१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७९ मङ्सिर २४ शनिबार ०९:५४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्राइभेटबाट पब्लिक लिमिटेडमा जानेको लहर : आइपिओ जारी गर्न बुक बिल्डिङ कुर्दै कम्पनीहरू

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर २४ शनिबार ०९:५४:००

प्राइभेट लिमिटेडबाट पब्लिक कम्पनीमा जानेको संख्या पछिल्लो समय बढेको छ । कम्पनीहरूले प्राथमिक सेयर (आइपिओ) र एफपिओ निष्कासन गरेर कम्पनीमा लगानी भित्र्याउने उद्देश्यसहित विभिन्न क्षेत्रका कम्पनीहरूले आफ्नो स्वामित्व अनुपात परिवर्तन गरेका हुन् । 

कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/७९ भरिमा मात्र १६ वटा कम्पनीहरूले प्रालिबाट पब्लिकमा स्वामित्व परिवर्तन गरेका छन् । त्यसैगरी, आर्थिक वर्ष ०७७/७८ मा ३२ कम्पनीले स्वामित्व परिवर्तन गरेका थिए । ०७६/७७ मा ८६ कम्पनीले आफ्नो स्वामित्व प्राइभेटबाट पब्लिकमा रूपान्तरण गरेको कम्पनी रजिस्ट्रार कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा लुप नेटवर्क, छायादेवी कम्प्लेक्स, वाइटलुट पावर, शिवम् प्लास्टिक उद्योग, बन्दीपुर केबलकार, ओम सत्यसाई स्टोन क्रसर उद्योग, याम्बालिङ हाइड्रोपावर, सीता एयर, सिज्जु इनर्जी, टक्सार पिखुवा खोला हाइड्रोपावर, एमआइजी इन्भेस्टमेन्ट एन्ड रियल इस्टेट, बुढानीलकण्ठ हेरिटेज, सिडब्लुइडिए इक्विटी फन्ड, सिन्धुली एग्रो कम्पनी, नासा हाइड्रोपावर, मध्य ताराखोला हाइड्रोपावर कम्पनीले प्राइभेटबाट पब्लिक कम्पनीमा स्वामित्व परिवर्तन गरेका हुन् ।

लुप नेटवर्क पछिल्लो समय बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्ने तयारीमा रहेको छ । कम्पनीका अध्यक्ष सतिश पोखरेलले बुक बिल्डिङमार्फत जाने गरी आन्तरिक तयारीमा जुटेको बताए । कम्पनीको चुक्ता पुँजी अहिले १२ करोड रुपैयाँ पुर्‍याइएको छ । यसलाई बढाएर कम्तीमा १६ करोड रुपैयाँ पुर्‍याउने गरी आइपिओको योजना बनाएको उनको भनाइ छ ।

जलविद्युत् कम्पनी अनिवार्य रूपमा पब्लिकमा जाने भए पनि फरक–फरक व्यावसायिक क्षेत्रका कम्पनीहरूसमेत आइपिओ तथा एफपिओ निकाल्ने प्रयोजनका लागि प्राइभेटबाट पब्लिकमा रूपान्तरण भएको कम्पनी रजिस्ट्रार कार्यालयका प्रवक्ता शेखरबाबु कार्कीले जानकारी दिए । उनले भने, ‘अहिलेको सेयर जारी गर्ने होडले बढी लगानी भित्र्याएर ठूलो कम्पनीमा लैजानका लागि पनि अपेक्षा नै नगरेका कम्पनीहरूसमेत पब्लिकमा रूपान्तरण हुन चाहेका छन् ।’

पब्लिकमा रूपान्तरण भएका सबै कम्पनीले अनिवार्य रूपमा आइपिओ वा एफपिओ जारी गर्नुपर्ने कानुन अनिवार्य छैन । तर, प्रालिबाट पब्लिकमा गएका कम्पनीहरूले आवश्यक स्रोत जुटाउन र लगानी बढाउनका लागि जुनसुकै समयमा पनि प्रक्रिया पुर्‍याएर सेयर जारी गर्ने सम्भावना भने रहन्छ । एक अर्बभन्दा बढी पुँजी भएका कम्पनीहरू एफपिओ तथा आइपिओ निष्कासनमा जाने व्यवस्था रहेको छ । निजी स्वामित्वको कम्पनीले वार्षिक साधारणसभाबाट निर्णय गराएर कम्पनीको स्वामित्व परिवर्तन गर्न सकिने व्यवस्था रहेको छ ।

