१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Tuesday, 02 July, 2024
२o८१ असार १७ सोमबार o७:३५:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

राष्ट्रपतीय बहस र अमेरिकी विदेश नीति

बाइडेन र ट्रम्पबीचको टेलिभिजन बहस विदेश नीतिमा आएपछि दुईबीचको आरोप–प्रत्यारोपले थप तातो मोड लियो

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार o७:३५:oo

‘तैँले पोर्न अभिनेत्रीसँग शारीरिक सम्पर्क राखिस् ! अहँ मैले छैन ! बाइडेन बूढा भइसके गल्फ बललाई ५० यार्डको दूरीसम्म पनि पुर्‍याउन सक्दैनन् ! यदि ट्रम्पले आफ्नो गल्फको झोला आफैँ बोक्न सक्छन् भने म यिनीसँग गल्फ खेल्न तयार छु ।’ अमेरिकामा हुन लागेको आगामी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रेटिक दलबाट उम्मेदवार रहेका ८१ वर्षीय जो बाइडेन र रिपब्लिकन दलका उम्मेदवार ७८ वर्षीय डोनाल्ड ट्रम्पबीच गत बिहीबार भएको पहिलो राष्ट्रपतीय बहसका क्रममा सुनिएका संवाद हुन् यी । यसमा कुनै दुई मत छैन, ह्वाइट हाउसको विदेश नीतिले पूरै विश्व राजनीतिलाई प्रभाव पार्छ । अनि, त्यस विदेश नीतिलाई आकार दिने प्रमुख व्यक्ति हुन्, अमेरिकी राष्ट्रपति ।

वर्तमान विश्वकै सबैभन्दा महत्वपूर्ण मानिएको अमेरिकी राष्ट्रपति पद अनि त्यसको पूर्तिका लागि हुने अमेरिकी राष्ट्रपतीय चुनावलाई विश्वले गम्भीरतासाथ हेर्ने नै भयो । तर, बिहीबार भएको बहसमा विश्वकै शक्तिशाली राष्ट्र हाँक्न अघि सरेका यी दुई नीति र योजनाको स्तरमा भन्दा पनि एक–अर्काप्रतिको घृणा, अपमान र आफ्नो आडम्बरमा बढी केन्द्रित रहे । जब विषय विदेश नीतिमा आयो, दुईबीचको आरोप–प्रत्यारोपले थप तातो मोड लियो ।

ट्रम्पले बाइडेनको अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको कार्यान्वयनलाई आलोचना गर्दै सो घटना अमेरिकी इतिहासकै सबैभन्दा लज्जास्पद दिन रहेको आरोप लगाए । बाइडेनको फितलो विदेश नीतिका कारण अमेरिका असफल राष्ट्र बनेको र अमेरिकीले विगत साढे तीन वर्षदेखि लज्जास्पद जीवन बाँचिरहनुपरेको ट्रम्पले दाबी गरे । ट्रम्पको आलोचनालाई पलटवार गर्दै बाइडेनले भने– ‘अमेरिका विश्वकै लोभलाग्दो र सबैभन्दा मजबुत राष्ट्र हो र संसारमा यस्तो कुनै पनि राष्ट्र छैन, जो आफ्नो देश पनि अमेरिकाजस्तै भइदियोस् भन्ने चाहँदैनन् । बरु अमेरिकी लोकतन्त्रको मूल्य र मान्यता केही नबुझेका ट्रम्पले भर्जिनियामा गरेको अतिवादी दक्षिणपन्थी प्रदर्शनकारीको समर्थन र हिटलरको प्रशंसाले अमेरिकाको विश्वव्यापी प्रतिष्ठा घटाएको आरोप लगाए ।

बिहीबार भएको बहसमा विश्वकै शक्तिशाली राष्ट्र हाँक्न अघि सरेका दुई उम्मेदवार बाइडेन र ट्रम्प नीति र योजनाको स्तरमा भन्दा पनि एक–अर्काप्रतिको घृणा, अपमान र आफ्नो आडम्बरमा बढी केन्द्रित रहे
 

