
नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आम्दानी र खर्चको विवरणले आमजनतामा अन्याेल सिर्जना भएको भन्दै समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ होस् भनी सभामुखसमक्ष माग गरेका हुन् ।
उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडियामार्फत जानकारी गराउनुभएका विद्युत् प्राधिकरणका आम्दानी र खर्चका विवरणले आमजनतामा र सबैमा अन्याेल सिर्जना गरेको छ त्यसैले नेपाल विद्युत् प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारे यस सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ होस् भनी सभामुखसमक्ष अनुरोध गर्दछु ।’
यस्तै, उनले गोरखा र धादिङ जिल्लाको बिचमा पर्ने भर्खरै सुरु गर्न लागेको राष्ट्रिय गौरवको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् परियोजना यही आर्थिक वर्षदेखि निर्माण सुरु गरियोस् भनी सरकारसँग माग पनि गरेका छन् ।