मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३ सोमबार
  • Sunday, 24 November, 2024
टेकराज थामी काठमाडाैं
२o८१ मङ्सिर ३ सोमबार o६:o९:oo
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमाले प्रदेश सांसद ज्ञानबहादुर तामाङ पनि मुछिए सहकारी अपचलनमा, ११ हजार बचतकर्ताको दुई अर्ब जोखिममा

Read Time : > 7 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ३ सोमबार o६:o९:oo

बिचल्लीमा परेका नेसनल नमोबुद्ध सहकारीका बचतकर्ताको छुट्टाछट्टै समूहले प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा एक वर्षअघि नै उजुरी दिए पनि कुनै सुनुवाइ भएन, बरु बचत फिर्ता माग्न आउनेहरू बढ्न थालेपछि प्रायः सहकारीको कार्यालय नै बन्द गर्ने गरिएको छ

एमाले बागमती प्रदेश सांसद ज्ञानबहादुर तामाङ पनि सहकारीको रकम अपचलनमा मुछिएका छन् । काठमाडौंको सामाखुसीस्थित नेसनल नमोबुद्ध सहकारीका तत्कालीन अध्यक्ष तामाङसहितका पदाधिकारीका कारण ११ हजार बचतकर्ताको करिब दुई अर्ब जोखिममा परेको छ । बिचल्लीमा परेका बचतकर्ताका छुट्टाछट्टै समूहले प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिए पनि कुनै सुनुवाइ भएको छैन ।

सहकारीको अध्यक्ष हुँदा महँगो ब्याजको प्रलोभन देखाएर बचतकर्ताबाट कुस्त रकम उठाएका तामाङले नुवाकोटको लिखु गाउँपालिका– ९ थानसिङमा ४४ रोपनी जग्गा खरिद गरेका थिए । सबै जग्गा ककनी गाउँपालिका– ९ की चिनीमाया लामाको नाममा पास गरेका थिए । सोही जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर सहकारीको नाममा १४ करोड ऋण झिकेर मनपरि ढंगले परिचालन गरे । तामाङपछि अध्यक्ष बनेका राजकुमार लामासहितका अहिलेका पदाधिकारीले पनि त्यसैलाई निरन्तरता दिए ।

सहकारीका अहिलेका अध्यक्ष लामासहितका पदाधिकारी र पूर्वअध्यक्ष तथा सांसद तामाङ मिलेर सहकारीको बचत अपचलन गरेको बचतकर्ताहरूको भनाइ छ । ०७२ देखि ०७८ सम्म सहकारीका अध्यक्ष रहेका सांसद तामाङ सहकारीबाट बाहिरिएलगत्तै रकम हिनामिना भएको हल्ला चल्न थाल्यो । त्यसको केही समयपछि बचत फिर्ता माग्दा सहकारीले दिन आनाकानी गरेको बचतकर्ताहरूको भनाइ छ । तामाङ २९ पुस ०७९ मा सम्पन्न सहकारीको २२औँ वार्षिक साधारणसभाबाट अध्यक्षबाट बाहिरिए । त्यसयता लामा अध्यक्ष छन् ।

आफू अध्यक्ष हुँदा बैंकबाट झिकेको ऋणको तामाङले सुरुका केही किस्ता तिरे पनि पछि आलटाल गर्न थाले । बैंकले ताकेता गर्दा विभिन्न बहाना देखाउँदै ऋण तिर्ने भाका बदल्दै गए । केही सिप नलागेपछि बैंकले तामाङको नाममा गत १४ जेठमा ३५ दिने सूचना नै सार्वजनिक गरेको छ । सूचना तामाङसहित सहकारीका वर्तमान अध्यक्ष राजकुमार लामा, विमल बस्नेत, राजु सापकोटा, श्यामबहादुर तामाङ, बाबुराम लोप्चन, बुद्धिबहादुर तामाङ, पेम्बा शेर्पा र बुद्धि तामाङको नाममा सार्वजनिक भएको छ । तर, उक्त ऋण उनीहरूले अझै चुक्ता गर्न सकेका छैनन् ।

ज्ञानबहादुर तामाङसहितको टोलीले बैंकबाट ऋण लिएको थियो । यसका लागि जग्गा धितो राखेका थिए । ऋण तिर्न आनाकानी गरेपछि हामीले सबैको नाममा ३५ दिने सूचना सार्वजनिक ग¥यौँ । तर, ऋण अझै चुक्ता हुन सकेको छैन ।

राजेश श्रेष्ठ–सूचना अधिकारी, सहकारी बैंक

 