दुई नेताबीचको बहसका क्रममा मध्यपूर्वमा जारी इजरायल र प्यालेस्टाइनको द्वन्द्वले निकै चर्चा पायो । इजरायलले प्यालेस्टाइनमा गरेको सैन्य कारबाहीले ९० प्रतिशतभन्दा बढी प्यालेस्टिनी जनसंख्या विस्थापित भएका छन् भने लगभग ४० हजारले ज्यान गुमाइसकेका छन् । गाजामा इजरायलको सैन्य कारबाहीलाई लिएर अमेरिकाभित्रै अमेरिकी सरकारको आलोचना बढ्दै गएको छ र इजरायललाई सैन्य सहायता बन्द गर्नुपर्ने आवाज बढ्दो छ । केही विश्लेषणअनुसार इजरायल–प्यालेस्टाइन द्वन्द्वका कारण बाइडेनको लोकप्रियतामा पनि असर परिरहेको छ । यसका बाबजुद दुवै ट्रम्प र बाइडेनले भलै अलग–अलग भाषामा होस्, इजरायललाई पूर्ण समर्थन जनाएका छन् ।

ट्रम्पले बाइडेनको इजरायल नीतिको आलोचना मात्र गरेनन्, बरु उनलाई प्यालेस्टाइनीजस्तै बनेको आरोप लगाए । इजरायल प्यालेस्टाइनविरुद्ध आफ्नो कारबाही जारी राख्न चाहन्छ र अमेरिकाले इजरायललाई उसको काम पूरा गर्न दिनुपर्ने ट्रम्पले बताएका छन् । आफू राष्ट्रपति रहँदा अमेरिकी नीतिका कारण इरान कमजोर बनेको र त्यसका कारण हमासले कहिल्यै पनि इजरायलमा आक्रमण गर्न हिम्मत नगरेको ट्रम्पको तर्क थियो । स्मरणीय छ, ट्रम्पले नै राष्ट्रपति रहँदा जेरुसेलमलाई औपचारिक रूपमा इजरायलको राजधानीका रूपमा मान्यता दिएका थिए ।

इजरायल मुद्दामा ट्रम्पभन्दा कमजोर देखिन नचाहेका बाइडेनले आफ्नो नीतिको बचाउ मात्र गरेनन्, इजरायलप्रतिको आफ्नो पूर्ण समर्थनमा देखिएको शंकालाई हटाउने प्रयास पनि गरे । अमेरिकाले इजरायललाई दुई हजार पाउन्डको बम दिनेबाहेक सबै प्रकारका सैन्य र अन्य सहयोग गरेको बाइडेनले बताएका छन् । आफ्नो इजरायलप्रतिको प्रतिबद्धता पुष्टि गर्दै बाइडेनले भने– म नै त्यो व्यक्ति हुँ, जसले इजरायलविरुद्ध इरानको पूर्ण–ब्यालिस्टिक मिसाइल हमलापछि इरानविरुद्ध विश्वलाई संगठित गरेको थियो र इजरायललाई बचाएको थियो । यद्यपि राष्ट्रपतिका दुवै उम्मेदवारले गरेको दाबी र प्रतिदाबीका बाबजुद विभिन्न सर्वेक्षणले इजरायलीको ठूलो हिस्सा र बेन्जामिन नेतन्याहु प्रशासनमा बाइडेनभन्दा ट्रम्प इजरायलका लागि सही हुने धारणा रहेको निष्कर्ष निकालेका छन् ।

रुस–युक्रेन युद्धमा अमेरिकी अडान र किभलाई अमेरिकी सहायतालाई लिएर बाइडेन र ट्रम्पबीच कडा विवाद भएको छ । राष्ट्रपतिका रूपमा बाइडेन कमजोर उम्मेदवार रहेको सन्देश दिन ट्रम्पले भने– यदि अमेरिकासँग बलियो र पुटिनले सम्मान गर्ने राष्ट्रपति भएको भए रुसले युक्रेनमा कहिल्यै आक्रमण गर्ने थिएन र यदि आफू निर्वाचित भएको खण्डमा औपचारिक रूपमा ह्वाइटहाउस छिर्नुअघि नै रुस र युक्रेनबीचको युद्ध ‘समाधान’ हुनेछ । ट्रम्प यतिमै सीमित रहेनन् ।

