खानेतेलको व्यापारमा वृद्धि हुँदा चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो चार महिनाको समग्र वैदेशिक व्यापारमा सामान्य सुधार आएको छ । मुलुकको आयात–निर्यात दुवैमा वृद्धि भएको भन्सार विभागद्वारा शुक्रबार जारी तथ्यांकमा उल्लेख छ । यसो हुनुमा खानेतेलको व्यापारले महŒवपूर्ण योगदान पु¥याएको देखिन्छ ।
चार महिनामा नौ अर्ब ६० करोड रुपैयाँको कच्चा सूर्यमुखी तेलको आयात भएको छ । गत आवको यो अवधिमा पाँच अर्ब ४३ करोडको कच्चा सूर्यमुखी तेल आयात भएको थियो । अर्थात्, पोहोरको तुलनामा चार अर्ब १६ करोडभन्दा बढीले कच्चा सूर्यमुखी तेल आयात भएको छ ।
त्यस्तै, गत आवको तुलनामा एक अर्ब ४४ करोडभन्दा बढीले कच्चा भटमासको तेल आयात भएको छ । यो अवधिमा सात अर्ब २१ करोडको कच्चा भटमासको तेल आयात भएको हो ।
निर्याततर्फ पनि सूर्यमुखी र भटमासको तेलमा उल्लेख्य वृद्धि भएको देखिन्छ । चार महिनामा एक अर्ब ५० करोडको सूर्यमुखी तेल निर्यात भएको छ भने तीन अर्ब ४१ करोडको भटमासको तेल निर्यात भएको छ । गत आवको चार महिनाको तुलनामा सूर्यमुखी तेल एक अर्ब ३९ करोड र भटमासको तेल तीन अर्ब २६ करोड बढीले निर्यात भएको हो ।
नेपालमा ठुलो मात्रामा व्यावसायिक खेती नहुने सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दै प्रशोधन गरी निर्यात गर्ने प्रचलनले निरन्तरता पाएसँगै यसले समग्र वैदेशिक व्यापारलाई पनि उचालेको हो । करिब एक महिनाअघि भारतले आयातीत प्रशोधित खानेतेलको महसुल ३२.५ प्रतिशतबाट घटाएर १७.५ प्रतिशत पु¥याएको थियो । यसको लाभ उठाउन अहिले उद्योगीहरूले धमाधम तेलको निर्यात बढाउन थालेका हुन् ।
चार महिनाको अवधिमा पाँच खर्ब १३ अर्ब ३८ करोड रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।
कात्तिकको आयात र निर्यातमा सामान्य वृद्धि
भदौमा सुधार देखिए पनि गत असोजमा वस्तु आयात खस्किएको थियो । तर, कात्तिकमा आयात बढेको देखिन्छ । ०८० को कात्तिकमा एक खर्ब चार अर्बको वस्तु आयात भएकोमा ०८१ को कात्तिकमा एक खर्ब २२ अर्बको वस्तु आयात भएको छ ।
त्यस्तै, चालू आर्थिक वर्षका सुरुका महिनाहरूमा निरन्तर खस्किएको निर्यात कात्तिकमा बढेको हो । ०८१ को कात्तिक महिनामा १४ अर्ब २९ करोडको निर्यात भएको छ । ०८० को कात्तिकमा नौ अर्ब ६९ करोडको निर्यात भएको थियो ।
धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ र निर्यातमा गलैँचा अगाडि
चालू आवको चार महिनामा बढी आयात हुने प्रमुख वस्तुहरूमा पेट्रोलियम पदार्थ, फलामजन्य उत्पादन, स्मार्टफोन, हट रोल्ड आइरन, औषधिहरू, कच्चा सूर्यमुखी तेल, युरिया, कच्चा भटमासको तेल, १०० किलोवाटसम्मका विद्युतीय गाडी, कोइला र रासायनिक मल परेका छन् । यद्यपि, सबैभन्दा बढी आयात भएको पेट्रोलियम पदार्थ मूल्यमा नौ अर्ब ४६ करोड रुपैयाँले घटेको छ । समीक्षा अवधिमा ७६ अर्ब एक करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको सोही अवधिमा ८५ अर्ब ४८ करोडको आयात भएको थियो । त्यस्तै, कोइलाको पनि आयात ५८ करोड ८८ लाख रुपैयाँले घटेको छ । रासायनिक मलको आयात चार अर्ब ७९ करोडले घटेको छ । १५ अर्ब ९६ करोडको फलामजन्य उत्पादन, १३ अर्ब ४० करोडको स्मार्टफोन, १२ अर्ब ८८ करोडको हट रोल्ड आइरन, नौ अर्ब ९७ करोडको औषधि, नौ अर्ब ५९ करोडको युरिया र पाँच अर्ब ४२ करोडको १०० किलोवाटसम्मका विद्युतीय गाडी आयात भएको छ ।
बढी निर्यात हुने वस्तुहरूमा गलैँचा, भटमासको तेल, धागो, प्लाई, कालो चिया, अलैँची, फेल्ट, रोल्ड आइरन, जुटको फेब्रिक, जुस र सूर्यमुखी तेल छन् । बढी निर्यात भएका गलैँचा, अलैँची र जुसको निर्यात गत आवको सोही अवधिको तुलनामा घटेको देखिन्छ । गलैँचाको निर्यात १० करोड ४१ लाखले घटेर तीन अर्ब ६० करोडमा सीमित छ । अलैँचीको निर्यात २५ करोड ४९ लाखले घटेर एक अर्ब ९० करोडमा खुम्चिएको छ भने जुसको निर्यात ४३ करोड २० लाखले घटेर एक अर्ब ५५ करोडमा सीमित छ । धागोको तीन अर्ब एक करोडको निर्यात भएको छ भने प्लाईको दुई अर्ब ६२ करोडको निर्यात भएको छ । दुई अर्ब २१ करोडको कालो चिया, एक अर्ब ८६ करोडको फेल्ट, एक अर्ब ७२ करोडको रोल्ड आइरन र एक अर्ब ६८ करोडको जुटको फेब्रिक आयात भएको छ ।