प्राइभेट र पब्लिकबीच फरक 
लगानीकर्ताको सहभागिता र चुक्ता पुँजीका आधारमा कम्पनीहरूको वर्गीकरण फरक हुन्छ । पब्लिक कम्पनी बनाउन वा खोल्न भने कम्तीमा सातजना र बढीमा जति पनि लगानीकर्ता हुन पाइने कानुनी व्यवस्था छ । प्राइभेट कम्पनीमा एक सय एकजनासम्म सेयरधनी रहन पाउने व्यवस्था कम्पनी (पहिलो संशोधन) ऐन, २०७४ ले गरेको छ । पब्लिक कम्पनी सातजनाभन्दा बढी सेयरधनी राखेर बनाउन सकिन्छ । तर, पछिल्लो साढे दुई वर्षको अवधिमा यसरी प्राइभेटबाट पब्लिकमा बदलिएका कम्पनीहरूको सोच भने प्रालिका लागि छुट दिइएको एक सय एकजनासम्म प्रवर्द्धक रहन पाउने सीमा सुविधालाई नाघेर त्योभन्दा निकै धेरैमा कम्पनीको सेयर पुर्‍याउने भन्ने रहेको देखिन्छ । यही कारण यस्ता कम्पनीहरूले धमाधम सर्वसाधारणका लागि सेयर जारी गर्ने बाटो खोलेका हुन् । कम्पनीको अनुकूलतामा आइपिओ वा एफपिओमा जान सकिने भएकाले नेपालमा लिस्टेडभन्दा नन–लिस्टेड कम्पनी धेरै रहेको धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरीले बताए । उनले भने, ‘हाम्रो पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाहरूको बाहुल्यता धेरै छ, त्यसको हिस्सा घटाउँदै लगेर रियल सेक्टरलाई प्राथमिकता दिनुपर्छ ।’

विशेष गरी रियल सेक्टरलाई ल्याउनका लागि उपयुक्त भनेको बुक बिल्डिङ नै भएकाले सर्वप्रथम बुक बिल्डिङ विधि अघि बढेपछि कम्पनीहरू पब्लिक हुँदै सेयर जारी गर्नका लागि तयार हुने गिरीले बताए । उनी भन्छन्, ‘ठूला चुक्ता पुँजी भएका कम्पनी प्रालिबाट पब्लिक भएका धेरै छन्, उनीहरूको चाहना बुक बिल्डिङमार्फत सेयर जारी गर्नु रहेको छ । त्यो कुरा नेतृत्वले बुझेर भूमिका खेल्नुपर्छ ।’ सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिमा कार्यान्वयनमा आएमा धेरै हदसम्म अन्य कम्पनीहरू पनि अरू कम्पनीहरू पनि पब्लिकमा रूपान्तरण भएर आइपिओको पक्रियामा आउने गिरीको भनाइ छ ।

प्राइभेटबाट पब्लिकमा रूपान्तरित कम्पनीले सर्वसाधारणलाई आइपिओ जारी गर्ने निर्णय वार्षिक साधारणसभाबाट गराउँछन् । कम्पनीको स्वामित्व के गर्ने भन्ने कुरा कम्पनीको स्वतन्त्रताको विषय भएकाले उनीहरूको निर्णयका आधारमा आइपिओमा जान सक्छन् । कम्पनी रजिस्ट्रार कार्यालयको रेकर्डमा हालसम्म एक हजार सात सय ३० कम्पनीले आफ्नो स्वामित्व प्राइभेटबाट पब्लिकमा सारेको देखिन्छ ।

रियल सेक्टर अघि बढ्नैपर्छ : नीरज गिरी, पूर्वकार्यकारी निर्देशक, धितोपत्र बोर्ड 
बैंक तथा वित्तीय संस्थाको सेयर हिस्सा धेरै भएको हाम्रो पुँजी बजारमा अब अघि बढ्नुपर्ने भनेको रियल सेक्टर नै हो । रियल सेक्टर आउनेबित्तिकै बुक बिल्डिङ विधिमा जाने र पुँजी बजारको नयाँ आयामको अर्को सुरुवात हुने थियो । त्यसो भएमा अहिले भएका पब्लिक कम्पनीहरू पनि आइपिओ जारी गर्न र प्रालिहरू पनि पब्लिक भएर आउन सहज मान्ने थिए ।