सन् २०१९ मा १३औँ दक्षिण एसियाली खेलकुद (साग) नेपालमा भएको थियो । एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा भारत र श्रीलंकाली खेलाडीको दबदबा थियो । यी दुई राष्ट्रका खेलाडीको एकाधिकार चिर्दै नेपालका धावक गोपीचन्द्र पार्कीले पाँच हजार मिटरमा राष्ट्रलाई ऐतिहासिक स्वर्ण दिलाउन सफल भए । यद्यपि, सन् २००६ को कोलम्बो सागमा राजेन्द्र भण्डारीले स्वर्ण नजितेका होइनन् । तर, डोपिङमा मुछिएपछि उनका दुवै स्वर्ण खोसिए । पार्कीले सानैदेखि भण्डारीले गुमाएको स्वर्ण जित्ने संकल्प गरेका थिए । घरमै आयोजना भएको सागमा उनले आफ्नो प्रतिज्ञासँगै स्वर्ण हात पारे । धनगढीमा जन्मिएका पार्कीको अर्को सपना ओलम्पिक खेल्नु थियो । तर, टोकियो ओलम्पिकमा नेपाल ओलम्पिक कमिटीले उनको स्थानमा अर्कै खेलाडीलाई प्रतिस्पर्धा गर्न पठायो । उनको ओलम्पिक खेल्ने सपना अझै जीवितै छ । पार्कीले १३औँ सागमा पदक जित्दाको क्षण र ओलम्पिकको सपना पूरा नभएको क्षणलाई नयाँ पत्रिकाका रमेश सुवेदीलाई सुनाएका छन् :
आठ कक्षामा पढ्दा राजेन्द्र भण्डारी दाइले सन् २००६ मा कोलम्बो सागमा जित्नुभएको स्वर्ण खोसिएको थाहा पाएको थिएँ । उहाँको त्यो पदक कसरी खोसिएको थियो भन्ने जिज्ञासा थियो । त्यही समयमा एउटा संकल्प गरेको थिएँ, जसरी पनि राजेन्द्र दाइले गुमाएको पदक मैले राष्ट्रलाई दिलाउनुपर्छ । बुबा र आमाका आठ सन्तानमध्ये मैले एथ्लेटिक्स रोजेको हुँ । स्कुल लेभलमै मैले राष्ट्रपति रनिङ सिल्डमा दुई सय मिटरमा राम्रो दौडिएपछि काठमाडौं आउने अवसर मिल्यो । ०६३ ताका दुई महिनाका लागि म काठमाडौं आएँ ।
यहाँ एथ्लेटिक्स विधामा स्पाइक भन्ने के हो ? थाहा थिएन । काठमाडौंमा भएको प्रतियोगितामा म आठजना सहभागीमा आठौँ स्थानमा सीमित भएँ । मलाई विभागीय टोलीबाट खेल्ने इच्छा जाग्यो । धनगढीको बनबेडामा एपिएफको गण थियो । ०६६ सालमा म एपिएफको जागिरे भएँ । वास्तवमा म एपिएफमा खेलाडीका रूपमा छिरेको थिएँ । तर, सरहरूले मलाई बन्दुक बोकाएर ड्युटीमा खटाए । यसबिच मैले वैद्यनाथ बाहिनीमा १२ महिनाको तालिम लिएँ । र, मेरो दरबन्दी खप्तड भयो ।
रजत वा कांस्य जित्दा केही समयका लागि नाम रहन्छ । तर, स्वर्ण जित्ने खेलाडीको नाम भने सधैँ लिने गरिन्छ । मेरो दृढ संकल्प नै १३औँ सागमा स्वर्ण थियो । योबाहेक मसँग अरू विकल्प नै थिएन ।
