रामेछापमा राष्ट्रिय परिचयपत्र लिन आउनेको संख्या न्यून रहेको छ । परिचय पत्र छापेर आएको लामो समय भइसक्दा पनि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिडभाड देखिन्न । प्रशासन कार्यालयले १ साउन ०७७ देखि कार्यालयबाट र ०७९ देखि स्थानीय तहमा कर्मचारीसहितको घुम्ती टोलीमार्फत बायोमेट्रिक विवरणसहित राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेको थियो । जसमा एक लाख ५९६ जनाले विवरण भरेका थिए ।
हालसम्म ३५ हजार नागरिकको परिचयपत्र बनेर जिल्ला प्रशासन कार्यालयमा आए पनि मंसिरको पहिलो हप्तासम्म पाँच हजारजनाले मात्रै लगेका छन् । ३० हजार परिचयपत्र कार्यालयमै थन्किएका छन् । कार्यालयले परिचयपत्र बनेर आएका नागरिकहरूको हकमा उनीहरूको मोबाइलमा म्यासेज सन्देश पठाउने गरेको छ । सन्देश पाउँदा पनि नागरिकहरू परिचयपत्र बुझ्न गएका छैनन् ।
जिल्ला प्रशासन कार्यालयले १२ मंसिरदेखि ३ चैत ०७९ सम्म रामेछापका आठवटै स्थानीय तहका वडावडामा घुम्ती शिविरको आयोजना गरी ७० हजार ९४० जनाको विवरण संकलन गरेको थियो । आर्थिक वर्ष ०७९/८० मा १८ हजार ३९१ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेका थिए । आव ०८०/८१ मा ११ हजार २६५ जनाले मात्रै विवरण भरेको जिल्ला प्रशासन कार्यालय रामेछापका कम्प्युटर अपरेटर कुमारदास श्रेष्ठले जानकारी दिए । ‘कार्यालयले नागरिकहरूलाई सूचना पठाउँदा पनि परिचयपत्र लिन आउनेको संख्या न्यून छ । अहिले परिचयपत्रका लागि कार्यालयमा आएर विवरण भर्नेको संख्या भने अधिक छ,’ उनले भने । सरकारले राहदानीबाहेक अन्य प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्दा परिचयपत्रप्रति नागरिकको चासो कम भएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले बताए ।