१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Tuesday, 02 July, 2024
२o८१ असार १७ सोमबार o८:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरण : झाविरुद्ध चार मुद्दामा अनुसन्धान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार o८:o१:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च तहका बिचौलिया मानिएका बेचन झाविरुद्ध प्रहरीले चार मुद्दामा अनुसन्धान अघि बढाएको छ । संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखत किर्ते मुद्दामा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

शनिबार पक्राउ परेका झालाई अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको छ । उनलाई संगठित अपराधसहित चार मुद्दामा अनुसन्धान थालिएको परिसरका एसपी नवराज अधिकारीले बताए । संगठित अपराधमा प्रहरीले उनलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा झा मुख्य बिचौलियाको भूमिकामा थिए । तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई पैसा उठाउने गिरोहसँग उनै झाले सम्पर्क गराइदिएका थिए । यसबापत झाले समेत आर्थिक लाभ लिएको अनुसन्धानमा खुलेको छ । यस मुद्दाका प्रतिवादीहरू टेकनारायण पाण्डे र रामशरण केसीले झाको भूमिका खुलाएका छन् । पाण्डेले उच्च राजनीतिक तहबाट सम्पर्क गरेर झा आफूलाई भेट्न आएको बताउँदै उनको बयानबाट यसमा संलग्न थप व्यक्तिको पहिचान हुन सक्ने बयान दिएका थिए । 

काठमाडौंको बानेश्वरमा घर भएका झाको भारतीय र नेपाली दुवै नागरिकता रहेको प्रहरीको भनाइ छ । उनले पर्साबाट नेपाली नागरिकता बनाएका छन् । यसअघि सो प्रकरणमा दायर भएकै मुद्दाको पूरक अभियोजनका रूपमा झामाथि मुद्दा चलाउने प्रहरी तयारी छ । 

सोही प्रकरणमा शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई भने अदालत पेस गरिएको थियो । आइतबार जिल्ला अदालतमा बयान भएकोमा नसकिएपछि थुनामा राख्न प्रहरीमै पठाइएको छ । उनीविरुद्ध भने एक वर्षअघि नै मुद्दा दायर भएकाले बयानपछि थुनछेक आदेश हुनेछ । प्रतीक बादल गृहमन्त्री हुँदा स्वकीय सचिवका रूपमा मन्त्रालयमा कार्यरत थिए । गिरोहका सदस्यसँग मन्त्रालयमै भेट गर्ने मात्र नभई दर्तामा छुट भुटानी शरणार्थीको सूचीमा नेपालीको नाम राखेर त्यसलाई स्वीकृत गरी विदेश पठाउने धन्दामा उनको प्रत्यक्ष संलग्न खुलेको छ । उनलाई पटकपटक करोडौँ पैसा दिएको हाल थुनामा रहेका केशव दुलाल र रामशरण केसीले बताएका छन् । 

ad
ad
ad
ad