मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ मङ्सिर ९ आइतबार o७:४८:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं– १६ को उपनिर्वाचन : सबै दलका लागि ‘मिनी जनमतसंग्रह’

Read Time : > 3 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार o७:४८:oo

काठमाडौं महागरपालिका– १६ को वडाध्यक्ष पदको उपनिर्वाचनमा दल र स्वतन्त्र गरी १८ जना चुनावी प्रतिस्पर्धामा छन् । झन्डै एउटा नगरपालिकाजत्तिकै जनसंख्या र मतदाता रहेको वडा नम्बर १६ को उपनिर्वाचनलाई सहरी क्षेत्रको जनमत बुझ्ने ‘मिनी जनमतसंग्रह’को रूपमा लिइएको छ । त्यसैले सबै दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् ।

यतिवेला कांग्रेस, एमाले, रास्वपा, एकीकृत समाजवादीलगायतका दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त छन् । काठमाडौं महानगरपालिकाको भूगोल, जनसंख्या र मतदाताको आधारमा ठुलो वडा नम्बर १६ नै हो । यो वडामा गत निर्वाचनमा २० हजार सात सय हाराहारीमा मतदाता थिए । उपनिर्वाचनमा २१ हजार २६ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

भित्री र बाहिरी सहर, पुरानो नेवार बस्ती र बाहिरबाट बसाइँसराइ गरेर आएका मतदाताको मिश्रण यो वडामा छ । यो वडामा बालाजु, माछापोखरी, वनस्थली, म्हैपी, सोह्रखुट्टे, पकनाजोल, नयाँबजारलगायतका क्षेत्र पर्छन् । वडामा १० वटा बुथ छन् । जसमा बालाजु तरुण स्कुल, माछापोखरी, बोहोराटार शितला, वनस्थली, ब्याट्री कारखाना भाटभटेनीअगाडि, म्हैपी, लेखनाथ सदन सोह्रखुट्टे, सरस्वती कलेज, पुरानो वडा कार्यालय ब्यास र नेपाल युवक पकनाजोल छन् । काठमाडौं महानगरपालिकाको १५, १७, २६ र २७ वडा, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिका वडा १६ सँग सीमा जोडिएको छ ।

गत निर्वाचनमा वडाध्यक्षमा कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका थिए । वडाका चारवटै सदस्यमा एमाले उम्मेदवार विजयी भएका थिए । लगातार दुईपटक वडाध्यक्ष जितेका रिजालको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । गत निर्वाचनमा वडामा कुल १२ हजार ३०८ मत खसेको थियो । वडा काठमाडौं– १६ संघीय निर्वाचन क्षेत्र ७ र प्रदेश निर्वाचन क्षेत्र ७ (१)मा पर्छ । गत ०७९ को संघीय निर्वाचनमा रास्वपाका गणेश पराजुली र प्रदेशमा एकीकृत समाजवादीका वसन्त मानन्धर निर्वाचित भएका थिए ।

गत स्थानीय तह निर्वाचनलाई हेर्दा यो क्षेत्रमा कांग्रेस पहिलो, एमाले दोस्रो र एकीकृत समाजवादी तेस्रो शक्ति हुन् । कांग्रेस र एमालेका उम्मेदवारले स्वाभाविक रूपमा ठुला दुई दलबिच नै मुख्य प्रतिस्पर्धा रहेको बताएका छन् । एकीकृत समाजवादी र रास्वपाका उम्मेदवारले ठुला दलप्रति जनतामा निराशा रहेकाले आफ्नो जित निश्चित रहेको दाबी गरेका छन् । कांग्रेसबाट देवेन्द्र पाठक, एमालेबाट लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीबाट मीनबहादुर मानन्धर, रास्वपाबाट रोजिना श्रेष्ठ उम्मेदवार छन् । गत निर्वाचनमा कांग्रेसका रिजालले चार हजार १९, एमालेका तुलाधरले तीन हजार ३१०, एकीकृत समाजवादीका लक्ष्मण गमालले एक हजार ५८९, राप्रपाका बिन्दिका गुरुङले ५५७ मत ल्याएका थिए ।

