मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ७ बिहीबार ०९:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अनामनगरका अवैध संरचनामा महानगरले चलायो डोजर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ७ बिहीबार ०९:०१:००

काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा सर्वसाधारणले सार्वजनिक जग्गामा बनाएको अवैध घरटहरामा डोजर चलाएको छ । नगर प्रहरी, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीलगायतको सहभागितामा बुधबार ती पक्की र कच्ची संरचना भत्काइएको हो ।

धोबीखोला करिडोर तथा किनारामा सर्वसाधारणहरू यसरी सार्वजनिक जग्गा हडपेर अवैध रूपमा संरचना बनाएर लामो समयदेखि बस्दै आएका थिए । ती संरचना हटाउन यसअघि महानगरले सूचना टाँस गरेको थियो । तर, संरचना भत्काउन अटेर गरेपछि महानगर आफैँले जग्गा खाली गरेको हो । महानगर भत्काउन आउने जानकारी पाएपछि अधिकांशले घरभित्रका सरसामान सारिसकेका थिए ।

धोबीखोला किनारमा बनेका पक्की र कच्ची गरी १२ वटा घरटहरा भत्काएको महानगरले जनाएको छ । त्यसमध्ये पाँचवटा सटरसहितका ढलान घर छन् । महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले २०औँ वर्षदेखि खोला क्षेत्रको यो जग्गा कब्जा गरी अवैध संरचना निर्माण गरेर बस्दै आएको जानकारी दिए । उनले सार्वजनिक जग्गा जहाँजहाँ अतिक्रमण भएको छ त्यहाँत्यहाँ महानगरले भत्काउने बताए । ‘महानगरभित्र यसरी अवैध रूपमा बनेका संरचना कति छन् कति, विगतमा नेतृत्व गर्नेको ध्यान नजाँदा एकैपटक ठूलो संख्यामा अवैध संरचना भत्काउनुपरेको छ,’ उनले भने, ‘मानवीय बसोवास रहेकाले हामीले भत्काउनुपूर्व खाली गराउन पनि समय दिएका थियौँ ।’ उनले महानगरभित्र रहेका सार्वजनिक तथा खोला क्षेत्रको जग्गा भूमाफियाबाट फिर्ता ल्याउने अभियान चलेको बताउँदै यसलाई निरन्तरता दिने जानकारी दिए । 

नापी विभागको प्रमाणका आधारमा भत्काएका हौँ : महानगर
काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउँदा नापी विभागका प्रतिनिधि र प्रतिवेदनका आधारमा भत्काउने गरेको छ । नापी विभागलाई साक्षी राखेर र प्रमाणका आधारमा भत्काएकाले कसैलाई अन्याय नभएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दाबी गरे । ‘हामीले हचुवामा भत्काएका छैनौँ, नापी विभागको प्रमाणका आधारमा भत्काएका छौँ,’ उनले भने, ‘रोइकराइ गरेर सार्वजनिक जग्गा हडप्न पाइँदैन ।’