१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
बिर्तामोड– ७ मा बगान फाँडेपछि खाली रहेको जग्गा । तस्बिर : नयाँ पत्रिका
२०७९ माघ २६ बिहीबार ०६:१८:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

भूउपयोग नीतिको त्रास : आवास क्षेत्र बनाउन बिर्तामोडमा २०० बिघा चियाबगान फँडानी

तीन सयभन्दा बढी चिया मजदुरको बिचल्ली

Read Time : > 3 मिनेट
२०७९ माघ २६ बिहीबार ०६:१८:००

बाली लगाएको हिसाबले उत्पादनको उत्कर्षमा पुगेको २३ वर्षे चियाबगान फँडानी गरेर बिर्तामोड– ७ का चतुरराज प्रसाईंले जमिन खाली बनाएका छन् । सरकारले ल्याएको भूउपयोग नीतिका कारण सपना बुनेर लगाएको चिया फाँड्नुपरेको उनको गुनासो छ । ‘२०५६ मा चिया लगाएको थिएँ । चियाको उमेर सय वर्षको हुन्छ । २०–३० वर्षमा त धेरै उत्पादन दिने उमेर हो । तर, बाध्य भएर मास्नुपर्ने अवस्था आयोे,’ उनले भने, ‘मंसिर २३ गतेसम्म सिफारिस गरेर पठाउनुपर्छ भनेर स्थानीय तहले भन्यो ।

ड्रोनले फोटो लिएको रहेछ हरियाली भएकोमा कृषि क्षेत्र र नभएकोमा आवास क्षेत्र भनेर छुट्याइएको रहेछ । मेयर, प्रमुख प्रशासकीय अधिकृत पनि आउनुभएको थियो । हामीले सोध्दा कित्ताकाट हुँदैन, बिक्री निरुत्साहित गरिन्छ भन्नुभयो । त्यसकारण फाड्यौँ ।’ भूवर्गीकरणपछि कृषिलाई प्राथमिकतामा राख्न स्थानीय तहका कार्यक्रम के छन् भनेर प्रश्न गर्दा जवाफ नपाएपछि आवास क्षेत्रमा राख्न बगान फँडानी गरिएको उनले बताए । 

बिर्तामोड–७ कै हरि न्यौपानेको परिवारले पनि ६ बिघामा लगाएको चियामा भविष्य नदेखेपछि उक्त जग्गालाई कृषिमा राख्नुभन्दा आवास क्षेत्रमा राख्न फाइदा देखे । ‘साना किसानलाई चियामा केही फाइदा छैन । समयमा मल पाइँदैन । चिया उद्योग टाढा छन् । उत्पादन खर्च पनि नधानेर घाटामा उत्पादन गर्नुपरेको थियो,’ उनी भन्छन्, ‘हाम्रो परिवारको ६ बिघामा चियाखेती थियो । अंशबन्डामा एकजनालाई डेढ बिघा पर्छ । त्यति पनि पछि कित्ताकाट भएन भने छोराछोरी कसरी पढाउने ? त्यसैले बाध्य भएर चिया मास्यौँ ।’

भूउपयोग नियमावलीअनुसार स्थानीय तहले बनाउँदै गरेको नीतिका कारण चिया क्षेत्रका साना किसान सशंकित भएका छन् । नीतिको कारण देखाउँदै बिर्तामोडको दक्षिणी क्षेत्रका साना किसानले झन्डै दुई सय बिघा क्षेत्रफलमा लगाएको चिया फँडानी गरिसकेका छन् । वार्षिक तीन करोड आम्दानी हुने बगान फाड्न बाध्य भएको किसानहरूको गुनासो छ । बिर्तामोडको वडा नम्बर ७ र १० मा सबैभन्दा धेरै बगान फाँडिएको छ । बिर्तामोड–७ का मात्र झन्डै एक सय बिघा चियाबगान मासिकको वडाध्यक्ष कृष्ण अविरल खरेलले बताए । ‘चिया व्यवसायीमा भूउपयोग नीतिले त्रास भयो । कृषिमा गएपछि हामी आवासीयमा जान पाइँदैन भन्ने लागेर बगान फँडानी गर्नुभयो,’ उनले भने । 

