मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ४ मंगलबार
  • Sunday, 24 November, 2024
टेकराज थामी काठमाडाैं
२o८१ मङ्सिर ४ मंगलबार o६:२३:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तस्करीको तीन किलो सुन लुटपाटमा सशस्त्रका डिएसपी र नेपाल प्रहरीका असइकै भूमिका शंकास्पद

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ४ मंगलबार o६:२३:oo

३१ दिन प्रहरी हिरासतमा बसेर छुटेपछि भरिया सुन तस्कर समूहको अपहरणमा, २० लाख रुपैयाँको चेकमा हस्ताक्षर गरेपछि अपहरणमुक्त 

केरुङ नाकाबाट तस्करीको तीन किलो सुन कन्टेनरमा राखेर काठमाडौं आउँदै गरेका भरिया रामकृष्ण वाइबालाई गत २५ साउनमा धादिङको गल्छी–खानीखोलाआसपासमा चार हतियारधारीको समूहले लुटेको थियो । जसमा सशस्त्र प्रहरीका डिएसपी र नेपाल प्रहरीका असइको भूमिका नै शंकास्पद देखिएको छ । उनीहरूको भूमिकासहित घटनाको अनुसन्धान गर्न प्रहरीले एसएसपी ईश्वर कार्कीको नेतृत्वमा समिति नै गठन गरेको छ ।

लुटपाटमा सशस्त्र प्रहरीका डिएसपी र नेपाल प्रहरीअन्तर्गत विशेष ब्युरोमा कार्यरत असइ (नाम नखुलाइएकाे)को शंकास्पद भूमिका देखिएको हो । त्यति वेला तस्कर समूहले भने लुटपाटमा संलग्न रहेको आशंकामा भरिया वाइबालाई नै अपहरण गरेको थियो । ‘लुटेको आशंकामा तस्करले सुन बोकेर आउने चालक वाइबालाई नै अपहरण गरेछन् । तर, खासमा सुन लुट्ने धन्दामा वाइबा नभई सशस्त्र प्रहरीका डिएसपी र नेपाल प्रहरीका असइको संलग्नतातिर अनुसन्धानको सुई सोझिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

घटनामा सशस्त्रका एक डिएसपी र नेपाल प्रहरीका एक असइको नाम पनि आएको छ  : एसपी काजीकुमार आचार्य, प्रवक्ता, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
अपहरणमा परेको भन्दै हामीकहाँ जाहेरी आयो । घटनाको अनुसन्धान भयो । चार अभियुक्त पक्राउ परे । सोधपुछका क्रममा घटना सुन तस्करी र लुटपाटसँग जोडिने देखियो । यस घटनामा सशस्त्रका एक डिएसपी र नेपाल प्रहरीका एक असइको नाम पनि आएको छ । घटना अनुसन्धान गर्न ‘हेडक्वार्टर’ले पहिले नै समिति गठन गरेको रहेछ । 

जाहेरीकर्ताका अनुसार घटनामा मुछिएका सशस्त्रका डिएसपी ललितपुरको हरिहर भवनस्थित राजस्व कार्यालयमा कार्यरत थिए । 

प्रहरीका अनुसार कन्टेनरचालक वाइबाले गत २४ साउनमा चालक सिटनजिकैको बत्ती जडान हुने ठाउँमा ‘कन्सिल’ गरी तीन किलो सुन केरुङ नाकाबाट ल्याएका थिए । यसका लागि तस्करले उनलाई एक लाख रुपैयाँ दिने प्रलोभन दिएका थिए । काठमाडौंमा सुन ‘रिसिभ’ गर्ने टोली आउने र सुन उसैलाई जिम्मा लगाउने निर्देशन पनि तस्करले वाइबालाई दिएका थिए । सोही निर्देशनअनुसार वाइबा सुन बोकेर रसुवाको बाटो हुँदै आउँदै थिए । तर, बाटोमै पुरानो योजना अन्तै मोडिएको अनुसन्धानमा खुलेको छ ।