बैंकका सूचना अधिकारी राजेश श्रेष्ठले नेसनल नमोबुद्ध सहकारीको नाममा लिइएको ऋण अझै चुक्ता नभएको बताए । उनले भने, ‘ज्ञानबहादुर तामाङसहितको टोलीले बैंकको ऋण लिएको थियो । यसका लागि जग्गा धितो राखेका थिए । ऋण तिर्न आनाकानी गरेपछि हामीले सबैको नाममा ३५ दिने सूचना सार्वजनिक ग¥यौँ । तर, ऋण अझै चुक्ता हुन सकेको छैन ।’ ऋण लिँदा सांसद ज्ञानबहादुर र बुद्धिबहादुर प्रमुख निर्णयकर्ता थिए । बाँकी भने जमानी मात्रै बसेका थिए ।

१० लाख ६५ हजार रुपैयाँ डुबाएका पीडितमध्येका बाँसबारीका चन्द्रबहादुर उदासले भने, ‘सहकारीले महँगो ब्याज दिने प्रलोभनमा हामीबाट रकम उठायो । उक्त रकमले जग्गा खरिद गरेछन् । त्यही जग्गा बैंकमा राखेर ऋण लिएछन् । उक्त ऋण कहाँ खर्च ग¥यौ भन्दा सहकारीका कुनै पदाधिकारीले देखाउन सक्दैनन् । उनीहरूले मनोमानी ढंगले खर्च गरेको भेटियो ।’ काठमाडौंमा ‘प्लम्बिङ’को काम गर्दै आएका उदासका अनुसार सहकारीमा बिहान–बेलुका साहुको घरमा भाँडा माझ्ने मजदुरसम्मले रकम जम्मा गरेका थिए । उनीसँग आबद्ध ३० जनाको मात्रै दुई करोड रुपैयाँभन्दा धेरै सहकारीले डुबाएको छ । दुई वर्षदेखि ताकेता गर्दा सांसद ज्ञानबहादुर र सहकारीका वर्तमान अध्यक्ष राजकुमारसँग पटक–पटक भेट भएको, तर बचत रकम फिर्ता नपाएको उनले बताए ।

उदासले भने, ‘हाम्रो समूहमा मात्रै ३० जना पीडित छौँ । दुई वर्षदेखि रकम फिर्ता गर्न भन्दै कार्यालय धायौँ । ज्ञानबहादुर र राजकुमारलाई पटक–पटक भेट्यौँ । तर, रकम फिर्ता पाएका छैनौँ । बिहान–बेलुका साहुको घरमा झाडुपोछा लगाउनेहरूको समेत रकम सहकारीमा छ । सबै रकम डुब्ने अवस्थामा पुग्यो ।’

सहकारीका अर्का बचतकर्ता ओवी तिवारीले आफूसहित ३९ जनाको समूहले सहकारीबाट बचत फिर्ता पाउनुपर्ने भन्दै उजुरी दिएको बताए । उनले ३८ जनाको ११ करोडभन्दा बढी बचत सहकारीले फिर्ता नदिएको दाबी गरे । सहकारी महाशाखामा उजुरी दिएपछि सहकारीले जम्मा डेढ लाख रुपैयाँ मात्रै फिर्ता दिएको उनको भनाइ छ । सहकारीका पदाधिकारीले ‘भोलि दिन्छौँ, पर्सि दिन्छौँ’ भन्दै झुलाउने गरेको उनको भनाइ छ ।

त्यस्तै, अर्को ३२ जनाको समूहले दुई करोड ३३ लाखभन्दा बढी बचत फिर्ता पाउनुपर्ने भन्दै उजुरी दिएको छ । तर, उनीहरूले पनि बचत फिर्ता पाएका छैनन् । बचतकर्ता कविता गुरुङले आफूले मात्रै १० लाख २८ हजारभन्दा बढी बचत फिर्ता पाउनुपर्ने भए पनि सहकारीले सामूहिक रूपमा साढे १० लाख फिर्ता दिँदा आफ्नो भागमा जम्मा ४५ हजार परेको बताइन् । ‘समूह बनाएर पैसा फिर्ता दिएको छ । कसैलाई पाँच हजार, कसैलाई १० हजार, कसैलाई १५–२० हजार जति पनि पर्न सक्छ । यसरी त हाम्रो पैसा कहिल्यै उठ्दैन । सहकारीका पदाधिकारीहरूले बचत अपचलन नगरेको भए यस्तो हुँदैनथ्यो,’ गुरुङले भनिन् ।

