मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
२o८१ मङ्सिर ९ आइतबार ११:१९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछानेलाई पाँचौँपटक म्याद थपका लागि अदालत लगियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार ११:१९:oo

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगै अन्य पाँच सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पाँचौँपटक म्याद थपका लागि आज आइतबार कास्की जिल्ला अदालत लगिएको छ।

२ कात्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याइएका लामिछानेलाई त्यसपछि ४ गते पहिलोपटक ६ दिन, दोस्रोपटक ८ कात्तिकमा सात दिन, तेस्रोपटक २० कात्तिकमा १० दिन र चौथोपटक २५ कात्तिकमा १३ दिन म्याद थप भएको थियो। अन्तिमपटक थपिएको म्याद सकिएसँगै प्रहरीले म्याद थपका लागि लामिछानेलाई पुनः अदालत लगेको हो।

लामिछानेसँगै प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी र अन्य दुईजनालाई समेत म्याद थपका लागि आजै अदालतमा पेस गर्दै छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरीले हिरासतमा रहेका लामिछानेलाई पाँचौँ र जोशीलाई सातौँपटक म्याद थपका लागि अदालत लगेको हो।

जोशीलाई प्रहरीले ६ असोजमा काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो। जोशीलाई यसअघि पहिलोपटक पाँच, दोस्रोपटक सात, तेस्रोपटक २०, चौथोपटक सात, पाँचौँपटक १० दिन र त्यसपछि १३ दिन म्याद थप गरिएको थियो।

लामिछाने र जोशीसँगै प्रहरीले गुल्मी जिल्ला मुसिकोट नगरपालिका– ४ घर भई हाल ललितपुर महानगरपालिका– १५ खुमलटार बस्ने वर्ष ३२ की लीला पछाईसँगै नेचर हर्ब्स इन्टरनेसनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं सेयरधनी तनहुँस्थित भानु नगरपालिका– ८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई म्याद थपका लागि अदालत लैजान लागेको हो।

पछाईलाई १५ असोजमा प्रहरीले पक्राउ गरेको थियो। सहकारीबाट गैरकानुनी रूपमा गितेन्द्रबाबु राई (जिबी)सँग मिलेमतो गरी तीन करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा लगी चल–अचल सम्पत्ति खरिद गर्ने र सेयर कारोबारमा लगानी गरेको भेटिएपछि प्रहरीले पछाईलाई पक्राउ गरेको थियो। खनाललाई प्रहरीले ९ कात्तिकमा काठमाडौं महानगरपालिका– ३ पानीपोखरीबाट पक्राउ गरेको थियो।

लामिछानेलाई काठमाडौं लैजाने तयारी
म्याद थपका लागि आइतबार अदालत पेस गरिएका लामिछानेको म्याद थप भए काठमाडौं लैजाने प्रहरीको तयारी छ। काठमाडाैंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगी ठगी गरेको प्रकरणको बयान र अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई उतै लैजाने तयारी गरेको हो।

यसअघि २ मंसिरमा सो सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोही सहकारी ठगीसँग जोडिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी जोशीलाई काठमाडौं लगेर बयान लिएर पोखरा ल्याइसकिएको छ।