१.ह्याकरको आक्रमणपछि राहदानी सेवा नै बन्द गर्नुपर्ने अवस्था किन आयो होला ?
हामीकहाँ साइबर सेक्युरिटीसम्बन्धी आवश्यक सम्पूर्ण नीति, नियम नै बनिसकेका छैनन् । व्यक्तिका सामाजिक सञ्जाल, बैंक खातालगायत ‘ह्याक’ भइरहेका छन् । मोबाइल फोन ट्र्याकिङ भइरहेको छ । जसले गर्दा साइबर समस्या महासागरजस्तो फैलिइसकेको छ । तर, त्यसलाई सम्बोधन गर्नेगरी हामीकहाँ समयसापेक्ष नीति, नियम बनेकै छैन । व्यक्ति आफैँ पनि साइबर सुरक्षासम्बन्धी पर्याप्त सचेत छैनन् । करोडौं खर्चेर विज्ञापन गर्नु या सचेतना अभियान चलाउनुभन्दा समयसापेक्ष नीति नियम बनाएर व्यक्तिले आफ्ना सामाजिक सञ्जाल तथा बैंकिङ एपहरूमा राख्ने सामान्य र अनुमानयोग्य पासवर्डहरू राख्नै नमिल्ने बनाइएको छैन । सामाजिक सञ्जालमा आउने अवाञ्छित पोस्टहरू आफैँ हटाइदिने फायर वालहरू प्रयोग गरिएका छैनन् । यी विविध कारणले यस्तो अवस्था आएको हो ।
२.साइबर सुरक्षाका दृष्टिले यो कति गम्भीर समस्या हो ?
यो अत्यन्त गम्भीर समस्या हो । यस्ता आक्रमणले नेपाल सरकारको डेटाबेसमा भएका सबै सूचनामा ह्याकरको पहुँच पुग्न सक्छ । अहिलेको जमानामा जोसँग बढी डेटा छ, उही शक्तिशाली हुने अवस्था छ । हाम्रो डेटा पाइसकेपछि ह्याकरलाई हाम्रो सबै ‘प्याटर्न’ थाहा हुन्छ । जसले गर्दा केही पटकको प्रयासमै हाम्रो पासवर्डसमेत थाहा पाउन सकिन्छ । हाम्रा बैंकहरूले प्रयोग गर्ने एपहरू समयसापेक्ष अपडेटेड छैनन् । सरकार प्रवर्धित कतिपय एपका कारण हाम्रा सम्पूर्ण डेटा असुरक्षित भएका छन् । त्यसैले, ह्याकरले सरकारी डेटाबेसदेखि सर्वसाधारणको व्यक्तिगत डेटाको समेत दुरुपयोग गर्न सक्छन् ।
३.भविष्यमा यस्ता समस्या दोहोरिन नदिन के गर्नुपर्ला ?
सबैभन्दा पहिले सरकारले समय सापेक्ष नीति, नियम ल्याउनुपर्छ । साइबर सेललाई सरकारको पाँचौँ अंग बनाएर जानुपर्छ । साइबर सेलको जिम्मेवारी बाँडेर हुँदैन । क्यासिनोमा नेपालीलाई प्रतिबन्ध लगाएजस्तो बिटक्वाइनमा पनि नेपालीलाई प्रतिबन्ध लगाएर यसको दायरा सीमित बनाउनुपर्छ ।