मैले पहाडमा पनि खुबै दौडिएँ । तर, मलाई प्रशिक्षण र ड्युटी पटक्कै मन परेको थिएन । एपिएफमा खेल्न आएको व्यक्ति बन्दुके हुन थालिसकेको थिएँ । विशेष तालिममा पहिलो हुँदा काठमाडौं जान पाइन्छ भन्ने थाहा पाएँ । तर, काठमाडौंमा आउँदा क्लबमा बस्न नपाइने रहेछ । साथीहरूले क्लबमा जान दबाब दिएका थिए । मेरो भाग्य नै भन्नुपर्छ, माधव रेग्मी सर क्लबमा आउनुभयो । जीवेश पाण्डे सरसँग म काठमाडौंमा आए र ०७९ देखि एपिएफको क्लबबाटै जोडिए । सोही वर्ष राष्ट्रिय टिममा परेँ ।
२०७० देखि राष्ट्रिय टोलीमा
०७० सालदेखि निरन्तर राष्ट्रिय टोलीमा छु । कहिलेकाहीँ स्वास्थ्यका कारण टिमबाहिर भएको छु । ०७७ सालमा भएको आठौँ राष्ट्रिय खेलकुदमा राम्रो प्रदर्शन गर्दै एपिएफलाई पदक दिलाएँ । मेरो विशेषता १० किमि र पाँच किमि दौड हो । यही दुई विधामा मैले राम्रो तयारी गरेको थिएँ । आठौँ राष्ट्रिय खेलमा मभन्दा अनिश थापा मगर र दुर्गा बुढा असाध्यै राम्रा थिए । दौडको चार ल्यापपछि थाहा पाएँ, मैले स्वर्ण जित्न सक्दिनँ । यद्यपि, म तेस्रो भएँ । अहिले पाँच हजार मिटरमा मलाई उछिन्न कोही आएको छैन भन्दा फरक नहोला ।
आठौँ राष्ट्रिय खेलकुदपछि राष्ट्रिय टोलीको क्याम्पमा राखियो । क्याम्पमा हरि रिमाल, गजेन्द्र राई र दीपक अधिकारी थिए । हामी सबैले १० र पाँच किलोमिटरमा प्रतिस्पर्धा गरेका थियौँ । एकै विधामा धेरै खेलाडी हुँदा कुनै एक विधा छान्नुपर्छ । सबैको सल्लाहअनुसार मैले १३औँ सागमा पाँच हजार मिटरमा प्रतिस्पर्धा गर्ने निर्णय लिएँ ।
प्रशिक्षणमै स्वर्ण जित्ने आत्मविश्वास
सन् २०१९ मा काठमाडौंमा भएको १३औँ सागको प्रशिक्षणमा रहँदा मैले संघका तत्कालीन महासचिव सुनील राजवंशीलाई पाँच हजारमा स्वर्ण पदक राष्ट्रलाई दिलाउन सक्छु भनेको थिएँ । यो विधामा मलाई कुनै समस्या थिएन । मेरो अर्को लक्ष्य ओलम्पिक खेल्ने थियो । यसका लागि सागमा स्वर्ण जित्नुपर्छ भन्ने थियो । यसै कारण घरमै आयोजना भएको सागमा स्वर्ण जित्नेप्रति म ढुक्क थिएँ । वास्तवमा त्यसवेला ओलम्पिक खेल्नका लागि स्वर्णमा दाबेदारी दिएको थिएँ । फेरि एक खेलाडीले आफूलाई समर्थक र राष्ट्रलाई चिनाउने उत्तम माध्यम स्वर्ण थियो ।
रजत वा कांस्य जित्दा केही समयका लागि नाम रहन्छ । तर, स्वर्ण जित्ने खेलाडीको नाम भने सधैँ लिने गरिन्छ । यसै कारण मेरो दृढ संकल्प नै १३औँ सागमा स्वर्ण थियो । योबाहेक मैले अरू विकल्प नै गरिनँ । प्रशिक्षणमा रहँदा एउटा रोचक पक्ष छ । हाम्रा मुख्य गुरु चन्द्रबहादुर गुरुङलाई भने मैले सागमा स्वर्ण जित्छु भन्ने पटक्कै विश्वास थिएन । उहाँलाई मैले अक्सर भन्थें, ‘गुरु मेरोतर्फबाट स्वर्णबाहेक अरू आउँदैन ।’ यसो भन्दा गुरु मुसुक्क हाँस्नुहुन्थ्यो । मैले आफूमाथि विश्वास राख्नुपर्छ । अरूले विश्वास गर्दैनन् । सागको प्रशिक्षणमा फुटबल, क्रिकेट र भलिबल खेलले जस्तो सुविधा पाएनौँ । यद्यपि, एथ्लेटिक्सको प्रशिक्षण उनीहरूको भन्दा नराम्रो भने थिएन । सुन्धारामा बसेर ६ महिनाभन्दा बढी प्रशिक्षण गर्ने अवसर मिल्यो । प्रतियोगिताका क्रममा हामी एथ्लेटिक्स टोलीलाई ठमेलको होटेलमा राखियो ।
