०७३ सालमा आगलागीबाट बस्ती सखाप भएपछि काकाकुल बनेको गुल्मीको मुसिकोट नगरपालिका–४, दजाकोटमा खानेपानी पुगेको छ । ०७३ वैशाख १८ गतेको आगलागीले ५७ घर र ७० गोठ पूर्ण तथा आठ घर आंशिक क्षति भएका थिए । आगलागीले खानेपानीका मुहानमा पनि क्षति पुगेपछि गाउँ काकाकुल बनेको थियो । जसकारण छल्दी खोला, ओलाङ्दी, रासी गाउँसम्म पुगेर पानी बोक्नुपरेको ५७ वर्षीय यमबहादुर गाहाले स्मरण गरे ।
तर, लिफ्टिङ प्रविधिमार्फत गत शुक्रबार भगलामगैरा खोलाको पानी घरका धारामा खसेपछि सहज भएको शिक्षकसमेत रहेका स्थानीय बोम छन्तेलले बताए । ०७३ को आगलागीपछि खानेपानीको अभाव चर्किएपछि बसाइँसराइ बढेको थियो । अहिले पानी पुगेपछि कृषि र पशुपालनका लागि पनि सजिलो भएको स्थानीय सरिता गाहाले बताइन् ।
भगलामगैरा–दजाकोट लिफ्टिङ खानेपानी योजनामार्फत १२३ घरमा धारा पुगेको छ । एक विद्यालय र एउटा सामुदायिक स्वास्थ्य केन्द्रमा समेत खानेपानीको व्यवस्था भएको भगलामगैरा–दजाकोट लिफ्टिङ खानेपानी उपभोक्ता समूहका सचिव दिलबहादुर सोनारीले बताए । लुम्बिनी प्रदेश सरकारको पूर्वाधार साझेदारी विकास कार्यक्रमको ६५ लाख, खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीको ९७ लाख ४८ हजार, नेपाल विद्युत् प्राधिकरणमार्फत ४३ लाख ९० हजारका विद्युतीय सामग्री र ३७ लाख ५० हजारको जनश्रमदानमा आयोजना बनेको सोनारीले बताए ।