१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका चन्द्रपुर
२o८२ बैशाख २६ शुक्रबार १३:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रोकिएन हात्तीको विध्वंस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, चन्द्रपुर
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार १३:४१:oo

खुट्टामा गोली लागेर घाइते भएको ‘एमगज’ नामक जंगली हात्तीलाई यहाँको जुडिबेला र गैँडाटारका किसानले औधी माया गर्थे । दया गरेर विभिन्न खानेकुरा दिन्थे, जसले हात्ती स्वस्थ हुँदै गयो । त्यही हात्ती अचेल यहाँका किसानका लागि समस्या भएको छ । गत कात्तिकदेखि चन्द्रपुर नगरपालिका– २, जुडिबेला र वडा नं. ३ को गैँडाटार क्षेत्रमा बस्दै आएको यस हात्तीले अचेल घर भत्काउन थालेको छ । कृषिबालीमा क्षति पुर्‍याइरहेको छ ।

जुडिबेलाका सुनिप पोखरेल पहिला मर्ला भन्ने डरले स्याहार गरिएको हात्तीले हाल कतिवेला पो मार्ने हो भन्ने उत्पन्न भएको बताउँछन् । ‘यो हात्ती बिरामी भएको वेला हामीले नै उपचारका लागि विभिन्न क्षेत्रमा पहल गर्‍यौँ, उपचार पनि भयो । खानेकुरा दियौँ, ज्यान तङ्ग्रियो । त्यो देखेर हामी निकै खुसी भएका थियौँ, तर हाल त्यही हात्ती समस्या भयो । घर भत्काउने, खेतीमा नोक्सानी गर्ने गरिरहेको छ । अब त मान्छेलाई नै कतिवेला मार्ने हो भन्ने डर बढेको छ,’ उनले भने । 

हात्तीले गत मंगलबार चन्द्रपुर– २, जोगीटोलकी एकल महिला फूलमाया कुँवरको उठीवास लगाएको छ । हात्तीले पूरै घर ध्वस्त बनाएको, पकाउने ग्यासदेखि खाने चामलसमेत नष्ट गरेको उनले गुनासो गरे । ‘बिरामी हुँदा हात्तीलाई खाना खुवाइयो, उपचारमा हाम्रो पनि चिन्ता थियो । हाल आफ्नै वास उजाडिदियो,’ कुँवरले भने। नगर प्रमुख सञ्जयकुमार काफ्लेले कुँवरको घर बनाउन स्थानीय युवाहरूले सहयोग जुटाउने र त्यसमा आफ्नो पनि केही आर्थिक सहयोग र सहजीकरण रहने बताए। 

यसैगरी, सोही टोलकी मैया गिरी आलेले हात्तीले आफ्नो पनि घर भत्काएको र चामल, दाललगायत खाद्यान्न लगेको बताइन् । सोही दिन स्थानीय मुक्तिनारायण चौधरीको घर पनि भत्काइदिएको थियो । हात्तीको आतंकले स्थानीय असुरक्षित भएको सोही वडाको पुलामीटोलनिवासी उत्तम खड्काले गुनासो गरे । पुलामीटोलकै नजिक हर्दिया खोलाको पोखरीमा दिउँसाेभरि बस्ने र रात परेपछि हात्ती गाउँ पस्ने गरेको उनले सुनाए ।  हात्तीआतंकका कारण केही समयदेखि स्थानीय जंगलमा घाँस–दाउरा जानसमेत नसकिएको खड्काले बताए । 

गत कात्तिकयता हात्तीले जुडिबेलामा मात्रै दुई दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको वडाध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिए । पर्सा राष्ट्रिय निकुञ्ज तथा वन मन्त्रालयका सचिवलाई समेत हात्ती व्यवस्थापनका लागि ध्यानाकर्षण गराइए पनि समस्या समाधान नभएको उनले गुनासो गरे । ‘यहाँ हात्तीले विध्वंस मच्चाएको सरोकार भएकाहरू सबैलाई थाहा छ । पटकपटक ध्यानाकर्षण गराएका छौँ, तैपनि कसैले वास्ता गरेका छैनन्,’ वडाध्यक्ष थिङले भने । 

हात्तीले जुडिबेलाका खिकबहादुर पन्त, राजेन्द्र ठाकुर, तारजन मगर, रवीन्द्र लामा, प्रदीप बमजन, शुक्र पुलामी, केशव पाठक, माइला कँडेल, खिक, रवि पुलामी, कमलबहादुर विक, बद्री कार्की, उमेश थापालगायतको घर भत्काइसकेको छ । यसैगरी, चन्द्रपुर– ३, गैँडाटारमा पनि एक दर्जनभन्दा बढी घर भत्काइएका छन् । वडाध्यक्ष बोधनाथ देवकोटाले हात्तीको आक्रमणबाट यहाँका  सन्तबहादुर रुम्बा, मीना राई, छेनामसिंह लोप्चन, बलीमाया लोप्तन, बोम्जन साइँला, सुवास ठोकर, साइँला गोलेको घर भत्काएको बताएका छन् । यही हात्तीको आक्रमणबाट गत कात्तिक १६ गते फतुवा विजयपुर– ११, रागी बुटुवा बस्ने ७० वर्षीया पातलीमाया तामाङको ज्यान गएको थियो ।