ने कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छैन।