नबिल बैंकले एन बैंक नामको नयाँ एप सञ्चालनमा ल्याएको छ । बैंकले सबै किसिमका आधारभूत बैंकिङ कारोबार गर्न सकिने एप ‘एन बैंक’ सञ्चालनमा ल्याएको हो ।
बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एन बैंक एन्ड अपरेसनका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्त रूपमा एन बैंकको शुभारम्भ गरे । सेवा सुरुवातपछि बैंकका अध्यक्ष पौड्यालले एन बैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दिगो बैंकिङमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
उपाध्यक्ष चौधरीले एन बैंकको सुरुवातसँगै बैंकिङ क्षेत्रमा ‘परिवर्तन’को नेतृत्व नबिल बैंकले गर्ने बताए । ग्राहकले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैंकिङ सेवा प्राप्त गर्न सक्ने यो नवीन प्रविधिले बैंकिङमा नयाँ तरंग ल्याएको उनको भनाइ थियो ।
नबिल स्मार्टमार्फत डिजिटल बैंकिङ सुरु गरिसकेको नबिलले यो नयाँ एपले बैंक धाउनैनपर्ने गरी सुविधा समेटेको बताएको छ । बैंकले यसलाई आफ्नो भर्चुअल शाखा भनेको छ । निओ बैंकिङ अवधारणामा विकसित यो एपले भौतिक उपस्थितिमा गरिने बैंकिङ कारोबारको विकल्प दिने बैंकको अपेक्षा छ । एन बैंकमा खाता खोल्नेदेखि ऋण लिनेसम्मको सुविधासम्म बैंकिङ कारोबार डिजिटल माध्यमबाटै हुनेछ ।
यो एपमार्फत ३० सेकेन्डमै खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकसम्म नधाई पनि ऋण लिन सकिन्छ । एन बैंकमा एक क्लिक गरेकै भरमा मुद्दती खाताका आधारमा बचतको ९० प्रतिशत ऋणको व्यवस्था गरिएको बैंकले जनाएको छ । ‘एन बैंक’ शतप्रतिशत डिजिटल बैंकिङ हुन्छ ।