मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ५ शुक्रबार
  • Wednesday, 18 December, 2024
२o७९ फाल्गुण ५ शुक्रबार १६:५६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अन्नपूर्ण पदमार्गमा एक वर्षमा  १६ हजार विदेशी पर्यटक भित्रिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ५ शुक्रबार १६:५६:oo

चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ जिल्लामा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङले जनाएको छ ।

अन्नपूर्ण पदमार्गमा  २०२२ को जनवरीमा ४१, फेब्रुअरीमा एक सय ६९, मार्चमा एक हजार दुई सय ३१, अप्रिलमा दुई हजार तीन सय ८२, मेमा एक हजार ९६, जुनमा एक सय ९५, जुलाईमा एक सय ९६, अगस्टमा तीन सय ६७, सेप्टेम्बरमा दुई हजार ९२, अक्टोबरमा चार हजार ६ सय ५४, नोभेम्बरमा दुई हजार नाै सय ८१ र डिसेम्बरमा चार सय ९९ पर्यटक घुम्न आएका एक्यापको तथ्यांक छ ।

सन् २०२१ मा भन्दा २०२२ मा ६ गुणा बढी पर्यटक मनाङ घुम्न आएका एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बताए । उनका अनुसार २०२१ मा दुई हजार तीनसय ७६ मात्र पर्यटक मनाङ भित्रिएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार सन् २०२१ मा भन्दा २०२२ मा १३ हजार ६ सय २७ जना बढी पर्यटक आएका छन् । 

त्यस्तै, सन् २०२० मा एक हजार नौ सय ७६ जना पर्यटक आएका थिए  । केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६ सय ४७, सन् २०१८ मा २९ हजार चार सय ८४ र सन् २०१७ मा २१ हजार ६८ पर्यटक पदमार्गमा आएका थिए । सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना संक्रमणका कारण पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गर्छन् ।

लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङपास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदमार्गको यात्रा पूरा हुन्छ ।

पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।