बचत फिर्ता नदिएको भन्दै नेसनल नमोबुद्ध सहकारीविरुद्ध सामूहिक र एकल गरी चार–पाँच उजुरी परेका छन् । उजुरी परेपछि सहकारीका पदाधिकारीहरू र उजुरीकर्ताहरूलाई झिकाएर छलफल गरायौँ । सहकारीले बचतकर्ताहरूको रकम फिर्ता गर्ने बताएको थियो ।

मनोज गुप्ता– कानुन अधिकृत, सहकारी रजिस्ट्रार कार्यालय

 

टोखा नगरपालिका– २, चण्डेश्वरीकी बचतकर्ता सविता श्रेष्ठले आपूmले सहकारीबाट एक रुपैयाँ पनि फिर्ता नपाएको दाबी गरिन् । उनको सहकारीमा तीन लाख ५० हजार बचत छ । त्यस्तै, उनकी आमा र दाजुभाइहरूको पनि बचत रकम छ । तर, कसैले पनि बचत फिर्ता नपाएको उनको गुनासो छ । ‘हामीले एक वर्ष अघिदेखि बचत फिर्ता मागिरहेका छौँ । तर, सहकारीले भोलि, पर्सि भन्दै टारेको टा¥यै छ,’ श्रेष्ठले भनिन् ।

त्यस्तै, काठमाडौं धापासीकी ७३ वर्षीया पेमा डोमा गुरुङको पाँच लाख बचत सहकारीले फिर्ता गरेको छैन । उनीसँगै उनका दुईजना बुहारीको २० लाख पनि सहकारीमै फसेको छ । भएजति पैसा सहकारीमा राखेको, तर साँवा–ब्याज केही पनि नपाएपछि प्यारालाइसिसले थलिएका ९३ वर्षीय श्रीमान्को उपचार गर्न नै आर्थिक संकट परेको पेमाको गुनासो छ ।

ललितपुर महानगरपालिका– ५, पुल्चोककी सकुना श्रेष्ठको २० लाख रुपैयाँ बचत सहकारीले दिएको छैन । सुरुमा ललितपुरमा रहेको दोलखा सहकारीको सदस्य रहेको र आठ–नौ वर्षअघि उक्त सहकारी नेसनल नमोबुद्धमा मर्ज भएपछि राम्रो ब्याज आउने आशामा सहकारी टाढै भए पनि नियमित बचत गर्ने गरेको उनले सुनाइन् । अहिले सहकारीले बचत फिर्ता नदिँदा समस्यामा परेको उनको गुनासो छ ।

पूर्वअध्यक्ष लामाले आफूले जिम्मेवारी छोडेपछि भएको अपचलन र बचत फिर्ताको विषयमा आफ्नो कुनै हात नरहेको दाबी गरे । ‘मैले २२औँ साधारणसभाबाटै अध्यक्ष पद छोडेको हुँ । वर्तमान अध्यक्ष राजकुमारजी हुनुहुन्छ । त्यसयता के–के भयो, मलाई सबै जानकारी हुने भएन । तर, अपचलन र बचत फिर्ता नभएको विषयमा मेरो नाम जोडिँदा भने अचम्ममा परेको छु,’ उनले भने, ‘यसमा मेरो कुनै संलग्नता छैन । सहकारीमा अपचलन भएजस्तो मलाई लाग्दैन ।’ अपचलनमा आफ्नो नाम जोडेर चर्चा भएपछि त्यसबारे बुझ्ने काम गरिरहेको पनि उनको भनाइ छ । पूर्वअध्यक्षको हैसियतले समस्या समाधानका लागि सहजीकरण गर्न आफू तयार रहेको उनले बताए ।

सहकारीका अध्यक्ष राजकुमार लामा तामाङ भने केही खराब कर्जाका कारण सहकारी समस्यामा परेको दाबी गर्छन् । ‘हाम्रो नियत खराब छैन, हामीले बचत अपचलन गरेका छैनौँ । केही खराब कर्जाका कारण समस्या भएको हो । हामी सदस्यहरूको बचत फिर्ता गर्छौँ,’ उनले भने । सहकारी अपचलनको हल्ला चलेपछि आत्तिएका बचतकर्ताहरूले सबै रकम फिर्ता माग्न थालेपछि तिर्न नसकेको उनको भनाइ छ । सहकारीका खराब ऋणीहरूबाट रकम उठाउन ताकेता गरिरहेको र केहीसँग कानुनी प्रक्रियामा समेत गएको उनको दाबी छ ।