भूउपयोग नियमावलीमा उल्लेख भएको कृषि क्षेत्रमा दुई कट्ठा मात्र जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्थाले साना किसान सशंकित भएका छन् । भूउपयोग नियमावलीको दफा १२ मा कृषि क्षेत्रमा वर्गीकरण गरिएको वा कृषि क्षेत्रमा तोकिएको जग्गालाई तराई तथा भित्र मधेसमा ६७५ वर्गमिटर अर्थात् करिब दुई कट्ठा क्षेत्रफलभन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने उल्लेख छ । ‘दुःख गरेर लगाएको दश विघा चिया फँडानी गर्‍यौँ ।

 

मेयर–उपमेयरले एरियल सर्भेको फोटो देखाएर तपाईंको बगान कृषिमा परेको छ, कृषिमा परेपछि दुई कट्ठाभन्दा बेच्न र घर बस्न पाइँदैन भनेपछि फँडानी गर्‍यौँ । कृषिमा हुँदा र आवासमा हुँदा के फाइदा हुन्छ भन्ने स्पष्ट भएन । नीति राम्रो नभएपछि जानाजान फँडानी गर्‍यौँ,’ बिर्तामोड–७ का रञ्जन प्रसाईंले भने । बिर्तामोड–७ मा अब चियाबगान नै बाँकी नरहेको उनले बताए । बगान फाँड्न उल्टै खर्च लागेको प्रसाईं बताउँछन् । ‘चियाबगान फाँड्न अहिलेसम्म तीन लाख खर्च लाग्यो,’ उनले भने, ‘अब जरा उखेल्न अझै तीन लाख लाग्छ ।’

साना किसानका चियाबगान फँडानी हुनुमा स्थानीय सरकारको भूमिका रहेको साना किसान चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष हर्क तामाङले बताए । ‘कानुनमा हुँदै नभएको कुरा बताएर जनप्रतिनिधि र कर्मचारीले साना किसानलाई तर्साए,’ उनी भन्छन्, ‘यसमा ठूलो चलखेल छ । चियामा नोक्सानी छ भनेर देखाएर गिरीबन्धु चियाबगान फाँड्ने योजना देखिन्छ ।’

भूउपयोग नीतिलाई लिएर कतिपय बगान सञ्चालक साना किसानले जग्गा प्लटिङको मौकाको रूपमा सदुपयोग गर्न खोजेको चिया श्रमिक नेता भुपाल सापकोटा बताउँछन् । ‘कतिपयलाई वर्गीकरणको समस्या पनि छ । कतिपय भिटा प्लटिङवालाले चियामा फाइदा भएन भन्ने बहाना पनि गरेका छन्,’ सिवाकोटीले भने । 

भूउपयोग नियमावलीले चिया उखाल्नैपर्ने बाध्यता नल्याएको चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए । ‘आवास क्षेत्र भनेर छुट्याए तापनि आवासका लागि उपयोगमा नआउन्जेल कृषिबाली भए त्यसमा केही असर नपुग्ने र त्यसको स्वीकृति स्थानीय समितिबाट लिनुपर्ने नियमावलीमा उल्लेख छ,’ उनले भने, ‘उखेल्नैपर्छ भन्ने बाध्यात्मक अवस्था त छैन । यहाँ गलत बुझाइ या कसैको इन्ट्रेसको कारणले फँडानी भएको हुन सक्छ ।’ 