सन्तोषीको प्रदर्शनले हौसिएँ
दशरथ रंगशालामा साग सुरु भयो । एथ्लेटिक्स खेल पछि नै थियो । यस क्रममा म हरेक खेलाडीको खेल हेर्न पुग्थँे । एलेटिक्समा टंक कार्कीले पहिलो प्रतिस्पर्धामै कांस्य जितेपछि हामी सबै हौसियौँ । तर, मेरो लक्ष्य पहिलो स्थान नै थियो । अर्को दिन सन्तोषी श्रेष्ठको खेल थियो । उसले स्वर्ण नै पदक जित्यो । नेपालको एथ्लेटिक्स विधामा एक महिला नेपाली खेलाडीले स्वर्ण जितेको पहिलो अवसर थियो । यसले पनि हामी झनै आत्मविश्वासी भयौँ । सन्तोषीपछि मलाई पुरुषतर्फ स्वर्ण पदक जित्ने अवसर जुरेको थियो । पाँच हजार मिटरमा म र हरि रिमालले भाग लियौँ । हामीलाई दक्षिण एसियामा पछि पार्ने अरू खेलाडी छैनन् । सधैँ हामी दुईबिच अन्तिम ल्यापसम्म सँगै हुन्थ्यौँ ।
दौड सकिन एक सय १० मिटर बाँकी रहँदा भएभरको बल लगाएर कुदेँ । अन्तिम ल्यापमा भारतीय र हरि दाइलाई एक वा दुई मिटरले पछि पार्दै राष्ट्रलाई स्वर्ण दिलाएँ । अनि सागमा मेरो स्वर्ण जित्ने र राजेन्द्र दाइले यसै विधामा गुमाएको स्वर्ण फर्काउने सपना पूरा भयो ।
सागको पाँच हजार मिटर दौडको फाइनलमा म, हरि, भारत, श्रीलंका र भुटानका खेलाडी स्वर्णका लागि दाबेदारीमा उभिएका थिए । वास्तवमा खेलमा दबाब थियो । मुख्य स्पर्धाको राति सुत्ने वेला धेरै सोच आएको थियो । जिन्दगीभरको मिहिनेत देखाउने अवसर आएको छ । यही सोचले खासै निद्रा लागेन । बिहानदेखि मुटु जोडले ढुकढुक भइरहेको थियो । खान मन खासै लागेन । तर, घाँटीमा स्वर्ण पदक भिरेको झलझली देखिरहेको थिएँ । गुवाहाटीमा भएको १२औँ सागमा पाँचौँ भएको थिएँ । तर, १३औँ सागमा स्वर्ण पदक जित्ने संकल्प थियो ।
भारतीय र हरि दाइलाई उछिन्दै स्वर्ण जितेँ
पाँच हजार मिटर दौडको फाइनल सुरु भयो । सबै खेलाडीले आआफ्नै रणनीति बनाएका थिए । ट्र्याकमा मभन्दा पनि तीव्र गतिका धावक थिए । दौडमा २० मिटर पछि हुँदा धेरै फरक पर्न सक्छ । अचम्म ! जब दौड सुरु भयो, मैले सोचेको भन्दा फरक पाएँ । मसँगै दौडिएका विपक्षी धावकले सुस्त सुरुवात गरे । मैले ट्रायलमा १४ मिनेट १० सेकेन्ड र १४ मिनेट १५ सेकेन्डमा दौड पूरा गरेको थिएँ । सुशीलनरसिंह राणा गुरुले मेरो बारे सबै अध्ययन गर्नुभएको थियो । चार ल्यापपछि ६६ रेस ल्याएँ । यही वेला भारतीय खेलाडी सुनील र अर्का खेलाडीले मलाई ट्र्याकमा छेक्न कोसिस गरेका थिए ।