विरासत जोगाउने प्रयासमा पाठक
कांग्रेसका स्व. मुकुन्द रिजालले लगातार दुईपटक निर्वाचन जितेको यो वडामा विरासत जोगाउने प्रयासमा कांग्रेसका देवेन्द्र पाठक लागेका छन् । कांग्रेसको वडा सभापतिसमेत रहेका पाठक अघिल्ला दुई निर्वाचनमा रिजालको चुनावी कमान्डरको रूपमा खटिएका थिए । रिजालको निधन भएपछि कांग्रेसले उनै पाठकलाई चुनावी मैदानमा अघि सारेको छ । ‘दुःखद परिस्थितिमा स्व. मुकुन्द रिजालको सपना पूरा गर्न निर्वाचनमा होमिएका छौँ । बाँकी अवधिका लागि उपनिर्वाचन हुने भएकाले सुशासन र भ्रष्टाचारको विषय नै हामीले मुख्य एजेन्डा बनाएका छौँ । वडालाई भ्रष्टाचारमुक्त गराउने, जनतालाई सुशासन दिने नै मेरो मुख्य एजेन्डा हो,’ पाठकले भने, ‘पुरानो नेवार बस्ती र बाहिरबाट बसाइँसराइ गरेर आएका मतदातामा हाम्रो राम्रो पकड भएकाले जित्छौँ भन्ने आकलन छ ।’ उनले पदमा नरहँदा पनि जनताको सेवामा समर्पित भएको बताए । ‘पदमा नरहँदा पनि मैले निरन्तर जनताको बिचमा काम गर्दै आएको छु । म चुनाव जिते पनि, हारे पनि जनतामाझ नै रहने हो । जनताको सुख, दुःखमा साथमा रहन्छु भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने । वडामा कांग्रेसभित्र कुनै विवाद नभएको र सबै एकजुट भएर चुनावी प्रचारमा खटिएको उनले दाबी गरे ।

बदला लिने रणनीतिमा तुलाधर
गत स्थानीय निर्वाचनमा चारवटै वडा सदस्य एमाले उम्मेदवारले जिते पनि वडाध्यक्षमा पराजित हुन पुग्यो । गत निर्वाचनमा वडाध्यक्षमा पराजित लक्ष्मीरत्न तुलाधरलाई नै एमालेले उपनिर्वाचनमा मैदानमा उतारेको छ । यसपटक भने निर्वाचन जित्ने दाबी उनको छ । ‘स्थानीय सरकार भनेको जनताको घरआँगनको सरकार हो । स्थानीय बासिन्दाको आवश्यकता के छ ? चाहना के हो ? वडामा भित्री सहर र बाहिरी सहर भएकाले दुवैलाई व्यवस्थित गरेर एउटालाई अर्कोसँग लिंक गर्ने काम गर्नेछु । विकास, निर्माणको कामलाई जनताको आवश्यकताका आधारमा अगाडि बढाउनेछु,’ उनले भने, ‘गत निर्वाचनमा पराजित भएपछि पनि निरन्तर जनताको घरआँगनमा गएर काम गरेको छु । सामाजिक काममा कुनै कमी पारेको छैन ।’ गत निर्वाचनअघि पार्टी विभाजनको असरका कारण पराजित भएको उनले बताए । ‘हिजो लागेको चोटबाट हामी अहिले उठिसकेका छौँ । त्यो घाउलाई निको पारेर हामी नयाँ काममा लागेका छौँ । जनता हिजो पनि हामीसँग थिए, आज पनि छन्, भोलि पनि हामीसँगै रहन्छन् । यो चुनाव हामी जित्दै छौँ,’ उनले भने ।