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले नगरपालिकाले कसैलाई पनि चिया फँडानी गर्न नभनेको बताइन् । ‘हामीले कसैलाई पनि चियाबगान फाँड्नु भनेर भनेकै छैन । व्यक्तिको चियाबगान आफ्नो इन्ट्रेस्टले फाँडे भने हामीले त्यसको रिस्क पनि लिँदैनौँ । कसले कहाँ फँडानी गर्‍यो हामीसँग सूचना पनि छैन,’ उनले भनिन्, ‘हामीले अर्को नीति कार्यविधि ल्याएर निरुत्साहित पनि गरेका होइनौँ । संघीय सरकारको नियमावली र ऐनमा यस्तो छ तपाईंहरू पढ्नुस् भनेका हौँ । त्यो निरुत्साहित वा उत्साहित भयो कि नेपाल सरकारले जान्ने विषय हो ।’ बिर्तामोड नगरपालिकाले भूउपयोग कार्यविधिमाथि छलफल गरेर तयार गर्ने प्रक्रियामा रहेको उनले बताइन् । 

बगान फाँडेपछि मजदुरको बिचल्ली 
बगान मासेपछि मजदुर भने बिचल्लीमा परेका छन् । बिर्तामोड क्षेत्रमा दुई सय बिघा बगान फँडानी गर्दा झन्डै तीन सय मजदुर कामविहीन हुन पुगेका छन् । ‘यहाँ काम गर्दा घरपरिवार चलाउन सहज भएको थियो । १७–१८ वर्ष काम गरेर बगान राम्रो बनाएका थियौँ । पत्ती टिप्ने वेलामा चार सय र पत्ती नहुँदा २५० जना हाजिरा बसेका थियौँ ।

हामीले यही खर्चले छोराछोरी पढाएका थियौँ,’ बिर्तामोड–७ की मीना ऋषिदेवले भनिन्, ‘चियाबगान फाँडेपछि हामी बेरोजगार भयौँ । बाहिर पनि काम पाइँदैन । मन अमिलो भयो । तर, अर्काको बगान नफाँड भन्न पनि नसकिनेरहेछ ।’बगान फाँडेपछि मजदुरको व्यवस्थापनमा चुनौती भएको बिर्तामोड– ७ का वडाध्यक्ष कृष्ण अविरल खरेलले बताए ।

कसैलाई चियाबगान फाँड्नु भनेका छैनौँ
 पवित्रा महतरा प्रसाईं
प्रमुख, बिर्तामोड नगरपालिका  

हामीले कसैलाई पनि चियाबगान फाँड्नु भनेर भनेकै छैन । व्यक्तिको चियाबगान आफ्नो इन्ट्रेस्टले फाँडे भने हामीले त्यसको रिस्क पनि लिँदैनौँ । कसले कहाँ फँडानी गर्‍यो हामीसँग सूचना पनि छैन । संघीय सरकारको नियमावली र ऐन पढ्नुस् भनेका हौँ । त्यो निरुत्साहित वा उत्साहित नेपाल सरकारले जान्ने विषय हो ।

जग्गा बेच्न नपाइने भएर बगान फाँड्याैँ
 चतुरराज प्रसाईं चिया किसान

ड्रोनले फोटो लिएर हरियाली भएकोमा कृषि क्षेत्र र नभएकोमा आवास क्षेत्र छुट्याइएको रहेछ । मेयर, प्रमुख प्रशासकीय अधिकृत पनि आउनुभएको थियो । हामीले सोध्दा कृषि क्षेत्रमा कित्ताकाट हुँदैन, जग्गा बिक्री निरुत्साहित गरिन्छ भन्नुभयो । त्यसकारण फाँड्यौँ ।

जनप्रतिनिधिले किसानलाई तर्साए 
 हर्क तामाङ अध्यक्ष, साना किसान चिया उत्पादक सहकारी संस्था 

कानुनमा हुँदै नभएको कुरा बताएर जनप्रतिनिधि र कर्मचारीले साना किसानलाई तर्साए । यसमा ठूलो चलखेल छ । चियामा नोक्सानी छ भनेर देखाएर गिरीबन्धु चियाबगान फाँड्ने योजना देखिन्छ ।