उनले बाइडेनले विश्वलाई नयाँ विश्वयुद्धको छेउमा पुर्‍याएको आरोप लगाएका छन् । ट्रम्पले भने– बाइडेनले हामीलाई तेस्रो विश्वयुद्धमा पुर्‍याउनेछन् र यो युद्ध हामी कसैले कल्पना गर्न सक्नेभन्दा पनि नजिक छ । रुस–युक्रेन युद्धमा अमेरिकी अडान र किभलाई अमेरिकी समर्थनको बचाउ गर्दै बाइडेनले पुटिन युद्ध अपराधी रहेको र किभ मात्र पुटिनको लक्ष्य नरहेको बताएका छन् । युक्रेनमाथि विजय हासिल गरेपश्चात् पनि पुटिनको आक्रामकता नरोकिने बरु युक्रेनपछि पुटिनले नेटो सदस्यलाई लक्षित गर्ने बाइडेनले आरोप लगाए । यस्तो हुनेबित्तिकै नेटो बडापत्रको धारा ५ अन्तर्गतको सामूहिक सुरक्षाको प्रावधान आकर्षित हुने र विश्वयुद्ध सुरु हुने बाइडेनले चेतावनी दिए । पुटिनलाई युक्रेनमाथि जित्न दिनु नै तेस्रो विश्वयुद्धलाई निम्त्याउनु हो भन्दै आफूले किभका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउन काम गरेको र विश्वका ५० अन्य राष्ट्रलाई युक्रेनको समर्थनमा उभ्याउन सफल भएको दाबी गरे ।

आजका दिनमा अमेरिकी चुनावलाई आफ्नो अस्तित्वसँग जोड्ने कोही छ भने ती हुन युक्रेनी राष्ट्रपति जेलेन्स्की । रुसविरुद्धको युद्धलाई निरन्तरता दिन युक्रेनलाई चाहिने पैसा र हतियारका लागि अमेरिकी समर्थन अत्यन्त महत्वपूर्ण छ । ट्रम्पले चुनाव जितेको खण्डमा युक्रेनले प्राप्त गर्दै आएको अमेरिकी सहायता बन्द हुने र युक्रेन रुससँग सम्झौता गर्न बाध्य हुने वा बनाइने चिन्ता जेलेन्स्की प्रशासनलाई छ । यस हिसाबमा युक्रेनका लागि अमेरिकी राष्ट्रपतिका रूपमा बाइडेनको पुनरागमन जरुरी छ ।

अर्कातर्फ क्रेमलिनलाई भने ट्रम्प सही रहने आकलन गर्न सकिन्छ, यद्यपि पुटिनले ट्रम्पभन्दा पनि बाइडेनको नीति अनुमान गर्न सकिने र त्यही हिसाबले रणनीति बनाउन सजिलो हुने बताएका छन् । हुन त रुसी सहयोगले गर्दा यसअघि ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको आरोप लाग्दै आएको छ । ट्रम्प र बाइडेनबीचको सबैभन्दा ठूलो मतभेद अध्यागमन नीतिमा देख्न सकिन्छ । ट्रम्पले बाइडेनको अध्यागमन नीतिले देश ‘मुसाको गुँड’ बनेको तथा अव्यवस्थित र असुरक्षित भएको आरोप लगाएका छन् ।

बाइडेनको नीतिले अमेरिकालाई शाब्दिक रूपमा असभ्य देश बनाएको ट्रम्पको आरोप छ । ट्रम्प राष्ट्रपति छँदा कडा अध्यागमन नीति ल्याएका थिए । बाइडेनले ट्रम्पको अध्यागमन नीतिले बालबालिकालाई उनीहरूका आमाबाट अलग गर्ने र पिँजरामा राख्ने कार्य गरेको भन्दै त्यसको आलोचना गरेका छन् । युरोपमा दक्षिणपन्थी शक्तिहरूको उदय र बढ्दो प्रभावका सन्दर्भमा अमेरिकाले पनि अनुदार अध्यागमन नीति लिएको खण्डमा त्यसले समग्र पश्चिमाले गौरव गर्दै आएका आफ्नो उदारवादी प्रणाली र छविमा निश्चय पनि प्रश्न उठ्नेछ र अमेरिकाप्रतिको आकर्षणमा क्रमशः ह्रास आउनेछ, जसले अमेरिकाको सफ्ट पावरमा पनि असर गर्नेछ ।