नेसनल नमोबुद्ध सहकारी संस्था लिमिटेडको सामाखुसी कार्यालय आजभोलि आक्कलझुक्कल मात्रै खुल्छ । बचत फिर्ता माग्न आउनेहरूलाई दिने रकम नभएपछि कार्यालय नै बन्द हुने गरेको हो । तिहार र छठका कारण होला १३ देखि २३ कात्तिकसम्मका लागि भने सूचना नै टाँसेर बन्द गरिएको थियो ।

२९ पुस ०७९ मा भएको २२औँ अधिवेशनपछि सहकारीका अध्यक्ष राजकुमार लामा छन् । त्यसअघि सांसद ज्ञानबहादुर तामाङ अध्यक्ष थिए । सहकारीमा उपाध्यक्ष विमला बस्नेत, सचिव राजु सापकोटा, कोषाध्यक्ष श्यामबहादुुर तामाङ, सदस्य बाबुराम लोप्चन र बुद्धिबहादुर तामाङ छन् । त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा नरबहादुर तामाङ, सदस्यमा कुमारी आले र पृथ्वी तामाङ छन् । तर, उनीहरू कार्यालय निकै कम आउने गर्छन् ।

स्थापना भएको करिब डेढ दशकमा सहकारीले बचतकर्ताको संख्या ११ हजार पु¥यायो । उनीहरूबाट दुई अर्ब रुपैयाँभन्दा धेरै बचत संकलन भयो । तर, उक्त सबै रकम अहिले संकटमा पुगेको छ । बचतकर्तामध्येका चन्द्रबहादुर उदासले भने, ‘सहकारीमा करिब ११ हजार बचतकर्ता छन् । उनीहरूबाट दुई अर्ब रुपैयाँभन्दा धेरै रकम संकलन भएको छ । त्यो सबै रकम अहिले डुब्ने अवस्थामा पुग्यो ।’

रकम डुब्ने अवस्थामा पुगेपछि पीडितमध्येका ३२ जनाले गत १७ असोजमा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी महाशाखामा उजुरी दिएका थिए । उनीहरूले पटक–पटक सहकारीको कार्यालय र सम्बन्धित निकायहरूमा गुहार गर्दा पनि बचत फिर्ता नपाएको गुनासो गरेका छन् ।

सहकारी रजिस्ट्रार कार्यालयका कानुन अधिकृत मनोज गुप्ताले सामूहिक र एकल गरी नेसनल नमोबुद्ध सहकारीविरुद्ध उजुरी परेको बताए । उनले सहकारीको बचत रकम अपचलनविरुद्ध सहकारीको नाममा चार–पाँच उजुरी परेको बताए ।

रविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारी प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको यो तेस्रोपटक हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम गोर्खा मिडिया नेकवर्कमा लगि अपचलन गरिएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीसँगै नेपाल प्रहरीका पूर्वडिआइजी छविराज जोशी, कुमार रम्तेल, गीतेन्द्रबाबु(जिबी) राई, देवेन्द्रबाबु राई, इरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रविना रिमाल, भूपेन्द्र राई, नवीन अछामीसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको छ । परिसरकै पत्रपछि सहकारीसँग जोडिएका २२ विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

के भन्छन् पूर्वअध्यक्ष तामाङ र वर्तमान अध्यक्ष लामा ?
सहकारीमा ज्ञानबहादुर तामाङ अध्यक्ष र राजकुमार लामा सचिव हुँदा महँगो ब्याजको प्रलोभन देखाएर सर्वसाधारणबाट बचत संकलन गरे । त्यो पैसा विभिन्न ठाउँमा जग्गामा समेत लगानी गरे । जग्गा धितो राखेर बैंकबाट ऋण झिके, त्यसको पनि मनपरी परिचालन गरे । तामाङ सांसद बनेपछि साधारणसभा गरेर अध्यक्ष छाडे र लामा अध्यक्ष बने । सहकारीका पूर्वअध्यक्ष तामाङ र अहिलेका अध्यक्ष लामासहितका पदाधिकारी मिलेर आपूmहरूको रकम अपचलन गरिएको बचतकर्ताहरूको भनाइ छ । तर, तामाङले भने आफूले जिम्मेवारी छोडेपछि भएको अपचलन र बचत फिर्ताको विषयमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे । ‘मैले अध्यक्ष छाडेपछि के–के भयो, मलाई सबै जानकारी हुने भएन,’ उनले भने, ‘यसमा मेरो कुनै संलग्नता छैन । सहकारीमा अपचलन भएजस्तो मलाई लाग्दैन ।’ पूर्वअध्यक्षको हैसियतले समस्या समाधानका लागि सहजीकरण गर्न आफू तयार रहेको उनले बताए । अहिलेका अध्यक्ष लामाले केही खराब कर्जाका कारण सहकारी समस्यामा परेको बताए । ‘हाम्रो नियत खराब छैन, अपचलन गरेका छैनौँ । केही खराब कर्जाका कारण समस्या भएको हो । हामी सदस्यहरूको बचत फिर्ता गर्छौँ,’ उनले भने । 