‘मिसन ८४’ को पूर्वतयारीमा श्रेष्ठ 
स्थानीय तह उपनिर्वाचनलाई रास्वपाले ‘मिसन ८४’ को पूर्वतयारीको रूपमा लिएको छ । गत स्थानीय तह निर्वाचनमा रास्वपा गठन नै भएको थिएन । ‘स्थानीय तहमा सुशासनको घण्टी बजाएर इन्ट्री’ नाराको साथ रास्वपा घरदैलो अभियानमा छ । रास्वपाले भ्रष्टाचार नियन्त्रण र पारदर्शितालाई मुख्य एजेन्डा बनाएको छ । ‘राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, प्रशासनिक तथा कानुनी आयामहरूमा वडामा हुने सबै किसिमका भ्रष्टाचार अन्त्यका लागि नागरिकको निगरानीको सहयोगसहित विधिको शासनको अनुभूति गराउनेछु,’ रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले भनिन्, ‘महानगरले तय गरेका प्रमुख कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गराउँदै सफा, सुन्दर र सुरक्षित हरियाली सहर बनाउर आमवडावासीलाई सरल र सुलभ सेवा प्रवाह गर्दै विधिको शासनको प्रत्यक्ष अनुभूति गराउने प्रतिबद्धता व्यक्त गर्दछु ।’ स्थानीय अर्थतन्त्रको सुदृढीकरण र रोजगारीको अवसर, विपत् व्यवस्थापनमा आपत्कालीन सहायता केन्द्र स्थापना तथा तालिम, सामाजिक न्याय र सुरक्षा, सबैका लागि गुणस्तरीय र पहुँचयोग्य शिक्षा र स्वास्थ्यको प्रतिबद्धता उनले जनाएकी छिन् । पुराना दलहरूप्रति जनता निराश भएकाले आफूलाई रोज्ने श्रेष्ठको दाबी छ । रास्वपाले संघको निर्वाचन जितेकाले वडाध्यक्षमा पनि मतदाताको रोजाइमा पर्ने उनको विश्वास छ ।

निराशा ‘क्यास’ गर्ने दाउमा मानन्धर
गत निर्वाचनमा वडामा तेस्रो भएको एकीकृत समाजवादी ठुला दलप्रतिको जनताको वितृष्णालाई ‘क्यास’ गर्ने दाउमा छ । एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरले भ्रष्टाचार निर्मूल पार्ने र विकास निर्माण कामलाई तीव्रता दिने मुख्य एजेन्डा अगाडि सारेका छन् । एकीकृत समाजवादी र माओवादीका नेताहरूले संयुक्त रूपमा घरदैलो अभियान गरेका छन् । ‘ठूला पार्टी र ती पार्टीका नेताको रबैयाका कारण जनतामा उत्साह देखिएन । राजनीतिमा देखिएको निराशा चिर्न चुनावी मैदानमा उत्रिएको छु । भ्रष्टाचार निर्मूल पार्ने र विकास निर्माणको कामलाई तीव्रता दिने मुख्य एजेन्डा छ । वडाको खानेपानी, ढल, सडकबत्तीको व्यवस्थापनमा काम गर्नेछु,’ उनले भने, ‘वडामा समाजसेवी भएर खटिएको ३०औँ वर्षको अनुभव छ । कुन ठाउँमा के समस्या छ भन्ने राम्रो ज्ञान भएकाले कहाँ कसरी विकास गर्नुपर्छ भन्ने स्पष्ट योजना छ । वडाध्यक्ष सबैको साझा हो । सबैलाई मिलाएर वडाको विकास गर्न जनताले मलाई रोज्नुहुन्छ भन्ने विश्वास छ ।’ गत निर्वाचनमा प्रदेशमा पार्टीले जितेको, आफ्नो व्यक्तिगत प्रभाव बलियो भएको र माओवादीको समेत समर्थनले आफ्नो जित्ने आधार बलियो भएको उनले दाबी गरे । अघिल्लो निर्वाचनभन्दा यसपटक संगठन बलियो भएकाले आफ्नो जितको आधार बन्दै गएको मानन्धरको भनाइ छ ।