आश्चर्यजनक रूपमा अमेरिकाले आफ्नो सबैभन्दा ठूलो वैश्विक प्रतिद्वन्द्वीका रूपमा हेर्दै आएको चीन बिहीबार भएको राष्ट्रपतीय बहसमा छलफलको प्रमुख मुद्दा बनेन । आयोजकले चीनसम्बन्धी कुनै प्रश्न सोधेनन् । हुन सक्छ, चीन मात्र यस्तो एउटा विषय हुन सक्थ्यो, जसमा दुवै उम्मेदवार चीनको बढ्दो कदम रोक्नुपर्नेमा सहमत हुने थिए । ट्रम्पको कार्यकालमा चीनविरुद्ध सुरु भएको व्यापार युद्धलाई बाइडेन प्रशासनले निरन्तरता मात्र दिएको छैन, सेमिकन्डक्टर निर्यात र विद्युतीय सवारी आयातमा कडाइ गरेर चीनविरुद्ध थप आक्रामक रूपमा प्रस्तुत भएको छ । यद्यपि दुवै उम्मेदवारले आफ्नै हिसाबले चीनलाई आफ्नो तर्कमा घुसाउन भने पछि परेनन् । 

दुवैले आफ्नो कार्यकालमा चीनसँगको व्यापार घाटा सबैभन्दा कम गरेको दाबी गरे । ट्रम्पले त बाइडेनलाई चीनप्रति कमजोर रहेको र चीनसँग पैसा लिएको भन्दै उनलाई मन्चुरियन उम्मेदवारसम्म भन्न भ्याए । अमेरिकी राष्ट्रपति चुनावलाई लिएर चीन भने एउटा कुरामा स्पष्ट छ, बाइडेन र ट्रम्प जो आए पनि चीनसँगको व्यापार सम्बन्ध सुधार हुनेभन्दा पनि थप बिग्रनेवाला छ । चीनले यसलाई ‘न्यू नर्मल’का रूपमा स्विकारेको छ । चीनको अहिलेको चिन्ता व्यापार सम्बन्धभन्दा पनि बढी आउने अमेरिकी प्रशासनले ताइवान मुद्दालाई कसरी सम्बोधन गर्ला भन्नेमा रहेको छ । बाइडेन प्रशासनले ताइवानको रक्षाका लागि बारम्बार प्रतिबद्धता मात्र जनाएन, बाइडेनको कार्यकालमा ताइवान क्षेत्र थप अस्थिर रह्यो । 

सी चिनफिंगले त अमेरिकाले ताइवानमाथि आक्रमण गर्न चीनलाई उक्साइरहेको आरोपसमेत लगाए । त्यसतै चीनविरुद्ध बाइडेन प्रशासनले जसरी पूर्वी र दक्षिण पूर्वी एसियाले गठबन्धन निर्माणलाई तीव्रता दिएका छन्, त्यसले यस क्षेत्रमा शीतयुद्ध सुरु गराउने चिनियाँ चिन्ता छ । ट्रम्पको अघिल्लो कार्यकालका नीति हेर्ने हो भने उनले गठबन्धनको चिन्ताभन्दा पनि अमेरिकालाई बढी फाइदा हुने जुन उनको शब्दमा ‘उत्तम सम्झौता’ मा बढी केन्द्रित रहेका थिए । ट्रम्पले ताइवानलाई अमेरिकी व्यवसायलाई कमजोर बनाएको आरोप मात्र लगाएका छैनन्, ताइवानलाई दिने सहायताको पनि विरोध गरेका छन् ।

उनले दक्षिण कोरियाले अमेरिकालाई सम्झौताबमोजिमको थप पैसा नदिएमा त्यहाँबाट अमेरिकी सेना हटाउने धम्कीसमेत दिएका छन् । स्पष्ट के छ भने ट्रम्पलाई लिएर चीनमा जति अनिश्चितता छ, त्यति नै अनिश्चितता अप्रत्याशित ट्रम्पलाई लिएर कोरिया, ताइवान र फिलिपिन्समा पनि छ । यसको मतलब ट्रम्प निर्वाचित भएको खण्डमा यस क्षेत्रका राष्ट्रले सन्तुलित नीति अपनाउने सम्भावना बढी देखिन्छ ।

ad
ad
ad
ad