मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० जेठ ४ बिहीबार ०८:३७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटकको रोजाइमा घलेगाउँको चियाबगान : दुई सय रोपनीमा चियाखेती

Read Time : > 1 मिनेट
२०८० जेठ ४ बिहीबार ०८:३७:००

समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको लमजुङको घलेगाउँको चियाबगान आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्ने गरेको छ । क्व्होलासोँथर गाउँपालिका–३ मा पर्ने घलेगाउँको चियाबगानमा दैनिक दर्जनौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् ।

चियाबगानलाई गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा लिएको क्व्होलासोँथर गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर गुरुङले बताए । ‘पहिला यहाँको प्रकृति, संस्कृति हेर्न पर्यटक आउँथे, अहिले चियाबारी हेर्न पनि आउन थालेका छन्,’ गुरुङले भने, ‘पर्यटकीय उत्पादन बढ्दा निकै खुसी छौँ ।’ चियाबारी हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको घलेगाउँकी यमुना घलेले बताइन् । ‘देश–विदेशबाट चियाबगान हेर्न मान्छे आउँछन्,’ गुरुङले भनिन्, ‘गाउँलाई फाइदै भएको छ ।’ गाउँमा पाहुनालाई स्वागत सत्कारसँगै अहिले गाउँका दिदिबहिनी चिया टिप्न व्यस्त हुन्छन् । चिया टिप्ने सिजन सुरु भएसँगै घलेगाउँका स्थानीयको व्यस्ततासमेत बढेको छ । 

 फैलिँदै व्यावसायिक चियाखेती
घलेगाउँको चिया अहिले दुई सय रोपनीसम्म फैलिएको स्थानीय गुमनसिंह गुरुङले बताए । उनका अनुसार घलेगाउँवासीले ०५४ सालदेखि चियाखेती थालेका हुन् । ०५७ देखि व्यावसायिक चियाखेती थालेका थिए । सुरुमा १५ रोपनी क्षेत्रफलबाट चियाखेती सुरु गरिएको थियो । उनका अनुसार स्थानीयले चिया नर्सरी स्थापना गरेर बर्सेनि चियाखेती विस्तार गर्दै लगेका छन् । उत्कृष्ट चिया उत्पादन गर्ने पूर्वी नेपालको सिको गर्दै लमजुङमा चियाखेती सुरुवात गरिएको हो । घलेगाउँमा उत्पादित चिया गाउँमा आएका पर्यटकका लागि र गाउँबाहिर रहेका आफन्तजनलाई कोसेलीका रूपमा पठाउने गरेको स्थानीय बताउँछन् ।

 अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा स्थानीयले ०५४ देखि सामूहिक चियाखेती गरेका थिए । सुरुमा आमा समूहको अगुवाइमा गरिएको चियाखेतीका लागि अहिले सबैजना जुटेको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए । घलेगाउँवासी अहिले आफैँले बिरुवा उमारेका छन् । घलेगाउँमा तक्दा ७८, तक्दा ३८३ र गुम्ती जातका चिया रोपिएका छन् ।