वाइबा सुन बाटोमै लुकाएर काठमाडौं आए । काठमाडौं आउँदा–आउँदै मनमा डर पैदा भएपछि निकट सम्बन्ध रहेका मामाका छोरा निमा छिरिङलाई घटनाको विवरण सुनाए । प्रहरीले पक्राउ गरे थुनामा पर्ने, तर सूचना दिए कमिसन आउने भएपछि निमाको मनमा जुक्ति फुर्‍यो, ‘घटनाको सूचना प्रहरीलाई दिने ।’ उनले आफ्नो योजना वाइबालाई भने । वाइबा निमाको योजनामा सहमत भए । 

जाहेरीकर्ताका अनुसार निमाको सम्पर्क नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत असइसँग थियो । उनले घटनाको विवरण असइलाई भने । उनले प्राप्त सूचना आफू कार्यरत संगठनमा भनेनन् । तर, हरिहर भवनस्थित राजस्वमा कार्यरत सशस्त्रका डिएसपीलाई भने । डिएसपीले निमालाई तत्काल भेटे । उनलाई लिएर बालाजु औद्योगिक क्षेत्रस्थित सशस्त्रको ‘क्याम्प’ गए । 

कन्टेनरचालक वाइबाले बालाजुमा सुन लिएर आउने र सुन रिसिभ गर्न बसेका टोलीलाई त्यहीँ रंगेहात पक्राउ गर्ने योजना डिएसपीले निमालाई बताए । निमा सोहीअनुसार बालाजुस्थित सशस्त्रकै ‘क्याम्प’मा बसे । उता कन्टेनरचालक वाइबालाई भने चार हतियारधारीको समूहले धादिङको खानीखोलामा रोक्योे । सुन लुकाइएको ठाउँ देखाउन कन्चटमा पेस्तोल राख्यो । डराएका वाइबाले सुन देखाए । हतियारधारी समूहले सुन लुटेर लग्यो । 

डराएका वाइबा कन्टेनर चलाउँदै बालाजु आइपुगे । त्यही क्रममा उनलाई सशस्त्रको टोलीले पक्राउ गर्‍यो । त्यसअघि सशस्त्रको टोलीले निमासहित सुन बुझ्न पर्खिबसेका अन्य दुई भाइलाई पक्राउ गरिसकेको थियो । ३१ दिनको हिरासत बसाइपछि वाइबा गत २६ भदौमा छुटे । तर, तस्करले वाइबालाई गत ४ असोजमा अपहरण गरे । अपहरणकारीले उनलाई बुढानीलकण्ठस्थित शैलजा रिसोर्टमा लगेर बन्धक बनाएका थिए । २० लाख रुपैयाँको चेकमा हस्ताक्षर गरेपछि मात्रै उनी अपहरणमुक्त भएका थिए । 

अपहरणमा संलग्न रसुवा गोसाइँकुण्ड गाउँपालिका– १ का ३१ वर्षीय बुद्धिबहादुर तामाङ, गोसाइँकुण्ड गाउँपालिका– ५ का ३८ वर्षीय नुर्पसिंगी तामाङ, गोसाइँकुण्ड गाउँपालिका– ६ का ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र रसुवा कालिका गाउँपालिका– १ का ४८ वर्षीय गोपाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले अपहरणमा संलग्न चार अभियुक्तको सम्बन्ध सुन तस्करीसँग रहेको देखिने बताए ।

उनले भने, ‘अपहरणमा परेको भन्दै हामीकहाँ जाहेरी आयो । घटनाको अनुसन्धान भयो । चार अभियुक्त पक्राउ परे । सोधपुछका क्रममा घटना सुन तस्करी र लुटपाटसँग जोडिने देखियो । यस घटनामा सशस्त्रका एक डिएसपी र नेपाल प्रहरीका एक असइको नाम पनि आएको छ । घटना अनुसन्धान गर्न ‘हेडक्वार्टर’ले पहिले नै समिति गठन गरेको रहेछ । बाँकी तथ्य भने उहाँहरूलाई नै थाहा होला ।’

सच्याइएको 
सुन लुटापटमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सम्बन्धित अधिकारी (अनुसन्धानका क्रममा रहेको हुँदा नाम सार्वजनिक नगरिएको)को नाम उल्लेख हुनुपर्नेमा अन्यथा पर्न गएकोले सच्याइएको छ । –सम्पादक