ह्याकरको आक्रमणबाट सिस्टममा भाइरस प्रवेश गरेपछि राहदानी (पासपोर्ट) सेवा प्रभावित भएको छ । यससँगै राहदानी विभागले डिजिटल माध्यमबाट राहदानी बनाउने तथा वितरण गर्ने प्रक्रिया बन्द गरेको छ ।
जिल्ला र विदेशस्थित नियोगबाट सेवा दिइरहेको कम्प्युटरमा ¥यान्सम वेयर भनिने भाइरसबाट आक्रमण भई फाइल करप्ट गर्ने र पैसा माग्ने स्थिति आएपछि अनलाइन सेवा बन्द गरिएको महानिर्देशक तीर्थराज अर्यालले बताए । अर्यालका अनुसार ललितपुरसहित केही जिल्ला र नियोग गरी ११ वटा कम्प्युटरमा समस्या देखिएको छ ।
भाइरसको समस्या देखिएका ११ कम्प्युटरको एकीकृत डाटा व्यवस्थापन केन्द्रमा बिहीबारदेखि जाँच भइरहेको छ । ‘बिहीबारदेखि डाटा सेन्टरमा कम्प्युटर जाँच भइरहेको छ । शनिबार पनि जाँच हुन्छ,’ महानिर्देशक अर्यालले भने, ‘फाइनल सेक्युरिटी जाँच भइसकेपछि सेवा सञ्चालनमा ल्याउँछौँ ।’
विभागका अनुसार केन्द्रीय प्रणालीभन्दा पनि स्थानीय प्रणालीमा समस्या देखिएपछि सतर्कताका लागि सट डाउन गरिएको हो । ‘जुन ठाउँमा इन्फेक्ट भयो, त्यहाँ सेवा अवरोध भइहाल्यो । अन्त पनि इन्फेक्ट गर्न सक्छ भनेर सतर्कता अपनाएर सट डाउन ग¥यौँ,’ महानिर्देशक अर्याल भन्छन् ।
अर्यालले विभागको केन्द्रीय प्रणालीलाई नै केन्द्रित नगरेकाले सुरक्षाका उपाय अपनाएर शीघ्र सेवा पुनः सञ्चालनमा ल्याउने आफूहरूको प्रयत्न रहेको बताए । ‘हामीलाई नै टार्गेट गरेको देखिएन । विभागमा चाहिँ छैन । विभागबाहिर जिल्ला र नियोगमा समस्या हो । तर, कहाँबाट भाइरस आयो भन्ने ट्र्याक नगरेसम्म समस्या नै छ,’ उनले भने । जिल्ला र नियोगमा भने सेवा सञ्चालन हुन केही समय लाग्ने उनको भनाइ छ ।
राहदानी विभागले आइतबारदेखि क्रमशः राहदानी सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । ‘सिस्टममा डिस्टर्बेन्स आएपछि थप जोखिमलाई आकलन गरेर अनलाइन सेवा बन्द गरी सतर्कता अपनाएका हौँ । विभागबाट केही फर्म लिने अफलाइन काम भइरहेको छ । पूर्ण रूपमा सेवा सञ्चालन हुन अझै एक–दुई दिन लाग्छ,’ महानिर्देशक अर्यालले भने ।
राहदानी विभागले दैनिक ६ हजारहाराहारी राहदानी वितरण गर्दै आएको छ । त्रिपुरेश्वरस्थित विभागबाट दैनिक औसत १५ सय र बाँकी जिल्ला तथा नियोगबाट राहदानी सेवा प्रवाह हुँदै आएको छ । सेवा प्रभावित भएपछि सेवाग्राही मर्कामा परेका छन् । विदेशस्थित कतिपय नेपाली नियोगले डिजिटल प्रणालीमा आएको समस्याका कारण सेवा दिन नसक्ने भन्दै सूचना नै जारी गरेका छन् ।