१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ बैशाख २६ शुक्रबार १३:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुक्खा बन्दरगाह निर्माणका लागि दोधारा–चाँदनीमा रुख कटानी सुरु

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार १३:३२:oo

पश्चिम नेपाल कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटानी सुरु गरेको छ । दुई सातादेखि दोधाराचाँदनी नगरपालिका– १, चाँदनी गौरीशंकर मध्यवर्ती सामुदायिक वनमा रुख कटानी सुरु गरेको हो। सुक्खा बन्दरगाह  निर्माण स्थलमा संरचना बनाउनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले क्षेत्र खाली गराउनका लागि रुख काट्न लागेको जनाएको छ।

 नेपाल इन्टरमोडल यातायात विकास समितिका सुपरभाइजर क्षितिज सिंहले हालसम्म १८० रुख काटिसकेको बताए । ‘अहिलेसम्म काटिएका सबै रुख पिपरैया घाटगद्दीमा राखिएका छन्,’ उनले भने, ‘झन्डै ४० हजारभन्दा बढी क्युफिट काठ संकलन हुनेछ ।’ उक्त सामुदायिक  वनकोे ४२ हेक्टर क्षेत्रफलमा रहेका सानाठुला गरेर एक हजार ५९३ रुख काटिनेछन् । उक्त क्षेत्रमा रहेको रुख हटाएसँगै सुक्खा बन्दरगाह एकीकृत जाँच चौकीका  लागि आवश्यक भौतिक सरचना  निर्माण हुनेछन् । 

०६४ सालमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखकराज भट्टको पालमा सुक्खा बन्दरगाह निर्माण  गर्ने प्रस्ताव अघि सारेको थियो। ०६६ सालमा सरकारले दोधारा–चाँदनीमा बन्दरगाह बनाउने निर्णय  गरेको थियो। सुरुवातमा दोधारा–चाँदनी– ७, कञ्चनभोजमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह त्यहाँ स्थानीयले विवाद गरेपछि चाँदनीमा सारिएको थियो । 

रुख काट्नेदेखि घाटगद्दीको जिम्मा पाएको रोशन किरण सःमिल फर्निचर  उद्योगका  सञ्चालक घनानन्द लेखकले काटेर घाटगद्दीमा  राख्न लागेको बताए । ‘हामीले यहाँ जिम्मा पाएको काठ काटेर घाटगद्दीमा पठाइरहेका छौँ,’ उनले भने, ‘नम्बरिङले  ढिलासुस्ती भइरहेको छ, यसमा सम्बन्धित निकायबाट पहल गर्नुपर्छ ।’ शुक्लाफाँटा राष्ट्रिय कार्यालयका रेञ्जर विक्रम चौधरीले स्रोत साधन वृद्धि गरेर तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

घोषणा गरिएको १८  र निर्णय  गरेको १५  वर्षमा फिल्डमै रुख कटानी सुरु भएपछि स्थानीयसमेत हर्षित भएका छन् । गौरीशंकर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष दामोदर भट्टले सुक्खा बन्दरगाह निर्माणका  लागि रुख कटानी सुरु भएसँगै बन्दरगाह निर्माणको काम अघि बढेको बताए । ‘पहिले नेताहरू आउँथे–जान्थे, अहिले  ठेक्का भएकै काम सुरु भएको छ,’ उनले भने, ‘अब केही होला जस्तो आशा पलाएको छ ।’ घाटगद्दीमा राखिएको काठ सामुदायिक  वनले पाउनुपर्ने उनको माग छ । 

झन्डै १२ अर्ब प्रस्ताव अघि सारेको सुक्खा बन्दरगाह निर्माणका  लागि १ जुन ०२३ मा नेपाल–भारतबिच सम्झौता भएको थियो। उक्त सम्झौताअनुरूप भारतले नै एकीकृत चेकजाँच चौकी निर्माण हुनेछ । भारतले आफ्नोतर्फ सरचना निर्माण  गरिसकेको जनाएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य एवं सुदूरपश्चिमका उद्यमी तेजबहादुर चन्दले महाकाली नदीमा चारलेन पुल निर्माण सम्पन्न भएसँगै अब सुक्खा बन्दरगाह निर्माणको काममा ढिलाइ गर्न नहुने बताए । ‘यो रुख काट्ने काम पनि ढिलाइ गर्नुहुँदैन, काममा देखिएका जटिलता आपसी समझदारी गरेर टुंगो लगाउनुपर्छ,’ उनले भने, ‘समयमै रुख हटाएसँगै माथिल्ला निकायबाट फिल्ड खाली भए स्थलगत अनुगमन हुनेछ, त्यसपछि फिल्डको काम बढाउन सकिन्छ ।’ नेपालको सबैभन्दा छोटो दूरीमा रहेको भारतको दिल्लीसहितका अन्य ठुला औद्यौगिक सहर जान यो नाका निकै सहज हुनेछ । उनले भने, ‘सुक्खा बन्दरगाह निर्माणसँगै  प्रदेशको आर्थिक वृद्धि विकासमा कायापलट हुनेछ ।’ 

दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणसँगै उत्तरमा चीन र दक्षिण भारत जोड्नेदेखि त्रिदेशीय नाकाकै रूपमा विकसित गरिनेछ । पूर्वप्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड)ले पहिलो स्थान छनाेटदेखि दोस्रो स्थानमै पुगेर पश्चिमनेपालको आर्थिक समृद्धिका लागि सुक्खा बन्दरगाह निर्माण अपरिहार्य रहकाे बताउँदै आएका छन् । उद्योग, वाणिज्य  तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पनि केही महिनाअघि स्थलगत अनुगमन गर्दै चाँडै सञ्चालनमा आउने बताउँदै आएका थिए। दोधारा–चाँदनी नगरका मेयर किशोरकुमार लिम्बूले समयमै रुख काटेर कामकाज अघि बढाउनुपर्ने बताए । मेयर लिम्बूले रुख कटानीका दौरानमा देखिएका समस्या निराकरण आवश्यक रहेको औँल्याए ।