कर्णाली प्रदेशका मुगु, डोल्पा, हुम्ला र जुम्लाका हिमाली भेगका नागरिकको मुख्य आयस्रोत जडीबुटी हो । तर, यार्सागुम्बा, घुच्ची च्याउ, रातो च्याउ, कुड्कीलगायत २२ प्रकारका बहुमूल्य जडीबुटीले उपयुक्त भाउ नपाएपछि स्थानीय जडीबुटी किसानदेखि व्यापारीसमेत घाटा व्यहोर्न बाध्य छन् । मुख्य निर्यात गर्ने चिनियाँ नाका बन्द भएपछि जडीबुटी संकलन र निर्यात घटेको छ ।
डिभिजन वन कार्यालय जुम्लाका सूचना अधिकारी खड्गबहादुर महतका अनुसार विगतमा जस्तो अन्तर्राष्ट्रिय बजारमा कर्णालीको जडीबुटी निर्यात भएको छैन । चिनियाँ नाका बन्द भएपछि निर्यात संकलन घटेको छ भने अन्तर्राष्ट्रिय व्यापार घट्दा बहुमूल्य जडीबुटी कौडीको भाउमा बिक्री भइरहेको अवस्था छ ।
जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकाका विभिन्न पाटनमा सबैभन्दा धेरै जडीबुटी पाइन्छ । डिभिजन वन कार्यालय जुम्लाका अनुसार चालू आर्थिक वर्ष ०७९/८० मा ७६ टन मात्रै जडीबुटी निर्यात भएको छ । यो दुई वर्षयताकै आधा कम हो । आर्थिक वर्ष ०७७/७८ मा दुई सय दुई टन र आर्थिक वर्ष ०७८/८९ मा भने दुई सय एक टन जडीबुटी निर्यात भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्गबहादुर महतले बताए ।
गत वर्ष पनि कोरोनाका कारण जडीबुटी संकलन रोकेपछि जुम्लाका सयौँ किसानको रोजीरोटीसमेत खोसिएको थियो । यस वर्ष चीनले माग नगर्दा जडीबुटी निर्यात ह्वात्तै घट्यो । यसको प्रत्यक्ष असर कर्णालीको अर्थतन्त्रमा देखिएको छ ।
जुम्लाबाट सबैभन्दा बढी धुपी, सचेक चिनी, तितेपाती बढी मात्रामा निर्यात हुने गरेको छ भने अन्य चिराइतो, सुनपाती, पाखनबेद, सुगन्धवाल, विषजरा, बोझो, अतिस, पदमचाल, गुच्चीच्याउ, अमलबेद, रातो च्याउ, वन लसुनलगायत २२ प्रकारका जडीबुटी निर्यात हुने गरेको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीले बताए । उनका अनुसार पछिल्लो वर्षमा सबैभन्दा बढी जडीबुटी निर्यात हुने वैदेशिक मुलुक चीनबाट माग नहुनुले जडीबुटीको मूल्यसँगै संकलन र निर्यात घटेको हो ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षमा ७६ टन जडीबुटी संकलन गर्दा १५ लाख ११ हजार नौ सय ७५ रुपैयाँ राजस्व संकन भएको छ । जसमा सबैभन्दा बढी ६ टन धुपी निर्यातबाट एक लाख ६ हजार राजस्व संकलन भएको छ । सचेक चिनी करिब साढे दुई टन निर्यात गर्दा तीन लाख ५१ हजारभन्दा बढी राजस्व संकलन भएको हो । जुम्लामा चालू आवमा हालसम्म गुच्चीच्याउ र साधारण च्याउ निर्यात भएको छैन ।