ठगिएका पीडितको बिलौना– आकर्षक ब्याजको लोभ देखाएर रकम उठाए, अहिले बिल्लीबाठ बनाए
धापासीकी ७३ वर्षीया पेमा गुरुङले सहकारीमा पैसा फसेपछि प्यारालाइसिसबाट थलिएका ९३ वर्षीय श्रीमान्को उपचारसमेत गर्न पाइनन् 

मैले मात्रै सहकारीमा पाँच लाख बचत गरेकी हुँ । दुईजना बुहारीको २० लाख पनि यही सहकारीमै फसेको छ । धेरै ब्याज आउँछ भनेर भएजति पैसा सहकारीमा राख्यौँ । तर, साँवा–ब्याज केही पनि पाएका छैनौँ । ९३ वर्षीय श्रीमान् प्यारालाइसिसले थलिनुभएको छ, आर्थिक संकटका कारण उपचार गर्न समस्या भइरहेको छ ।

१० लाख ६५ हजार डुबाएका बाँसबारीका चन्द्रबहादुर उदास
सहकारीले महँगो ब्याज दिने प्रलोभनमा हामीबाट रकम उठायो । उक्त रकमले जग्गा खरिद गरेछन् । त्यही जग्गा बैंकमा राखेर ऋण लिएछन् । उक्त ऋण कहाँ खर्च ग¥यौ भन्दा सहकारीका कुनै पदाधिकारीले देखाउन सक्दैनन् । हाम्रो समूहमा मात्रै ३० जना पीडित छौँ । दुई वर्षदेखि रकम फिर्ता गर्न भन्दै कार्यालय धायौँ । ज्ञानबहादुर र राजकुमारलाई पटक–पटक भेट्यौँ । तर, रकम फिर्ता पाएका छैनौँ । बिहान–बेलुका साहुको घरमा झाडुपोछा लगाउनेहरूको समेत रकम सहकारीमा छ । सबै रकम डुब्ने अवस्थामा पुग्यो ।

१० लाख २८ हजार फसाएकी कविता गुरुङ
मसहित ३२ जनाको समूहले दुई करोड ३३ लाखभन्दा बढी बचत फिर्ता पाउनुपर्ने भन्दै उजुरी दियौँ । मेरो मात्रै १० लाख २८ हजारभन्दा धेरै फसेको छ । एकपटक सहकारीले सामूहिक रूपमै साढे १० लाख फिर्ता दिँदा मेरो भागमा ४५ हजार मात्र प¥यो । कसैलाई पाँच हजार, कसैलाई १० हजार, कसैलाई १५–२० हजार मात्रै पनि परेको छ । यसरी त त्यत्रो पैसा कसरी उठ्छ ? सहकारीका पदाधिकारीहरूले अपचलन नगरेको भए यस्तो हुँदैनथ्यो ।

पैसा फिर्ताभन्दा पनि जग्गा लिन दबाब
बचतकर्ताहरूले आफूहरूलाई सहकारीले बचत फिर्ता दिनेभन्दा पनि जग्गा लिन दबाब दिने गरेको गुनासो गरेका छन् । सहकारीका पदाधिकारीहरूले भक्तपुर, धुलिखेलतिरका जग्गा चर्को मूल्य तोकेर लिन दबाब दिने गरेको उनीहरूको भनाइ छ । सहकारीका सदस्य ओवी तिवारीले पैसा फिर्ता माग्दा सहकारीका जिम्मेवार व्यक्तिहरूले जग्गा लिनुस् भन्ने गरेको बताए । त्यस्तै, ललितपुरकी सकुना श्रेष्ठले पनि सहकारी पदाधिकारीले नै भक्तपुर र धुलिखेलको जग्गा देखाउँदै पैसा थपेर लिन भनेको बताइन् । ‘सहकारी पदाधिकारीले नै पैसाको सट्टा जग्गा लिनुस् भनेर भक्तपुर र धुलिखेलतिर देखाए, तर मूल्य धेरै राखे । आर्थिक संकट परेको वेलामा कहाँबाट थप पैसा हालेर जग्गा किन्नु,’ उनले भनिन् ।