एक हजार मिटरका लागि दौडिँदा म चारजनाभन्दा पछि थिएँ । अन्तिम एक ल्यापमा म, हरि दाइ, भारतका सुनील र भुटानी खेलाडी मात्र थियौँ । यही समयमा मैले आफ्नो गतिलाई बढाएँ । बस, मेरो तर्फबाट कुनै गल्ती गर्नु भएन भन्ने थियो । भारतीय धावक अगाडि कुदे । दुई सय मिटर बाँकी रहँदा भारतीय र हरि दाइलाई अगाडि पाएँ । अझै पनि म २० मिटर पछि छु भन्ने लाग्यो अनि दिमाग लगाएँ । एक सय १० मिटरपछि बाटो खाली भयो । भएभरको बल लगाएर कुदेँ । अन्तिममा उनीहरूलाई एक वा दुई मिटरले पछि पार्दै राष्ट्रलाई स्वर्ण दिलाएँ । अनि सागमा मेरो स्वर्ण जित्ने र राजेन्द्र दाइले यसै विधामा गुमाएको स्वर्ण फर्काउने सपना पूरा भयो । त्यसपछि ओलम्पिक खेल्ने सपना पनि पूरा भयोे ।
सागमा राष्ट्रलाई स्वर्ण दिलाएपछि समर्थक, घरपरिवार र म आबद्ध विभागबाट नसोचेको बधाई पाएँ । त्यही वेला एक खेलाडीका लागि स्वर्णको महŒव कति रहेछ थाहा भयो । सागमा दीपक विष्ट, वैकुण्ठ मानन्धर दाइहरूसँगै नेपाली खेलकुदमा मेरो नाम पनि थप भयो । यससघि दशरथ रंगशालामा छिर्दा मलाई कसैले चिन्दैनथ्यो । अब सागको स्वर्णधारी भनी सबैले चिन्न थाले । उनीहरूले फरक व्यवहार देखाए । सागमा स्वर्ण जित्दा मैले १५–२० लाख रुपैयाँ जम्मा गरेँ ।
ओलम्पिक खेल्ने सपना अझै अधुरै
स्वर्ण पदक जितेपछि मलाई सन् २०२० मा टोकियो ओलम्पिकमा पठाउने वाचा सम्बन्धित निकायका पदाधिकारीले ‘तिमी नै उत्कृष्ट खेलाडी’ भनेका थिए । नेपाल ओलम्पिक कमिटीले अन्तिममा झेल ग¥यो । मेरो स्थानमा सरस्वती चौधरीलाई ओलम्पिक खेल्न पठायो । स्वर्ण जितेको व्यक्ति नेपालमा र सागमा केही सफलता हात नपारेका खेलाडीले ओलम्पिक खेल्ने अवसर पाए । ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा आफ्नो तर्फबाट गल्ती भएको भन्यो । उनीहरूले अर्काेपटक ओलम्पिकमा पठाउँछौँ भनेर दोस्रो वाचा गरे । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठसँग एक घण्टा कुराकानी हुँदा मलाई चीनको हाङझाउमा भएको १९औँ एसियाडमा पठाउने भनियो । तर, दोस्रोपटक थाहा नै नदिएर सन्तोषी श्रेष्ठलाई पठाइयो । मलाई खेलाडीप्रति कुनै गुनासो छैन । सबै प्रतिभावान् खेलाडी हुन् । मेरो सपनासँग उनीहरूले खेलबाड गरे । मेरो सबै मिहिनेत पानीमा बग्यो । कोरोनाको समयमा पनि ओलम्पिकको तयारी गरेको थिएँ । त्यसवेला राति दुई बजे कुद्ने गर्थँे । कोरोनाको समयमा चार बजेपछि प्रहरीले बाटोमै उभ्याउने हुँदा दुई बजेदेखि चार बजे बिहान रिङरोडमा दौडिन्थेँ । मेरो अझै ओलम्पिक खेल्ने सपना मरेको छैन ।